close

वैदेशिक रोजगार त्यागेर कालिजपालन गरेपछिको खुसी 

वैदेशिक रोजगार त्यागेर कालिजपालन गरेपछिको खुसी 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरका एक युवा वैदेशिक रोजगारबाट फर्किएर कालिजपालनमा लागेका छन् । ३ वर्ष मलेसियामा रोजगार गरी स्वदेश फर्किएपछि व्यावसायिक कालिजपालनमा लागेका हुन् । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ५ भुल्केका चुडामणि हमालले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । 

 


भुल्केमा स्थानीय गोपाल कार्कीको २ बिघा जग्गा भाडा लिएर आनन्दराज कालिज तथा कृषि फार्म दर्ता गरी हमालले व्यावसायिक कालिज फार्म सञ्चालनमा ल्याएका हुन् ।

 

०७८ वैशाखबाट सुरु भएको कृषि फार्ममा पालिएका कालिजबाट आम्दानी लिँदै आएको उनले बताए । ०७२ मा मलेसियामा रोजगारमा गएका हमाल स्वेदशमै फर्किएपछि कालिजपालनलाई बढाउँदै लगेको बताउँछन् ।

 

मलेसियामा दैनिक १४ घन्टा काममा खटिनुपर्ने र काम गरेअनुसार पैसा नदिइने गरेको उनले बताए । दैनिक १४ घन्टासम्म उभिएर काम गर्दा स्वास्थ्यमा समस्या आएपछि स्वदेशमै फर्किएर कालिजपालन थालेको उनको भनाइ छ । अहिले उनी फार्ममा कालिजपालनदेखि ह्याचरीमार्फत बच्चा उत्पादन, कालिजकै परिकार पाइने कालिज रेस्टुरेन्ट सञ्चालन गर्ने तयारीमा जुटेका छन् ।

 

‘कालिज फार्मदेखि बच्चा उत्पादन गर्ने तयारीमा छौँ । अब कालिजको मात्र विभिन्न परिवार पाइने गरी रेस्टुरेन्ट खोल्ने तयारी भइरहेको छ’, उनले भने । अन्य व्यवसायभन्दा केही फरक गराँै भन्ने सोच र सानैदेखि कालिजप्रतिको आकर्षणले भुल्केमा २ बिघा जमिन भाडामा लिएर व्यावसायिक कालिजपालनमा लागेको हमालले बताए ।

 

‘वैदेशिक रोजगारीबाट कमाएर ल्याएको त्यही पैसा यता लगानी गरेँ,’ उनले भने, ‘वार्षिक ४० हजार रुपैयाँ बढी भाडा तिर्ने गरेको छु ।’ फार्ममा कालिजसँग, लोकल कुखुरा, बाख्रापालन र तरकारी उत्पादन पनि हुँदै आएको छ । फार्ममा उत्पादित कालिजले लागतअनुसार मूल्य दिइरहेको उनले बताए ।


फार्ममा उत्पादित कालिज कटारी, काठमाडौंलगायत बजारमा पठाइने गरेको हमालले सुनाए । फार्ममा २ जनाले रोजगारसमेत पाएका छन् । कालिजका लागि बर्सिम, जै, नेपियरलगायत घाँस खेतीसमेत गर्ने सोच रहेको उनले बताए । ‘कालिजले दानासँगै घाँस पनि खाने गर्छन् । त्यसका लागि घाँस खेती गर्ने योजना छ’, उनले भने । 


१५ लाख रुपैयाँ लगानीमा ३ सय ७५ कालिजको बच्चा पालेर थालेको व्यवसाय अहिले फस्टाउँदै मात्र गएको छैन, अन्य व्यवसायसमेत थप्दै गएका छन् । फार्ममा कालिजका बच्चा उत्पादनका लागि ह्याचरी मेसिनसँगै लोकल कुखुरा, बाख्रापालन, ड्रागन र तरकारी खेती गर्ने तयारीमा रहेको उनले बताए ।


व्यवसाय सुरु गर्दा कालिजको बच्चा १ हजार रुपैयाँमा खरिद गरेर ल्याएको उनले सुनाए । वैदेशिक रोजगारबाट फर्किएपछि हमालले ०७६ मा काठमाडौंको थानकोटमा व्यावसायिक लोकल कुखुरापालन गरे । लामो समय लोकल कुखुरापालन गरेको अनुभवको आधारमा कालिजपालनमा लागेको उनको भनाइ छ । लोकल कुखुरा बिक्रीमा समस्या हुने र दाना बढी लाग्ने भएकाले सोचेअनुसार सफल नभएपछि कालिजपालनमा लागेको उनले बताए ।


कालिजपालनबारे युट्युबमा हेरेर सिकेको हमाल सुनाउँछन् । कालिजको बच्चा बुटवलमा प्रतिगोटा ८ सय र ढुवानी भाडा २ सय गरी प्रतिगोटा १ हजार रुपैयाँमा खरिद गरेको उनले बताए । कालिजलाई ६० प्रतिशत दाना र ४० प्रतिशत घाँस दिनुपर्छ । कालिजलाई जुनसुकै मौसममा पनि पाल्न सकिन्छ ।


उनको फार्मबाट जिउँदो कालिज प्रतिपिस ३ हजार रुपैयाँमा बिक्री हुँदै आएको छ । काठमाडौं, बुटवललगायत सहरमा कालिज प्रतिपिस ३ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्म बिक्री हुने गरे पनि आफूले ३ हजार रुपैयाँ प्रतिपिसमै बिक्री गरिरहेको हमालले जानकारी दिए ।