close

ढुवानीमा मनाेमानी: चामल किन्न आएका हिमालीबासी रित्ताे हात फर्किए

ढुवानीमा मनाेमानी: चामल किन्न आएका हिमालीबासी रित्ताे हात फर्किए

Trulli
ADVERTISEMENT

बाजुरा- ठेकेदारले चामल ढुवानी नगर्दा कवाडी अस्थायी डिपोमा महिना दिनदेखि चामल अभाव भएको छ । डिपोमा चामल अभाव भएपछि त्यहाँ आएका स्थानीय रित्तो हात फर्किन बाध्य छन् । हिमाली गाउँपालिकाको बिच्छँयाबाट चामल लिन कवाडी आएका स्थानीयले नपाएपछि खाली हात फर्किनुपरेको गुनासो गरे । बाजुराको हिमाली क्षेत्रमा खाद्यन्न संकट सिर्जना भएको छ ।

 

समयमै ठेकेदारले चामल ढुवानी नगर्दा हिमाली गाउँपालिकामा खाद्य संकट भएको हो । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि खाद्य संकट भएको वडा नम्बर ३ का वडाध्यक्ष ध्याने रोकायाले बताए ।


अनुदानको चामल ढुवानी नभएपछि गाउँपालिकाको वडा नम्बर १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगिनमा खाद्य संकट भएको वडाध्यक्ष रोकायाको भनाइ छ । वडा नम्बर १ बिच्छँयाका धर्मलाल रोकाया २ दिन लगाएर कवाडी अस्थायी डिपोमा चामल किन्न पुुगे पनि त्यहाँ एक दाना पनि चामल नपाएपछि रित्तो हात फर्किनुपरेको सुनाउँछन् । चामल नपाएपछि सिस्नो कन्दमूल गीठा भ्याकुरले छाक टार्ने रोकायाले बताए ।


 
हिमाली गाउँपालिका १ बिच्छँयाबाट चामल किन्न २५ जना आए पनि नपाएपछि रित्तो हात घर फर्किएको उनले सुनाए । ‘हामी चामल पाइन्छ भनेर आएका हौँ तर नपाएपछि घर जानुपर्‍यो । ३ दिन लगाएर कवाडी पुगे पनि चामल पाएनौँ । अबको विकल्प कोल्टी खाद्यमा हो । कोल्टी पुग्न फेरि एक दिनको पैदल हिँड्नुपर्छ । घरबाट साहूसँग ४ हजार रुपैयाँ सापटी ऋण लिएर आए पनि पाएनौँ’, चन्द्रबहादुर बुढथापाले भने ।


 
साविकको बिच्छँया गाउँपालिकाको ४ हजार जनसंख्याका सबै घरमा खाद्य संकट भएको उनले जानकारी दिए । गाउँपालिकामा स्थानीय उत्पादनले वर्षमा २ महिना पनि खान पुग्दैन । हिमाली बाजुराको सर्वाधिक विकट गाउँपालिका हो । यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट साता दिन लाग्छ । कवाडी अस्थायी डिपोका लागि खाद्य संस्थान बाजुराले यो वर्ष ३ हजार क्विन्टल चामलको कोटा स्वीकृत भएर ठेक्का भएको थियो । सोहीअनुसार ३ जना ठेकेदारसँग सम्झौता भएको थियो । 


मार्तडीबाट एलबी कन्स्ट्रक्सन, कोल्टीबाट ओम शिव कन्स्ट्रक्सन र धनगढीबाट बडिमालिका कन्स्ट्रक्सन एन्ड अर्डर सप्लायर्सले जिम्मा लिएका छन् । तर, अहिलेसम्म १५ सय क्विन्टल मात्र पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । मार्तडी र कोल्टीबाट जिम्मा लिएका एलबी कन्स्ट्रक्सन र ओमशिव कन्स्ट्रक्सनले आफ्नो कोटाका चामल ढुवानी गरी बिक्री गरेर रकम भुक्तानी भइसकेको छ ।

 

धनगढीबाट ढुवानी जिम्मा लिएको बडिमालिका कन्स्ट्रक्सन एन्ड अर्डर सप्लायर्सले २ सय १० क्विन्टल चामल ढुवानी नगरेको मार्तडी खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख मेखराज ओझाले जानकारी दिए ।
 
मार्तडी शाखा प्रमुख ओझाले भने, ‘चामल ढुवानी नगरेका ठेकेदारलाई ताकेता गरिरहेका छौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुदूरपश्चिम प्रदेशलाई चामल ढुवानीबारे सोध्दा ढुवानी जिम्मा पाएको ठेकेदारले रकम जम्मा नगर्ने भएकाले चामल ढुवानी हुन नसकेको जवाफ आएको छ’, प्रमुख ओझाले भने ।


प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कवाडीमा चामल सकिएको जानकारी पाएपछि प्रदेशलाई ढुवानीका लागि ताकेता गरिएको बताए ।


 
कवाडीमा चामल ढुवानी पाएका ठेकेदार बडिमालिका कन्स्ट्रक्सन एन्ड अर्डर सप्लायर्सका सञ्चालक लोकेन्द्र रावल पहिला चामल बिक्री नभएर ढुवानी कम गरिएको र अहिले बाटो बन्द हुँदा ढुवानी गर्न नसकिएको दाबी गर्छन् ।


‘हिउँदमा कवाडीसम्मै गाडी पुुग्ने भएकाले खाद्यको भन्दा ८ रुपैयाँ सस्तोमा बजारमा पाइने भएपछि खाद्यको चामल बिक्री भएन । बर्खाले बाटो बन्द हुँदा बजारमा चामल नपाइएको र सबै ठाउँबाट माग हुँदा अभाव देखिएको हो’, रावलले भने ।