close

मुख्यमन्त्री रोजगारको रकम नपाएपछि नगरपालिका घेराउ

मुख्यमन्त्री रोजगारको रकम नपाएपछि नगरपालिका घेराउ

Trulli
ADVERTISEMENT

दैलेख– दैलेखमा मुख्यमन्त्री रोजगारको रकम एक वर्षसम्म नपाएपछि चामुण्डा बिन्द्रासैनीका युवाहरूले नगरपालिका घेराउ गरेका छन् ।


 
मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनीका सबै वडामा गत वर्ष काम गरेको रकम नपाएपछि नगरका युवाले माग गर्दै नगरपालिका कार्यालय घेराउ गरेका हुन् ।

 

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पालिकामा पहिलो चरणमा आएको ६४ लाख रुपैयाँको योजना निर्माण सकिएको र सोहीअनुसार भुक्तानी भइसकेको थियो ।

 

असार पहिलो साता प्राप्त ३२ लाख रुपैयाँ ९ वटै वडामा वितरण गरी धमाधम योजना निर्माण सम्पन्न भएको थियो । योजना सम्पन्न भएपछि कागजात पेस गरे पनि कार्यालयले भुक्तानीमा ढिलाइ गरेको स्थानीय युवाको गुनासो छ ।


 नगरका सबै वडाध्यक्षहरूको साथ

 

मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम छिटो भुक्तानीको मागसहित नगरपालिका घेराउ गरेका स्थानीय युवाहरूलाई वडाध्यक्षहरूले समेत साथ दिएका छन् । भुक्तानीका लागि नगरपालिकामा पठाइए पनि कार्यालयले ढिलाइ गरेपछि समस्या भएको वडाध्यक्षहरूले बताए ।


‘धेरैजसो कोभिड–१९ को समस्यामा परेका युवाहरूले काम गरे तर अहिलेसम्म रकम पाएनन् । यसबारे वडाध्यक्ष र कार्यपालिकामा समेत छलफल गरेर निकास निकाल्ने तयारी छ’, वडाअध्यक्षहरू भन्छन् ।


पहिला ताकेता गरेर खाता खोलिए पनि ६ महिनासम्म पैसा नआएको नगरपालिकाको वडा नम्बर ५ का सविन कार्की बताउँछन् । उनले भने, ‘रकम भुक्तानी गरिने भन्दै सबैको खाता खोल्न लगाइयो । तर, खाता खोलेको ६ महिनासम्म पैसा आएन’, उनले भने ।

 
कोरोनाले विदेशको रोजगारी खोसिएर आफूलगायत वडा नम्बर ५ का ४० भन्दा बढी युवा भारतलगायत तेस्रो मुलुकबाट आएको उनले सुनाए ।


‘सुरुमा सरकारले राम्रो काम सुरु ग¥यो भन्दै खुसी भयौँ । विद्यालय र सडकको वाल निर्माणमा खटियौँ तर काम गरेको पैसा पाइएन’, बस्नेतले गुनासो गरे ।


आपूmहरूले काम गरेको रकम स्थानीय तह वा प्रदेश सरकार, जसले भए पनि दिनुपर्ने युवाहरूको माग छ । ‘केही साता कुर्छौं । रकम नपाए चरणबद्ध आन्दोलन गर्छौं’, अर्का युवा अर्जुन कार्कीले भने ।


काम गरेको रकम नबाँडेपछि फ्रिज


प्राविधिक समस्याका कारण रकम फ्रिज भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले बताए ।


‘वडाअध्यक्षहरूमार्फत भुक्तानीका लागि पालिकामा सबै डकुमेन्ट आएका छन् । काम पनि भएको हो तर तत्कालीन समय अनलाइन सिस्टमबाट काम गर्नुपर्ने भएपछि केही प्राविधिक समस्या आएको हो’, विकले भने ।

 

यस विषयमा प्रदेश सरकारमा पनि नगरप्रमुखलगायत कार्यपालिकाले निर्णय गरेर पठाइसकेको विकले जानकारी दिए । ‘यो वर्ष सबैले काम गरेको रकमको भुक्तानी पाउँछन्’, विकले भने ।

 

नगरप्रमुख सूर्यबहादुर शाही कार्यपालिका नै काम गरेको रकम उपलब्ध गराउन लागिपरेकाले यो वर्ष युवाहरूलाई जसरी पनि उपलब्ध गराइने बताउँछन् ।