close

खिजीदेम्वाले तोक्यो उपभोक्ता समितिले गर्ने कामको समयसीमा

खिजीदेम्वाले तोक्यो उपभोक्ता समितिले गर्ने कामको समयसीमा

Trulli
ADVERTISEMENT

ओखलढुंगा -  ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाले उपभोक्ता समितिबाट हुने सबै विकास निर्माणका काम आउँदो चैत मसान्तभित्र सक्ने कार्ययोजना बनाएको छ ।


गाउँपालिकाले असोज २५ भित्र उपभोक्ता समिति गठन गरी योजना सम्झौता गरेर चैतमा सम्पन्न गर्ने कार्ययोजना तयार गरेको हो । गाउँपालिकाले बनाएको उपभोक्ता गठन तथा परिचालन निर्देशिका अनुसार चालू आर्थिक वर्षमा उपभोक्ताबाट हुने विकासका काम चैतभित्र अनिवार्य सक्ने योजना बनेको प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले जानकारी दिए । 

 


यसअघि जेठसम्म योजना सम्झौता गरेर कामगर्दा विकास निर्माणमा आर्थिक पारदर्शिता र गुणस्तरको प्रश्न उठ्ने गरेको थियो । गाउँपालिकाका काम प्रभावकारी बनाउन निर्देशिका अनुसार काम सम्पन्न गर्न वडा तहमा समन्वय भइरहेको पौडेलले बताए । 


स्थानीय तह र प्रदेश सरकारबाट दिइने अनुदानमा उपभोक्ताबाट हुने काममा गुणस्तर र पारदर्शिता नभएको गुनासो नागरिक स्तरबाट उठ्न थालेको छ । जेठमा सम्झौता गरेर असार मसान्तमा फरफारक गर्दा बर्खाका बेलाहुने विकासका काम गुणस्तरीय नभएपछि  चैतमा सम्पन्न गर्दा गुणस्तर र पारदर्शिता कायम गर्न सहयोग पुग्ने स्थानीय लीला सुनुवार बताउँछन् । 


उनले भने, ‘विगतमा लाखौंका योजना एक महिनामा सकिएका उदाहरण छन् । त्यस्ता विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पनि पुगे । कार्ययोजना अनुसार काम भए सुशासन र विकास प्रभावकारी हुन्छ ।’