close

अछामका १० मध्ये ९ पालिकाले ल्याए बजेट

अछामका १० मध्ये ९ पालिकाले ल्याए बजेट

Trulli
ADVERTISEMENT

अछाम- अछामका १० मध्ये ९ पालिकाले बजेट सार्वजनिक गरेका छन् । चौरपाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४२ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ । नवौँ गाउँसभाबाट पालिकाले गत बिहीबार नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।


गाउँपालिका उपाध्यक्ष माया कुवँरले आर्थिक वर्ष २०७८÷७९का लागि कुल ४२ करोड ३ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।


गाउँपालिकाले संघीय सरकारबाट प्राप्त ससर्त अनुदान १९ करोड ५८ लाख, वित्तीय समानीकरण अनुदानबाट ९ करोड ५४ लाख, विशेष अनुदान ५४ लाख, समपुरक अनुदान ५४ लाख, राजस्व बाँडफाँट ८ करोड ६९ लाख ७९ हजार रुपैयाँ अनुमान गरेको छ ।


यसैगरी प्रदेश सरकारबाट बाँडफाँट हुने वित्तीय समानीकरण अनुदान ६५ लाख ५२ हजार, विशेष अनुदान ५० लाख, समपुरक अनुदान ५४ लाख ९३ हजार, राजस्व २३ लाख ६४ हजार र आन्तरिक आय १करोड २० लाख रुपैयाँ प्राप्त हुने बजेट अनुमान गरेको छ ।

 

गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको जानकारी दिए ।


यस्तै, मेल्लेख गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममा आर्थिक विकास तथा गरिबी निवारण, जनताको जीवन स्तर उकास्ने, आम्दानी र रोजगारी बढाउने विषयलाई प्राथमिकता दिएको छ ।

 

गाउँपालिकाको बजेटमा महिला, बालबालिका, पिछडिएको क्षेत्रलाई लाभ पुग्ने, स्थानीय स्रोत–साधन र सीपको प्रयोग हुने कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।


यस्तै, ग्रामीण उद्योग, सडक, विद्युत्, खानेपानीलगायत आवश्यक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखिएको छ ।


मेल्लेख गाँउपालिका उपाध्यक्ष धनबहादुर शाहीले आर्थिक वर्ष २०७८/७९ को ४५ करोड ७२ लाख ८३ हजारको आय तथा ५० करोड ९३ लाख ७३ हजार ७६० रुपैयाँ व्ययको बजेट प्रस्तुत गरे ।

 

साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६४ करोड ४२ लाख १ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरपालिकाले चालूतर्फ ४७ करोड ८ लाख र पुँजीगततर्फ १७ करोड ३५लाख रुपैयाँ बराबरको बजेट सातौँ नगरसभाबाट सर्वसम्मत पारित भएको छ ।


नगरपालिकाले संघीय सरकारको ससर्ततर्फ ३५ करोड ८ लाख, समानीकरण अनुदानतर्फ ११ करोड ७८ लाख, विशेष अनुदान पुँजीगत १ करोड ६१ लाख, ससर्त अनुदान पुँजीगत १ करोड ५१ लाख, समानीकरण अनुदानतर्फ ३ लाख ४९ हजार, विशेष अनुदान प्रदेश सरकारबाट ५० लाख रुपैयाँको अनुमानित व्यय पेस गरेको छ ।


यस्तै, संघीय सरकारको समपुरक पुँजीगततर्फ ४२ लाख, प्रदेश सरकारको समपुरक अनुदान ४० लाख, संघीय राजस्व बाँडफाँटबाट ९ करोड ५४ लाख ४ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट २६ लाख ४ हजार र आन्तरिक आयबाट २ करोड ४८ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।


नगरपालिकाको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । अधुरा रहेका विकास निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ । यसैगरी कमलबजार नगरपालिका उपप्रमुख भूमिशरण ढकाल बजगार्इंले नीति तथा कार्यक्रम नगरसभाममा पेस गरिन् ।


व्ययभारको आधारमा कुल अनुमानित ४४ करोड रुपैयाँ बराबरको बजेट पेस भएको छ । बजेटमा बहुवर्षीय आयोजना तथा चालू आर्थिक वर्षका अधुरा योजना सम्पन्न गर्न प्राथमिकता दिइएको छ । नगरपालिकाले स्थानीय कच्चा पदार्थ, सीप र प्रविधि प्रयोग हुने तथा रोजगारी सिर्जना गर्ने आयोजना छनोटलाई प्राथमिकता दिने नीति लिएको उल्लेख छ ।

 

नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्रोत अनुमान व्यवस्थापन र बाँडफाँटअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/७९ मा आन्तरिक आयबाट ३० लाख, संघीय राजस्व बाँडफाँटबाट ७ करोड ६ लाख ९ हजार, वित्तीय समानीकरणबाट ९ करोड २९ लाख रुपैयाँ अनुमान गरिएको छ ।


यस्तै, प्रदेश वित्तीय समानीकरण अनुदानबाट ६९ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १६ लाख, ससर्त अनुदानबाट २५ करोड २ लाख र २०७७/७८ को अनुमानित मौज्दात आम्दानी १ करोड रुपैयाँको बजेट पेस गरिएको छ ।


आय अनुमान प्रस्तावअनुसार ४४ करोड ८ लाख ९ हजार रहेको छ भने आर्थिक वर्षमा चालूतर्फ २६ करोड ३६ लाख ३५ हजार र पुँजीगततर्फ १७ करोड ९१ लाख ७४हजार गरी जम्मा४४करोड २ लाख ९ हजार बराबरको व्यय अनुमान गरिएको छ ।

 

यस्तै, चालूतर्फको शीर्षकगत व्यय अनुमानअन्तर्गत सर्सत अनुदानतर्फ १९ करोड, वडागत चालूतर्फ ६० लाख, नगरपालिका चालू खर्च ६ करोड ७६ लाख ३५ हजार रुपैयाँ प्रस्तुत गरिएको छ ।

 

पुँजीगततर्फको कार्यक्रमगत व्यय अनुमानअन्तर्गत सर्सत अनुदान पुँजीगत ५ करोड २७ लाख, संघीय विशेष अनुदान ५८ लाख, वडागत पुँजीगत बजेट बाँडफाँट ४ करोड ६९ लाख र नगरपालिका पुँजीगततर्फ ६ करोड ९४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

 

रामारोशनले ४६ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उसले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको छ । 

 

ढकारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सातौँ गाउँसभामार्फत  ३५ करोड ४८ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमध्ये चालूतर्फ २८ करोड २२ लाख ८६ हजार र पुँजीगत बजेट ७ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

गाउँपालिकाले किसानलाई कृषि पेसामा आकर्षण गर्न कृषक प्रोत्साहन भत्ता कार्यक्रम ल्याएको छ । कृषकलाई प्रोत्साहन भत्ता कार्यक्रमअन्तर्गत भैँसीपालकलाई मासिक १ हजार, बाख्रापालकलाई मासिक ५सय, लोकल कुखुरापालकलाई मासिक ५ सय र फलफूल तथा तरकारी उत्पादकलाई मासिक १ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले बताए ।