close

व्यवसाय उँभो लैजान उपकरण सहयोग

व्यवसाय उँभो लैजान उपकरण सहयोग

Trulli
ADVERTISEMENT

बागलुङ- घरेलु तथा साना उद्योग कार्यालय बागलुङले व्यवसाय प्रवर्द्धनका लागि १८ व्यवसायीलाई सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ । जिल्लास्तरीय छनोट समितिले छनोट गरेका उद्यमी तथा व्यवसायीलाई ती सामग्री दिइएको हो ।

 

छनोट भएकामध्ये १० जना महिला उद्यमीलाई १४ वटा ढाका बुनाइ मेसिन प्रदान गरिएको हो । सोमबार आयोजित कार्यक्रममा कार्यालयकी प्रमुख गुमादेवी रिजालले सामग्री हस्तान्तरण गरिन् ।


तनहुँस्थित निखिल ढाका उद्योगका निखिल चौधरीले ती मेसिन निर्माण गरेका थिए । नयाँ उद्यमीलाई १-१ वटा र व्यावसायिक फर्मको रूपमा विकास गरेकालई १ वटा मेसिन दिइएको रिजालले जानकारी दिइन् ।


त्यस्तै, ३ जना व्यवसायीलाई २-२ वटाका दरले ६ वटा सिलाइ मेसिन र बागलुङको जैमिनी नगरपालिकाकी याममाया श्रीषलाई २५ वटा मौरी घार उपलब्ध गराइएको छ ।
 

दुर्गाबहादुर कामीले सञ्चालन गरेको फर्निचर उद्योगका लागि बेन्सो मेसिनसमेत दिइएको छ । १ लाख ४४ हजार अनुदान र ३६ हजार रुपैयाँ व्यक्तिगत लगानीमा उक्त मेसिन भित्र्याइएको हो ।

 

धौलागिरि मौरी फार्मका लागि महदानी मेसिन र लाफा बहुउद्देश्यीय कृषि फार्मका लागि डिफ्रिज सहयोग गरिएको छ । 

 

मेसिन तथा उपकरण पाएपछि उद्यमीले काम गर्ने हौसला बढेको बताए । ‘मेसिन पाइयो । काम गर्न हौसला मिलेको छ,’ बागलुङ नगरपालिका वडा नम्बर १ की लक्ष्मी श्रेष्ठले भनिन्, ‘सिलाइ व्यवसायसँगै प्रशिक्षण पनि चलाएकी छु ।’


समय-समयमा तालिम र प्रविधि सहयोग पाएकाले उद्यम व्यवसाय बढाउने योजना बनेको उनले सुनाइन् । साना उद्योगलाई प्रवर्द्धन गर्दै दिगो रूपमा सञ्चालन गर्न कार्यालयले हरेक वर्ष यो अभियान चलाएको रिजालले जानकारी दिइन् ।