close

तुलसीपुरले ३ अर्ब ३९ करोडकाे बजेट ल्याउँदा घाेराहीले ल्यायाे २ अर्ब २० कराेड

तुलसीपुरले ३ अर्ब ३९ करोडकाे बजेट ल्याउँदा घाेराहीले ल्यायाे २ अर्ब २० कराेड

Trulli
ADVERTISEMENT

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ३ अर्ब ३९ करोड रुपैयाँको बजेट ल्याएको छ । बिहीबार उपमहानगरको नवौँ नगरसभामा उपप्रमुख माया शर्माले कोभिड-१९ ले अतिप्रभावित आर्थिक तथा सामाजिक क्षेत्रको पुनर्उत्थानमा आधारित रहेर बजेट प्रस्तुत गरेको बताइन् ।  


उपमहानगरले पुँजीगततर्फ १ अर्ब ६२ करोड १६ लाख १६ हजार रुपैयाँ नगर र वडास्तरीय पूर्वाधार विकास तथा अन्य ससर्त कार्यक्रम अनि विकास कार्यक्रमका लागि विनियोजन गरेको छ । सामाजिक सुरक्षातर्फ ४० करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।


चालूतर्फ प्रशासनिक खर्च र अन्य सञ्चालन कार्यक्रम खर्चतर्फ  १ अर्ब ३५ करोड ६९ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय खर्चतर्फ २ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरले अन्य रकम आन्तरिक रूपमा र अनुदानबाट सोधभर्ना लिए पनि १ अर्ब २ करोड रुपैयाँको ऋण अनुदान लिने भन्दै घाटा बजेट प्रस्तुत गरेको हो  । 

 

स्वास्थ्यमा ७ करोड

गुणस्तरीय स्वास्थ्य सेवा, स्मार्ट उपचार एवं नागरिक सुरक्षाका लागि ७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । कोरोनाको तस्रो भेरियन्टलाई समेत दृष्टिगत गर्दै उपमहानगरले बालबालिकाको उपचार सेवा विस्तार, उपमहानगरले सञ्चालनमा ल्याएको मेट्रो अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी  गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्यलगायत विशिष्ट सेवा सञ्चालनका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

 

यसैगरी कोभिड-१९ महामारीको सम्भावित तस्रो लहरबाट नागरिकलाई सुरक्षित राख्न पूर्वतयारी तथा प्रतिकार्यका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमहानगरले आर्थिक वर्ष २०७८/७९ मा मोतियाबिन्दुमुक्त नगर स्थापना गर्न १५ लाख, किशोर-किशोरीमैत्री स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न १० लाख, स्वास्थ्य संस्थामा आधारभूत ल्याब सेवा सञ्चालन,  औषधी भण्डारण भवन तथा खोप कोल्डचेन निर्माण गर्न १ करोड रुपैयाँ बजेट  विनियोजन गरेको छ ।

 

शिक्षामा २२ करोड

शैक्षिक क्षेत्रको सुधार र स्तरोन्नतिका लागि उपमहानगरले २२ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । शिक्षामा विद्यार्थीको पहुँच सुनिश्चित गर्न, आधारभूत तहसम्मको शिक्षालाई  पूर्ण रूपमा निःशुल्क बनाउन ७५ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिन उपमहानगरले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

यसैगरी प्रविधिको पहुँचबाट टाढा रहेका विद्यार्थीका लागि कार्यपुस्तक, टोल टोलमा सिकाइ कार्यक्रमका लागि ५ लाख, मन्टेश्वरीको मापदण्डअनुसारका १० वटा बालबिकास केन्द्रको स्तरवृद्धिका लागि १० लाख, मेट्रो कलेज, तुलसीपुर बहुप्राविधिक शिक्षालय भवन तथा अन्य पूर्वाधारका लागि संघ तथा प्रदेश सरकारको विशेष अनुदानमा १५ करोड, शैक्षिक कार्यक्रम सञ्चालन तथा तत्काल पूर्वाधार विकासका लागि २ करोड रुपैयाँ बजेट  विनियोजन गरिएको छ ।

 

बहुवर्षीय योजनाअन्तर्गत उपमहानगरले निर्माणाधीन अवस्थामा रहेका माध्यमिक विद्यालय दोघरे भवन निर्माणका लागि १ करोड २२ लाख, दीपेन्द्र मावि मानपुर भवन निर्माणका लागि १७ लाख ८५ हजार, मावि सेन्टर स्कुल भवन निर्माणका लागि ४२ लाख ९१ हजार, रानागाउँ आधारभूत विद्यालय भवन निर्माणका लागि ४७ लाख, मेयर उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमका लागि ५० लाख, शिक्षक सट्टाभर्नाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको  छ ।

 

कृषिमा साढे ४ करोड

आर्थिक क्षेत्रको विकास र कृषि उत्पादनलाई आधुनिकीरण गरी कृषि तथा पशुपक्षी विकासतर्फ उपमहानगरले ४ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भू-उपयोग नीति निर्माण गर्दै जग्गाको वर्गीकरण गरी कृषि उत्पादनको पकेट क्षेत्र निर्धारण, बिउबिजन उत्पादन केन्द्र स्थापना, माटो अनुकूल खेती प्रणालीलाई विविधीकरण गरी कृषि उत्पादन वृद्धि गर्न २० लाख, परम्परागत कृषिलाई आधुनिकीकरण, व्यावसायिकीकरण बजार उन्मुख, किसानलाई यन्त्र, औजार तथा प्राविधिक सहयोगका लागि १२ लाख, कृषि तथा पशुपक्षी अस्पताल सञ्चालन एवं प्रयोगशाला निर्माण तथा दुर्गम क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

