close

चक्लाबन्दी खेतीमा त्रियुगा (भिडियो खबर)

चक्लाबन्दी खेतीमा त्रियुगा (भिडियो खबर)

ADVERTISEMENT

उदयपुर- नेपालका केही ठाँउहरुमा कृषि आधुनिकीकरण देखिन थालेको भएपनि उपकरणहरूको पूर्ण क्षमता अनुसार प्रयोग हुन पाएको छैन । यसको प्रमुख कारणका रुपमा भूमि विखण्डनलाई लिन सकिन्छ । त्यसैले लागत अनुसारको उत्पादन नहुने, किसानहरूको सामाजिक र आर्थिक अवस्था नउकासिने जस्ता प्रमुख समस्याहरु देखिएका छन् । यस्ता धेरै समस्या समाधानको उपाय भनेकै चक्लाबन्दी खेती प्रणाली हो ।

 

योजनाबद्ध रुपमा विखण्डित जग्गालाई पुनः समायोजन र पुनर्स्थापन गर्ने प्रक्रियालाई चक्लाबन्दी प्रणाली भनिन्छ । जमिनलाई चक्लाबन्दी गरिएपछि खेती गर्ने प्रणालीलाई नै चक्लाबन्दी खेती प्रणाली भनिन्छ । त्यही प्रणाली अपनाएर कृषि उत्पादनको लागत घटाउने गरी उदयपुरको त्रियुगा नगरपालिकाले चक्लाबन्दी खेती सुरु गरेको छ ।

 

कृषिप्रधान देश भएर पनि स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेर विदेशबाट कृषिजन्य वस्तु आयात भैरहेको अवस्थामा यहाँ सहकारीमार्फत जग्गा चक्लाबन्दी गरेर सामूहिक रुपमा खेती सुरु गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिकामा सहारा कृषि सहकारी संस्थाले चक्लाबन्दी खेती गरिरहेको छ । त्रियुगाले खानी, कृषि, पशु र वन, उद्योग व्यापार, पर्यटन त्रियुगाको धन र कृषिलाई समृद्धिको आधार बनाएको छ ।  

 

सहकारीले चक्लाबन्दी खेतीका लागि ३ सय ५ घरपरिवारको सहकारी गठन गरी १ सय ६० बिघामा चक्लाबन्दी गरेको छ । चक्लाबन्दी खेतीको २५ वर्षे योजना बनेको छ । परम्परागत निर्वाहमुखी कृषि छाडेर व्यावसायिक कृषि प्रणालीद्वारा चक्लाबन्दी खेती थालिएको हो । चक्लाबन्दी खेतीले उत्पादन लागत घटाउने र उब्जनी वृद्धि हुने भएकाले यसमा जोड दिइएको नगरपालिकाले जनाएको छ । 
 

१५ असारमा उदयपुरमा १२ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । उदयपुरमा बर्खे धान १३ हजार ३८० हेक्टरमा लगाइन्छ । त्रियुगाले बेहडवामा गत वर्षदेखि चक्लाबन्दी खेती अगाडि बढाएको छ । मेसिन तथा आधुनिक प्रविधिले थोरै समय धेरै क्षेत्रमा खेती गरी आम्दानी लिन सकिने अवस्था आएको किसानको भनाइ छ । चक्लाबन्दी खेती वडा नम्बर १३ मा हुँदै आएको छ । 
 


चक्लाबन्दी एक उदाहरणीय एवम् अनुकरणीय व्यवस्था हो । पुस्ता बढ्दै जाँदा टुक्रिएर साना साना बन्दै गएका जमिनलाई एकिकृत पार्दै सहज खेती प्रणालीको विकास गर्नु यसको मुलभूत उद्देश्य हो । चक्लाबन्दी खेती प्रणाली अनुरुप सर्वप्रथम त एउटा निश्चित क्षेत्रलाई  रेखाङ्कन गरिन्छ । त्यस क्षेत्रमा रहेका किसानबाट सबै टुक्रे जमिनलाई लिइन्छ र एक ढिक्का बनाइन्छ । यसरी सुरु गरिएको खेतीप्रति उदयपुरका किसान पनि उत्साहित देखिएका छन् ।