close

बाजुराका ५ स्थानीय तहमा ३ हजारलाई जागिर

बाजुराका ५ स्थानीय तहमा ३ हजारलाई जागिर

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराका ५ वटा स्थानीय तहमा कामका लागि नगद कार्यक्रम सञ्चालन भएको छ । अतिविपन्न र सीमान्तकृत समुदायमा कोभिड-१९ ले पारेको प्रभाव कम गर्न जिल्लाका ५ वटा स्थानीय तहमा पहिलो चरणमा ७ महिनाका लागि कार्यक्रम सञ्चालन भएको हो । 


नेपाल सरकार, संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम, यूकेएड र एकीकृत विकास समाज नेपालको संयुक्त सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको परियोजना फिल्ड संयोजक मुकेशकुमार शर्माले जानकारी दिए । 
 
कार्यक्रम बूढीनन्दा नगरपालिका, गौमूल, हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा सञ्चालन गरिएको हो । अतिविपन्न तथा र सीमान्तकृत समुदायको आकलनका आधारमा स्थानीय तह छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्तरीय समन्वयात्मक बैठकमा जानकारी दिइयो ।

 

जिल्ला परियोजना सल्लाहकार समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकायले परियोजना सञ्चालनपछि लक्षित समुदायले लाभ पाउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘कोभिडकै कारण समस्यामा परेका अतिविपन्न परिवारका लागि परियोजनाले सहयोग पुग्ने अपेक्षा छ ।’ 

 

परियोजनाअन्तर्गत छनोटमा परेका व्यक्तिले ४० दिनसम्म काम गर्न पाउनेछन् भने काम गरेबापत प्रतिदिन ६ सय रुपैयाँका दरले नगद रकम पाउने बुझ्नेछन् ।५ वटा स्थानीय तहका २ हजार ९ सय ६३ जना परियोजनाअन्तर्गत समेटिएका छन् ।
 
 
तीमध्ये २ हजार १ सय ६३ जनाले ससर्त अनुदान अर्थात् काम गरे मात्र नगद पाउनेछन् भने ८ सय जनाले निःसर्त काम नगरे पनि रकम पाउनेछन् । ८ सय जना फरक क्षमता भएका, काम गर्ने उमेर ढल्केका, गर्भवती एकल महिला तथा टुहुरा बालबालिकाका परिवारलाई समेटिएको छ । परियोजनामा समेटिएका व्यक्तिले २४ हजार रुपैयाँ बैंकबाटै पाउनेछन् । 


सम्बन्धित स्थानीय तहले प्राविधिक स्टिमेट गरिएको सिफारिस योजनामा काम गर्न लगाउने कार्यक्रमको उद्देश्य रहेको परियोजनाका इन्जिनियर सुरेन्द्र थापाले बताए ।
 
 
कोभिडकै कारण खाद्य असुरक्षित परिवारलाई लक्षित गरेर परियोजना सञ्चालन गरिएको विश्व खाद्य कार्यक्रममा डिबी साउदले जानकारी दिए । ७ महिने अवधिमा साढे ७ करोड रुपैयाँ समुदायकै लागि जानेछ । जेठ मसान्तसम्म अवधि रहेको परियोजनाले बाजुरामा मात्र ९ करोड ४ लाख ७६ हजार रुपैयाँ खर्चिंदै छ ।