close

बेमौसमी वर्षाले ३ वटा प्रदेशमा मात्रै ७ अर्ब बढीको क्षति

किसानलाई राहत घोषणा अझै भएन

बेमौसमी वर्षाले ३ वटा प्रदेशमा मात्रै ७ अर्ब बढीको क्षति

किसानलाई राहत घोषणा अझै भएन

Trulli
ADVERTISEMENT

काठमाडौं– गत आइतबारदेखिको अविरल वर्षाका कारण देशैभर ठूलो जनधनको क्षति भएको छ । वर्षाले किसानको धानबालीमा ठूलो असर गरेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश १, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा मात्रै धानबालीमा ७ अर्ब २२ करोड रुपैयाँको क्षति पुगेको छ । 


मन्त्रालयका अनुसार २ लाख ५८ हजार ९२ मेट्रिक टन धान क्षति भएको हो । पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रुकुम पूर्व, प्यूठान रोल्पा, झापा, मोरङ र सुनसरीमा बढी क्षति भएको मन्त्रालयले जनाएको छ । 


वर्षभरलाई पुग्ने अन्नबालीमा बेमौसमी बर्षाले क्षति पुग्दा किसान स्तब्ध छन् । किसानले थन्क्याउन लागेको खेतका धानमा पानी भरिएका छन् । धानकाटेर सुकाएको खेतमा धान उम्रिएको अवस्था छ । 


यतिबेला किसान राहतका लागि रकारको मुख हेरेर बस्न बाध्य भएका छन् । तर, तीनै तहका सरकारबाट किसानलाई राहत दिने घोषण भएको छैन । सरकारले राहत नदिए पुनः अर्को बाली लगाउन नसक्ने अवस्था रहेको गुनासो किसानको छ । झापाकी किसान बिन्दा बराल भन्छिन्, ‘हाम्रो मुख्य आम्दानी नै धानबाली हो । वर्षाका कारण खेतमै धान नष्ट भएको छ । अब के गर्ने भन्ने अन्योलमा छौँ । सरकारले राहत नदिएसम्म बाँच्न सक्ने अवस्थामा छैनौँ ।’


क्षति भएको यत्तिका दिन बित्दासम्म सरकारले किसानलाई राहत दिनेबारे केही निर्णय गरेको छैन । संघीय सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकालाई राहत घोषण गरे पनि किसानका लागि निर्णय भएको छैन । 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढीपहिरोले गरेको क्षतिको स्थलगत अवलोकन भने गरिसकेका छन् । अवलोकनपछि पनि उनले किसानलाई राहतबारे घोषणा गरेका छैनन् । 


प्रदेश सरकारले पनि किसानलाई क्षतिपूर्तिबारे कुनै निर्णय गरेका छैनन् । धेरैजसो पालिकाले आफ्नो बजेट नभएको भन्दै क्षतिपूर्तिबारे नसोचिएको बताएका छन् । 
बर्दिबास नगरपालिकाले पनि अहिले सबै तथ्यांक आइनसकेकाले किसानलाई राहत दिनेबारे निर्णय नगरेको नगरप्रमुख विदुरकुमार कार्कीले बताए । सबै विवरण आएपछि निर्णय गरिने उनको भनाइ छ । 

 

कतिपय पालिकाले राहत कोषबाटै भए पनि किसानलाई आफूसँग  उपब्ध स्रोतको प्रयोग गरी राहत दिने तयारी गरेका छन् । संघीय सरकारको कृषि मन्त्रालय किसानलाई कसरी राहत दिने भन्नेबारे मौन देखिएको छ ।


मन्त्रालयले अहिले सम्म किसानका लागि क्षतिपूर्ति दिनेबारे योजना बनाएको छैन । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले अहिले क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए ।

 

उनका अनुसार क्षतिको पूरा विवरण आइसकेपछि मन्त्रालयले किसानलाई कसरी राहत दिने भनेर योजना बनाउनेछ । ‘मन्त्रालय अहिले क्षतिको विवरण संकलन गरिरहेको छ,’ उनले भने, ‘प्रदेशहरूबाट क्षति भएको विवरण आइरहेको छ । मन्त्रालयको टोलीले विवरण संकलन गरिरहेको छ । सबै विवरण आइसकेपछि हामी निर्णय गर्छौं ।’


अहिले प्रदेश २ बाहेकको प्रारम्भिक विवरण आइसकेको उनले बताए । किसानलाई क्षतिपूर्तिका लागि भने प्रदेशका कृषि मन्त्रालयसँग छलफल गरेर अगाडि बढ्ने प्रवक्ता सञ्जेलको भनाइ छ । ‘प्रदेशले क्षतिपूर्तिका लागि योजना बनाइरहेका छन्,’ उनले भने, ‘थोरै क्षति भएका पालिकाले आफंै दिइरहेको बुझिएको छ । प्रदेशका मन्त्रालयसँग छलफल गरेर निर्णय गर्छौं ।’

 

वर्षाले अघिल्ला वर्षमा त्यति ठूलो क्षति नभएकाले पालिकाले दिइरहेको उनले बताए । तर, यो वर्ष भने मन्त्रालयको बजेटले समेट नभ्याउने हुनाले अर्थ मन्त्रालयसँग माग गर्ने वा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भन्ने निर्णय गर्न केही समय लाग्ने उनको भनाइ छ ।

 

‘प्रारम्भिक विवरणमा अलि बढी नै छ,’ उनले भने, ‘वास्तविक विवरण आएपछि राहतका लागि अर्थ मन्त्रालयमा माग गर्ने वा मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गर्छौं ।’