close

प्रधानाध्यापकले नै निर्घात विद्यार्थी कुट्ने गाउँपालिका बालमैत्री !

प्रधानाध्यापकले नै निर्घात विद्यार्थी कुट्ने गाउँपालिका बालमैत्री !

Trulli
ADVERTISEMENT

काठमाडौं- करिब २ महिनाअघि बालमैत्री घोषणा गरिएको झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा रहेको मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । 

कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटाले फेसबुकमा कमेन्ट गरेको निहुँमा प्रधानाध्यापक मोहन बगालेले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त भिडियोमा निर्जलाको पिडुँलामा निलडाम देखिन्छ ।

सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि गाउँपालिका प्रमुख, प्रधानाध्यापक बगाले, व्यवस्थापन समिति अध्यक्ष, बाल संगठनका प्रतिनिधिसहित बसेर घटनाबारे छलफल भएको पालिकाले जनाएको छ । 

घाईते विद्यार्थी बास्कोटाको अस्पतालमा उपचार गराइएको छ भने कुटपिटका सम्बन्धमा छानविन गर्न कमल गाउँपालिका ५ नं. वडा अध्यक्षको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । 

‘फेसबुकमा हेडसरलाई गाली गरेर लेखेको एउटा स्ट्याटस थियो । त्यसमा मैले थोरै भएन र रु भनेर कमेन्ट गरेकी थिएँ,’ भिडियोमा निर्जलाले भनेकी छन्, ‘त्यतिको आधारमा मंगलबार अफिसमा बोलाएर हेडसरले खानेपानीको नालाले खुट्टामा हान्नुभयो।’

प्रधानाध्यापक बगालेले भने विद्यार्थीलाई कारबाही स्वरूप सामान्य तरिकाले कुटेको भए पनि यो विषयलाई राजनीतिकरण गर्न खोजिएको बताए । 

दुई महिनाअघि बालमैत्री घोषणा गरिएको कमल गाउँपालिका कसरी बालमैत्री बन्यो भनेर निकै चासोका साथ हेरिएको छ । दातृनिकाय रिझाउन र जनप्रतिनिधिले काम देखाउन हतार हतार बालमैत्री घोषणा गरिएको सम्बन्धीत कर्मचारीहरु नै बताउँछन् ।