close

मनाङकाे चामे र नासाें गाउँपालिकाकाे बजेट सार्वजनिक

मनाङकाे चामे र नासाें गाउँपालिकाकाे बजेट सार्वजनिक

Trulli
ADVERTISEMENT

लमजुङ- हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३४ करोड ४१ लाख ६१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।  चामे गाउँपालिकाको कार्यालयमा बुधबार आयोजित नवौँ गाउँसभाले विनियोजित बजेट पारित गरेको छ ।


गाउँपालिकाले चालूतर्फ १८ करोड ३३ लाख ३७ हजार र पुँजीगततर्फ १६ करोड ८ लाख २४ हजार रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाअनुसार केन्द्र सरकारको समानीकरण अनुदान ६ करोड ९८ लाख, राजस्व बाँडफाँट ६ करोड ६१ लाख ५६ हजार, ससर्त अनुदान ६ करोड ८२ लाख, विशेष अनुदान (ससर्त) २ करोड ८ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।


यस्तै, प्रदेश सरकार समानीकरण अनुदान ४० लाख ४७ हजार, राजस्व बाँडफाँटमा ५ लाख ४९ हजार, विशेष अनुदानअन्तर्गत लोकप्रिय माध्यमिक विद्यलाय छात्रावास भवन निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार पालिकाले आगामी आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापन, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ ।

 

प्रदेश सरकार समपुरक अनुदान (स्यार्कु शीतभण्डार निर्माण ६० प्रतिशत) मा ७० लाख, केन्द्र सरकार अन्य अनुदान (चामे बसपार्क निर्माण) मा २ करोड ९६ लाख ५७ हजार रुपैयाँ विनियोजन भएको छ । केन्द्र सरकार अन्य अनुदान (चामे उद्योगग्राम निर्माण) मा ९२ लाख, आन्तरिक आय (अनुमान) मा २६ लाख ४२ हजार, आन्तरिक आय (गत वर्षको नगद मौज्दात) ९ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 


गाउँपालिका अध्यक्ष घलेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष मुनीन्द्रजंग गुरुङले बजेट प्रस्तुत रेका थिए । मनाङलाई अविरल वर्षा र बाढीले क्षतिविक्षत बनाएको र गाउँपालिकामा धेरै क्षति भएकाले बजेट ल्याउन ढिला भएको अध्यक्ष घलेले बताए ।


बाढीपहिरोको कारण बाटो अवरुद्ध हुँदा सभाका सदस्य समयमै सभा स्थल आउन नसक्दा ढिलो गरी सभाको बैठक सञ्चालन गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यलगायतको उपस्थिति रहेको चामे गाउँपालिकाका सूचना प्रविधि अधिकृत दीपेन्द्र गोदारले जानकारी दिए ।


नासों गाउँपालिकाको बजेट साढे २६ करोड

बाढीपहिरोको पीडाबीच मनाङको नासों गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि २६ करोड ५६ हजार रुपैयाँको बजेट ल्याएको छ । १० असारमा नासोँ गाउँपालिका वडा नम्बर ४ ओडारगाउँमा आयोजित सभाले नीति तथा कार्यक्रम र बजेट प्रस्ताव गरेको थियो ।


धारापानीस्थित कार्यालय मस्र्याङ्दीको बाढीले बगाएपछि बेँसीसहरमा आपतकालीन कार्यालय सञ्चालन गरिएको कार्यालयमा बुधबार आयोजित सभाले प्रस्तावित नीति तथा कार्यक्रम र बजेट पारित गरेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । सभामा उपाध्यक्ष कमलमाया गुरुङले बजेट र अध्यक्ष चन्द्र घलेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

सभाले संघीय सरकार समानीकरण अनुदान ६ करोड ९९ लाख, प्रदेश सरकार समानीकरण अनुदान ६५ लाख, संघीय सरकार ससर्त अनुदान १० करोड २८ लाख, ससर्त अनुदान प्रदेश सरकार ५० लाख, संघीय सरकार राजस्व बाँडफाँट ३ करोड ६१ लाख ५६ हजार, प्रदेश सरकार राजस्व बाँडफाँट ७ लाख ५० हजार र गाउँपालिकाको आन्तरिक स्रोत १९ लाख ५० हजार रुपैयाँ प्रस्ताव गरेको थियो ।

 

यस्तै, आगामीआर्थिक वर्षका लागि गत वर्षको अल्या ३ करोड २० लाख रुपैयाँ छ । प्रस्तावित बजेटअनुसार प्रदेश सरकारको ससर्त अनुदानको ५० लाख रुपैयाँ नासों गाउँपालिका वडा नम्बर ५, थोचेको प्रकाश ज्योति माविको भवन निर्माण क्रमागत र प्रदेश सरकारकै विशेष/समपुरक अनुदान ५० लाख रुपैयाँ वडा नम्बर ५ थोँचेदेखि वडा नम्बर ८ ताचै जाने मोटर बाटो स्तरोन्नतिका लागि विनियोजन गरिएको गाउँपालिकाका सूचना अधिकारी गोविन्दबहादुर रानाभाटले जानकारी दिए ।

 

गाउँसभाले स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । बाढीग्रस्त गोरेटो/घोडेटो बाटो निर्माण, मर्मत कोषमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘बाढीबाट विस्थापित घरपरिवार, पुनर्वास गाउँपालिकाको सरोकार’ नारालाई अघि सारेर गाउँसभाले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले बताए ।


गाउँसभाले आगामी आर्थिक वर्षको बजेटमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता, दलित लक्षित कार्यक्रम समेटेको छ ।  यस्तै, पूर्वाधार निर्माण, वातावरण संरक्षण, सुशासन तथा क्षमता विकास, स्वास्थ्य, शिक्षा, कृषि, पशु विकास, खेलकुद प्रवद्र्धन तथा ऊर्जामा बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताए ।