close

भर्चुअलबाटै आयो मनाङ ङिस्याङको बजेट

भर्चुअलबाटै आयो मनाङ ङिस्याङको बजेट

Trulli
ADVERTISEMENT

लमजुङ– हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकाले भर्चुअल माध्यमबाट आगामी आथिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । कोरोना महामारी र बाढीपहिरोको जोखिमका बीच पालिकाले भर्चुअल माध्यमबाट बजेट प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष कान्छा घलेले
बताए । 

 

उनका अनुसार गाउँपालिकाले बिहीबार गाउँसभा गरी नीति, कार्यक्रम र २८ करोड ५८ लाख ८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । पालिका अध्यक्ष घले, प्रमुख प्रशासकीय अधिकृत दीपक ढकाल, केही जनप्रतिनिधि मात्र गाउँपालिका कार्यालय हुम्डेमा थिए ।

 

गाउँपालिका उपाध्यक्ष मेङ्खु गुरुङ (लामा) भने आफ्नै घर पिसाङबाट जुममा जोडिएर बजेट प्रस्तुत गरेकी थिइन् । कोरोना संक्रमण र बाढीपहिरो कारण भौतिक उपस्थितिमा समस्या हुने भएकाले भर्चुअल माध्यमबाट बजेट प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ ।

 

कोरोना संक्रमणको अवस्थामा जोखिम बढ्ने भएकाले र बाढीपहिरोका कारण बाटोघाटो बिग्रिएकाले गाउँसभामा सबै उपस्थिति हुन सकेनन् ।  मुस्किलले पैदल यात्रा गर्न सकिए पनि बाढीपहिरोका कारण सवारी साधन चल्ने बाटो छैन । 

 

गाउँपालिकाले विपद् व्यवस्थापन, कोरोना नियन्त्रण, पूर्वाधार विकासमा जोड दिएको छ । यस्तै, कृषि क्षेत्रमा अनुदान, पर्यटन विकासमा पनि गाउँपालिकाले जोड दिएको जनाएको छ ।

 

बाढीपहिरो र कोरोना सन्त्रासको बाबजुद बजेट ल्याउन सफल भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । बाढीपहिरोका कारण सडक क्षतविक्षत भएपछि मनाङका अन्य ३ स्थानीय तहले भने बजेट ल्याउन सकेका छैनन् ।

 

बाढीबाट अतिप्रभावित चामे गाउँपालिका, नासों र नार्पाभूमिले बजेट ल्याएका छैनन् । नार्पाभूमिले शुक्रबार बजेट ल्याउने तयारी गरेको जनाएको छ ।