close

गुणस्तरीय शिक्षा र सामाजिक विकास सूर्योदय नगरको प्राथमिकता

गुणस्तरीय शिक्षा र सामाजिक विकास सूर्योदय नगरको प्राथमिकता

Trulli
ADVERTISEMENT

इलाम । पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले चालू आर्थिक वर्ष ०७९/८० का लागि दिगो विकास र शैक्षिक उन्नयनको लक्ष्यमा केन्द्रित बजेट, नीति तथा कार्यक्रम घोषणा गरेको छ । 

गुणस्तरीय शिक्षा र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राख्दै नगरले १ अर्ब ३५ करोड ७९ लाख ९७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । 

११ औँ नगरसभाले पारित गरेको बजेट, नीति तथा कार्यक्रम प्रदेश–१ को पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सार्वजनिक गरिन् । सूर्योदयले चालू आर्थिक वर्षमा गुणस्तरीय शिक्षा, उद्योग नवीन खोज र पूर्वाधारमा करिब ५८ प्रतिशत बजेट विनियोजन गरेको छ ।यस्तै, खानेपानी सरसफाई, जनस्वास्थ्य पोषण, युवा तथा खेलकुद, महिला बालबालिका, सामाजिक संरक्षण र समावेशीकरणलाई पहिलो प्राथमिकतामा राखेको छ । 

सूर्योदयले सामाजिक विकासका लागि  ४६ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । 

शिक्षा, भाषा तथा संस्कृति संरक्षणका लागि ३३ करोडभन्दा बढीको बजेट नगरले आगामी आर्थिक वर्षमा कार्यान्वयनमा ल्याउनेछ । 

नगरले आर्थिक विकासका लागि २२ करोड ७५ लाख रुपैयाँको बजेट अघि सारेको छ । पूर्वाधार विकासको लागि ४३ करोड ६६ लाख, संस्थागत विकास र सुशासनमा  १८ करोड ८५ लाख र वन वातावरण तथा विपद व्यवस्थापनका लागि  ३७ करोड २३ लाखभन्दा बढीको बजेटलाई अघि सारेको छ । नगरले प्रशासनिक खर्च १३ करोड ६३ लाख रुपैयाँमा सीमित गरेको छ ।

दिगो र सन्तुलित विकासको लक्ष्य निर्धारण, राजनीतिक दल, स्थानीय र कर्मचारीको एकीकृत समन्वयात्मक प्रयास, औचित्यमा आधारित अनुसन्धानमूलक कार्यक्रम, युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति सूर्याेदयको लक्ष्यमा समेटिएका छन् ।  

त्यस्तै, सीमान्तकृत र लोपोन्मुखको समावेशी सहभागिता, प्रांगारिक कृषि, पर्यापर्यटन र आर्थिक समानता प्रवर्द्धन, समग्र पूर्वाधार प्रविधिमा नवीनताको विकास, उत्तरदायी, तटस्थ र सक्षम प्रशासन, युवालक्षित खेलकुद र उद्यमशीलता तथा विकास र समृद्धिको पहिचान दिने नगरपालिकाका रूपमा सूर्याेदयलाई परिचित गराउने लक्ष्य राखिएको छ । 

बजेट सार्वजनिक कार्यक्रममा संविधानसभा सदस्य लीला श्रेष्ठ, माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, जिल्ला समन्वय समिति उपाध्यक्ष चित्रकला बराइली,प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गेल, नेपाली कांग्रेसका सभापति जीवन नेपाललगायतको उपस्थिति थियो । 

सो क्रममा नगरउपप्रमुख दुर्गाकुमार बरालले सूर्योदय नगरले ल्याएको बजेट, नीति तथा कार्यक्रम नगरको विकासमा कोसेढुंगा साबित हुने प्रतिक्रिया दिए । कार्यक्रमको कृषि, शिक्षा, स्वास्थ्य, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान दिने ४८ जनालाई सम्मानसमेत गरिएको थियो ।