close

गाउँपालिकाबासीको रोजगारी सुनिश्चित गर्दै खप्तड छेडेदह

गाउँपालिकाबासीको रोजगारी सुनिश्चित गर्दै खप्तड छेडेदह

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिकाले स्थानीयलाई रोजगारी दिने अभियान चलाएको छ । गाउँपालिकाभरिका सबै घरधुरीका कम्तीमा १ जनाको बैंक खाता खोल्नुका साथै रोजगारी सुनिश्चित गर्ने भएको हो ।

 

पालिकाभित्रका ३ हजार २ सय ३४ घरधुरीका ९ हजार ४ सय ७६ जनाले बैँकमा खाता खोली सञ्चालनमा ल्याएपछि ‘एक घर एक बैंक खाता’ हुने नमुना गाउँपालिकाका रूपमा खप्तड छेडेदह उदाहरणीय बनिसकेको छ ।

 

सरकारले १ वैशाख २०७६ बाट खाता खोल्ने अभियान सुरु गरेकामा खप्तड छेडेदहले आर्थिक वर्ष २०७७ मा उक्त लक्ष्य पूरा गरेको अध्यक्ष नरबहादुर रावतले बताए ।

 

एक गाउँ एक उत्पादन, सीप सिकाएर एक घर एक रोजगारी सिर्जनालगायत कार्यक्रमको माध्यमबाट नागरिकको आयआर्जन बढाउने उनको भनाइ छ । गाउँपालिकाले अब सबै वडाका नागरिकलाई सामाजिक सुरक्षा भत्ता पनि बैंकमार्फत वितरण गर्ने योजना बनाएको छ ।
 

गौमूलमा युवा सम्मेलन

 

गौमूल गाउँपालिकाले युवाहरूलाई व्यावसायिक बनाउन युवा सम्मेलन आयोजना गरेको छ । ‘म युवा गौमूलको गौरव’ नारासहित गाउँपालिकाको केन्द्र घट्मुनामा ३ दिने युवा सम्मेलन आयोजना गरिएको हो ।

 

गाउँपालिकाले आयोजना गरेको सम्मेलनमा ६ वटै वडाका करिब २ सय बढी युवाको सहभागिता छ । युवालाई कर्मशील, सिर्जनशील, ऊर्जावान, भावी योजना बनाउन सक्ने र उनीहरूको वृत्ति विकासका लागि सम्मेलन आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रशाद भट्टले बताए ।


 
एसईईभन्दा माथि अध्ययन गर्ने युवामा रहेको गलत आनी-बानीलाई अन्त्य गर्ने उद्देश्यअनुसार युवा सम्मेलन गरिएको गौमूलका अध्यक्ष हरि रोकायाले जानकारी दिए ।


पालिकाका युवाको चाहना र उनीहरूको काम गर्ने हौसला बढाउन पालिकाको बजेट युवा केन्द्रित गरी समेट्ने लक्ष्यअनुरूप सम्मेलन आयोजना गरिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।

 

३ दिनसम्म सञ्चालन हुने सम्मेलनको प्रशिक्षण विज्ञ हिम्मतसिंह लेकाली र गणेश रावतले दिनेछन् ।
 
 
बूढीगंगामा कृषक पेन्सन कार्यक्रम

 

बाजुराको बूढीगंगा नगरपालिकामा कृषक पेन्सन कार्यक्रम सुुरु भएको छ । नगरपालिकाले कृषकलाई पेन्सन वितरण परिचयपत्र वितरण गरी कार्यक्रम सुरु गरेको बूढीगंगा नगरपालिका नगरप्रमुख दीपकविक्रम शाहले बताए । 

 

कृषि पेसा र पशुपालन व्यवसायमा लागेका ३७ जना कृषकलाई पहिलो चरणमा कृषक पेन्सन परिचयपत्र वितरण गरिएको हो । परिचयपत्र वितरणसँगै कृषकले अब मासिक १ हजार रुपैयाँका दरले रकम पाउनेछन् ।

 

यस्तो रकम बैंकमार्फत भुक्तानी गरिनेछ । कृषि पेसामा आकर्षणसँगै कृषकलाई प्रोत्साहनस्वरूप प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले नियमित पेन्सन दिइने नगरप्रमुख शाहले बताए ।


 
नगरपालिकाले गत वर्ष बनाएको कृषक पेन्सन कार्यक्रम कार्यविधि, २०७६ को मापदण्डमा रही २० जना कृृषि र १७ जना पशुपालन क्षेत्रका कृषक गरी ३७ जनालाई कृषक पेन्सन परिचयपत्र वितरण गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनले जानकारी दिए ।

 

कृषकले पेन्सन पाउन ३ रोपनी जमिनमा निरन्तर तरकारी खेती गरेको हुनुपर्ने, ४० वटा भेँडाबाख्रापालन गरेको हुनुपर्ने, १ हजार बोइल तथा लियर्स कुखुरा र २ सय स्थानीय जातका कुखुरा अनिवार्य पालेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । त्यस्तै, ५ वटा दुहुना गाईभैँसीपालन गरी बजारीकरण गरेकाले पनि पेन्सन पाउनेछन् । 

 

नगरपालिकाले कृषि र पशुपालन व्यवसायबाटै कृषकलाई आत्मनिर्भर बनाउन गरी कृषक पेन्सन कार्यक्रम ल्याएको हो ।


 
कृषक पेन्सन कार्यक्रममा प्रत्येक महिना कृषि र पशुपालन व्यवसायमा लागेका कृषक थपघट हुने सक्ने बताइएको छ । पेन्सन पाएका कृषकले व्यवसाय छाडेको हुन सक्ने र निरन्तरता दिए-नदिएको अनुगमन गरी मात्र प्रत्येक महिना पेन्सन दिइने नगरपालिकाले बताएको छ ।

 

नगरबासीलाई कृषि र पशुपालन क्षेत्रमा अग्रसर गरी आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको कृषि शाखा प्रमुख दीपक थापाले बताए ।

 

कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले यो देशमै नमुना र पहिलो कार्यक्रम रहेको दाबी गरे । ‘यसले कृषकलाई व्यावसायिक बनाउन र कृषि पेसाप्रति थप उत्प्रेरणा जागृत गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा छ’, जैशीले भने ।