यसैगरी पशुपक्षीको नश्ल सुधार र औषधी निःशुल्क उपलब्ध गराउन १३ लाख, बाख्रा, बंगुर, भैँसी स्रोत केन्द्र स्थापना तथा पशुपालनको पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न १० लाख, व्यावसायिक पशु एवं मत्स्यपालन फर्म÷व्यवसाय आधुनिकीकरणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमहानगरले कृषि तथा पशु एम्बुलेन्स सेवा सञ्चालन गर्न ३० लाख र  मत्स्य विकासका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ

 

उपमहानगरले आर्थिक वर्ष २०७८/७९ का लागि पूर्वाधार विकासतर्फ ९ करोड ८१ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये यातायाततर्फ ६ करोड ७० लाख ९० हजार र भवन, आवास तथा सहरी विकासतर्फ ३ करोड १० लाख ८२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, उपमहानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्न पहिलो चरणमा संघीय सरकारको १ अर्ब रुपैयाँ अनुदानमा विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


घोराही उपमहानगरको बजेट २ अर्ब २० करोड

घोराही उपमहानगरपालिकाले २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरले नगरसभामा आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको हो । 

 

उपमहानगरले गत वर्षको तुलनामा यो वर्ष १ अर्ब रुपैयाँ बढीको बजेट ल्याएको हो । गत वर्ष घोराही उपमहानगरले १ अर्ब ८५ करोड २२ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

 

उपमहानगर उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै कुल बजेट २ अर्ब २० करोड २८ लाख ७८ हजारमध्ये १ अर्ब १३ करोड २ लाख ८३ हजार चालूतर्फ र १ अर्ब ७ करोड २५ लाख ९५ हजार रुपैयाँ पुँजीगततर्फ खर्च विनियोजन गरिन् ।

 

संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, वित्तीय समानीकरण र राजस्व बाँडफाँट तथा उपमहानगरको आन्तरिक आयबाट विनियोजन गरिएको बजेट १ अर्ब ४२ करोड ३३ लाख ३४ हजारमध्ये ५२ करोड ५८ लाख ३९ हजार रुपैयाँ चालूतर्फ र ८९ करोड ७४ लाख ९५ हजार रुपैयाँ पुँजीगततर्फको खर्च हो ।


  
कुल विनियोजित रकममध्ये संघ सरकारबाट प्राप्त ससर्त अनुदानतर्फ ६९ करोड ५ लाखमध्ये ९ करोड ५१ लाख  पुँजीगततर्फ र ५९ करोड ५४ लाख रुपैयाँ चालूतर्फ रहेको छ । त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदान ८ करोड ९० लाख ४४ हजारमध्ये ८ करोड पुँजीगततर्फ र ९० लाख रुपैयाँ चालूतर्फको बजेट खर्च रहेको छ ।

 

आगामी वर्षका लागि घोराही उपमहानगरले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । त्यसमा पनि कोभिड-१९ को लागि मात्रै २ करोड ४५ लाख रुपैयाँ बजेट नगरसभामा प्रस्तुत गरिएको थियो । ‘कोभिड-१९ संक्रमणबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग, कोभिड उपचार तथा व्यवस्थापनमा १ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


‘पोस्ट कोभिड व्यवस्थापन, होम आइसोलेसन अनुगमन, मनोसामाजिक परामर्शका लागि १५ लाख, एन्टिजेन परीक्षण, कोभिड भ्याक्सिन व्यवस्थापनका लागि ३० लाख र अक्सिजन प्लान्ट सञ्चालनका लागि २० लाख, स्वास्थ्य संस्थाको पूर्वाधार निर्माणका लागि २ करोड ४० लाख, एम्बुलेन्स व्यवस्थापनमा १० लाख, निःशुल्क रक्त सञ्चारका लागि ८ लाख, आमा सुरक्षा कार्यक्रममा १५ लाखलगायत जनस्वास्थ्य प्रवर्द्धनमा ११ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

 

पूर्वाधार विकासअन्तर्गत १ अर्ब रुपैयाँ बढीको बजेट विनियोजन गरिएको छ । सडक पिच, ग्राभेल तथा स्तरोन्नतितर्फ ४६ करोड १० लाख, भवन निर्माण तथा मर्मततर्फ ५ करोड ५० लाख, सिँचाइ तथा खानेपानीतर्फ ४ करोड ३५ लाख, पुल तथा कल्भर्ट निर्माणतर्फ २ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

अन्य पूर्वाधारका लागि ८ करोड १९ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ आन्तरिक विनियोजित बजेट ६९ करोड ११ लाख १० हजार, संघ सरकारबाट हस्तान्तरित कार्यक्रमअन्तर्गत ६ करोड ३० लाख र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमअन्तर्गत ८ करोडसमेत गरी ८३ करोड ४१ लाख १० हजार रुपैयाँ अनुमानित बजेट छुट्याइएको छ ।

 

शिक्षातर्फ २ करोड ५४ लाख ९ हजार, युवाको क्षमता विकास कार्यक्रमतर्फ ५७ करोड ११ लाख २२ हजार, महिला, बालबालिकातर्फ लैंगिक समानता तथा सामाजिक समावेशीलगायत गरी १ करोड २० लाख रुपैयाँ बजेट छुट्याइएको छ । कृषि विकासतर्फ ६६ लाख ५० हजार, कृषि विकाससँग सम्बन्धित अन्य कार्यक्रमका लागि २ करोड ८ लाख, पशु सेवातर्फ २१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।