close

साढे ४२ करोड हाराहारी बजेट ल्याउँदै अन्नपूर्ण

साढे ४२ करोड हाराहारी बजेट ल्याउँदै अन्नपूर्ण

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सम्पन्न तेह्रौँ गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४२ करोड ३० लाख रुपैयाँको बजेट पारित गरेको छ । गाउँपालिका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष केशमाया मगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट पारित भएको हो ।

 

चालूतर्फ ३१ करोड १७ लाख २० हजार, पुँजीगततर्फ ८ करोड ९९ लाख ८० हजार र कोषतर्फ २ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन भएको उपाध्यक्ष मगरले बताइन् । 

 

२३ करोड १८ लाख ससर्त अनुदान, संघीय सरकारको वित्तीय समानीकरण अनुदान ७ करोड ७ लाख, संघीय सरकारबाट आउने राजस्व बाँडफाँट ७ करोड २ लाख ४५ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान २२ लाख ७२ हजार, प्रदेश सरकार राजस्व बाँडफाँटबाट ५ लाख ३८ हजार, आन्तरिक आम्दानी ९० लाख ४० हजार र चालू आर्थिक वर्षमा खर्च हुन बाँकी १ करोड ९१ लाख ५ हजार रुपैयाँलाई बजेटको स्रोत मानिएको छ ।

 

कोरोना नियन्त्रण, विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा, पर्यटन, भौतिक पूर्वाधार, युवा तथा खेलकुद, कृषि, खानेपानी तथा सिँचाइ, शिक्षा, वन तथा वातावरण संरक्षणका क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएको अध्यक्ष पुनले बताए । 

 

८ वटा वडाका बस्ती स्तरबाट प्राथमिकताका आधारमा छनोट भई वडाले सिफारिस गरेका योजना तथा कार्यक्रमलाई नीति, कार्यक्रम र बजेटमा समावेश गरिएको उनले जानकारी दिए । वडा स्तरका आयोजनाका लागि ५०–५० लाख रुपैयाँ विनियोजन गरेको छ । 

 

३ लाख रुपैयाँभन्दा कम बजेटका योजनाको सम्झौता वडामै गर्ने नीति लिएको अन्नपूर्ण गाउँपालिकाले विद्यालय कर्मचारी र बालशिक्षा सहजकर्तालाई मासिक न्यूनतम १५ हजार रुपैयाँ तलबको व्यवस्था गर्न ६९ लाख रुपैयाँ विनियोजन गरेको छ । 

 

सभाले आर्थिक र विनियोजन विधेयक पनि पारित गरेको छ । चालू आर्थिक वर्षमा ६८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले ११ महिने अवधिमा ३४ लाख ४० हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । 

 

चलू आर्थिक वर्षको हालसम्म चालु र पुँजँगततर्फ ४९.१३ प्रतिशत खर्च भएको गाउँसभामा जानकारी गराइएको थियो । सडक आयोजनालाई १ करोड ७५ लाख, खानेपानी र सरसफाइमा ४४ लाख, भवन पूर्वाधारमा १ करोड १९ लाख, पर्यटन पूर्वाधारमा ३४ लाख, युवा तथा खेलकुदमा ६४ लाख, कृषिमा ४० लाख, पशु सेवामा ३५ लाख, सहकारीमा ५ लाख, आयुर्वेदमा ५ लाख, महिला तथा बालबालिकामा २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

कर्मचारी प्रोत्साहन र पुरस्कारका लागि १ लाख ५० हजार, साझेदारीका कार्यक्रमका लागि समपुरक कोषमा ८० लाख रुपैयाँ विनियोजन गरेको अन्नपूर्णले तोकिएको समयभन्दा अगावै कार्य सम्पन्न गर्ने, गुणस्तरीय र प्रभावकारी रूपमा कार्य सम्पन्न गर्ने उपभोक्ता समिति र निर्माण व्यवसायीलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माले पारित भएको नीति तथा कार्यक्रम र बजेटलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजाने बताए । चालू आर्थिक वर्षमा बाढीपहिरो र कोरोनाको दोस्रो लहरको महामारीको जोखिम एवं निषेधाज्ञाका कारण काम गर्न समस्या भएको उनको भनाइ छ । 

 

निर्माण सकिएका आयोजनाका उपभोक्ता समिति र निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेकाले असार मसान्तसम्म पुँजीगत खर्च ८० प्रतिशत बढी हुने प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

 

गाउँसभा सदस्य ओम फगामी, खमबहादुर गर्बुजा, बुद्धि पुन, याम पुन, वीरबहादुर पौडेललगायत छलफलमा सहभागी भएका थिए । 

 

गाउँसभा सुरु हुनुअघि सबै गाउँसभा सदस्यको एन्टिजेन परीक्षण गरिएको थियो । परीक्षण गरिएका सबैको एन्टिजेन नतिजा नेगेटिभ आएको थियो । सभामा सहभागीले पीपलको पातमा अक्षरले लेखिएको ब्याज लगाएका थिए ।

 

गाउँसभा भएको पालिका भवन परिसरमा हिस्तान औँलाका उद्यमीले उत्पादन गरेका साबुन र दोबाका उद्यमीले तयार पारेका स्विटर प्रदर्शन गरेका थिए ।