close

अधिकतम बेरोजगारलाई समेट्न बस्तीमा पुगेर निवेदन सङ्कलन

अधिकतम बेरोजगारलाई समेट्न बस्तीमा पुगेर निवेदन सङ्कलन

Trulli
ADVERTISEMENT

बागलुङ– काठेखोला गाउँपालिकाले बेरोजगार सूचीमा कुनैपनी युवा नछुटुन् भनेर पालिकाका विकट टोल टोलमा पुगेर निवेदन सङ्कलन गरेको छ । 

गाउँपालिकाले फागुन २२ र २३ गते वडा नं ४ का विभिन्न स्थानमा पुगेर बेरोजगार सूचीका लागि युवाका निवेदन सङ्कलन गरेको हो । गाउँपालिकाले ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन गरेर वडा कार्यालयबाट टाढा रहेका बस्तीहरुको बेरोजगार सूची सङ्कलन गरिरहेको रोजगार शाखाका प्रमुख जनक पौडेलले बताए । 

गाउँपालिकामा वडा कार्यालयमार्फत फागुन महिनाभित्र बेरोजगारमा सुचिकृत हुन निवेदन सङ्कलन भइरहेका छन् । वडा कार्यालयबाट टाढा रहेका बस्तीमा रोजगार शाखा आफै पुगेर निवेदन सङ्कलन गरेको उनले बताए । 

उनका अनुसार वडा नं ४ मा आर्थिक वर्ष २०८१/०८२ का लागि १८ देखि ५९ वर्ष उमेर समुहका ६१ जनाले निवेदन दिएका छन् । साथै उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक रोजगारी र सामाजिक सुरक्षा कोषको बारेमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको उनले बताए । रोजगार शाखाले अन्य वडाका विकट क्षेत्रमा पुगेर निवेदन सङ्कलन गर्ने योजना बनाएको उनले बताए । 

चालु आर्थिक वर्ष २०८०/८१ का लागि बेरोजगार सूचीमा ७८२ जना सुचीकृत भएका थिए । सोमध्ये ७० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान गर्नका लागि बजेट प्राप्त भएको उनले बताए । आगामी आर्थिक वर्षमा बेरोजगार सूचीमा थप नागरिकलाई सूचिकृत गराउन रोजगार शाखा बस्ती बस्तीमा पुगेको उनको भनाइ छ ।