close

स्वामीकार्तिकमा रोपाइँ नहुँदा खेतमै फुल्न थाले धानका बेर्ना

स्वामीकार्तिकमा रोपाइँ नहुँदा खेतमै फुल्न थाले धानका बेर्ना

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुरेली किसानलाई यतिबेला धान गोडमेल गर्ने चटारो छ । गत असार, साउनमा रोपेको धान यतिबेला गोडमेल गर्ने समय भए पनि स्वामीकार्तिकमा भने यस वर्ष रोपाइँ नै हुन सकिरहेको छैन ।

 

देशैभरिका किसानलाई गोडमेलको चटारो भए पनि स्वामीकार्तिकका किसानको भने धानको बेर्ना खेतमै फुल्न र फल्न थालेका छन् । सिँचाइ अभावका कारण समयमा रोपाइँ नहुदा किसानलाई खाद्य संकटको चिन्ता छ ।

 

स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मा हालसम्म पनि रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका हुन् । वर्षाका कारण भत्किएको नहर सञ्चालनमा आउन नसक्दा यस वर्ष रोपाइँ हुन सकिरहेको छैन ।

 

वडा नम्बर १ रुडीका स्थानिय हर्क बम असारमा रोपिसक्ने गरी तयार भएको धानको बेर्ना त्यत्तिकै खेर गएको बताउँछन् । लगातारको वर्षाका कारण भत्किएको रुडी छहडो सिँचाइ कुलो मर्मत हुन नसकेपछि रुडीमा यो वर्ष रोपाइँ नभएको उनको भनाइ छ ।

 

रोपाइँ नहुँदा धानको बेर्ना खेतमै फुल्न र फल्न थालेपछि किसानलाई खाद्य संकटको चिन्ता थपिएको उनले सुनाए । वडा नम्बर १ मा मात्रै करिब १ सय ५६ बढी परिवारको बसोबास छ । तीमध्ये कसैले थोरै रोपाइँ गरे पनि अधिकांशले धान रोप्न पाएका छैनन् ।

 

बाजुरामा धान गोडमेल गर्ने समय भइसक्दासम्म रोपाइँ नहुँदा धानको बेर्ना खेतमै फुल्न र फल्न थालेको छ । सिँचाइ अभावका कारण रोपाइँ गर्न नपाएर जमिन बाँझै भएको स्थानीय नैन कार्कीले बताए । विगत वर्षमा असार, साउनमा धान रोपिने गरे पनि यो वर्ष सिँचाइ आभवका कारण समयमा रोपाइँ नभएको कार्की बताउँछन् ।

 

 
रोपाइँ नभएको खेतमा भागा, बेथु, सिस्नुलगायतले खेतै भरिन थालेको छ । १२ महिना काम गरी ६ महिना खान नपुग्ने बाजुरामा यो वर्ष ३ महिना पनि कटाउन मुस्किल हुने कार्कीले सुनाए । ‘जहान परिवार लिएर भारततिर जाऊँ भने पनि कोरोना कहरमा आउजाउ गर्न मिल्दैन,’ उनले भने ।

 

स्वामीकार्तिकमा धानलाई मुख्य बालीका रूपमा लिइने गरेको छ । ‘हिउँदमा पानी नपर्दा गहुँ बाली पनि राम्रो भएन । अहिले पानी पर्दा कुलो पहिरोले बगायो । रोपाइँ गर्न पाइएन’, अर्का स्थानीय शिक्षक जयबहादुर बमले भने, ‘उनले भने, अब काला पहाड जानुबाहेक अन्य कुनै विकल्प छैन ।’

 

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यो वर्ष जिल्लामा ९८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । विगतका वर्षमा ९० प्रतिशत धान रोपाइँ भएको थियो भने यो वर्ष ९८ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख गोविन्द सिजापतिले बताए । 

 

गत वर्षभन्दा ८ प्रतिशतले धान रोपाइँ बढेको उनले जानकारी दिए । बाजुरामा बर्सेनि ७ हजार २ सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा सिँचाइबाट धान रोपाइँ हुन्छ भने बाँकीमा अकासे पानीको भरमा रोपाइँ हुँदै आएको उनले जानकारी दिए ।