close

भरतपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

भरतपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

Trulli
ADVERTISEMENT

चितवन। भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ ।
 
कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजगारी पाएका छन् । १८ जनालाई कामका लागि निजी क्षेत्रमा पठाइएको छ । पाँच जनाले ‘इन्टन’ गरिरहेका छन् । आउँदो वर्षका लागि आठ सय ९० जनाले महानगरको प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिइसकेका छन् ।
रोजगार संयोजक सन्देश वाग्लेका अनुसार नगर परिषद्ले यसवर्ष आठ  वडा छनोट गरेको थियो । गतवर्ष पाँच सय ९० जनाले आवेदन दिएका थिए । 

ती वडामा ७४ जनाले रोजगारी पाएको उनले जानकारी दिए। तीमध्ये पाँचवटा वडामा काम भइरहेको छ, भने दुई वटा वडामा कामदार छनोट भएर कामको तयारी भइरहेको छ । यसवर्ष रु ४४ लाख ८६ हजार मात्रै बजेट प्राप्त भएकाले सबैले रोजगारी नपाएका हुन् । यस कार्यक्रम अन्तर्गत सार्वजनिकस्थलका रुखमा रङगरोगन गर्ने, कुलो सफा गर्ने, झाडी फाँड्ने, खानेपानी पाइपलाईन विस्तार गर्ने, पार्क, विद्यालय, मन्दिर, ताल सरसफाइ गर्ने, गोरेटो बाटो निर्माण गर्ने जस्ता काम भइरहेका छन् । कामदारले दैनिक रु छ सय १२ पाउने छन् । छनोट भएकालाई एक सय दिन काम उपलब्ध गराइने छ ।
 
वडा कार्यालयले कामको छनोट गरी सिफारिस गरे अनुसार काम गराइदै आएको छ । ती कामदारलाई बुट, पञ्जा, हेल्मेट, कपडा जस्ता सामग्री महानगरपालिकाले उपलब्ध गराएको छ । वाग्लेले सूचीकृत भएका कामदारलाई सरकारी र निजी क्षेत्रमा कामका लागि पठाउने गरी संयोजनको काम गरिरहेको बताए। यस वर्ष हालसम्म १८ जनालाई निजी विद्यालय, क्याम्पस, शैक्षिक परामर्श केन्द्र, अटो पसल, होटल, उद्योग लगायतमा पठाइसकिएको छ ।
 
नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा सहकार्य गरेर पाँच जनालाई इन्टन गर्न पठाइएको उनले बताए। उद्योग सङ्घ चितवनसँग सहकार्य गरेर रोजगार पोर्टल सञ्चालन ल्याउन लागिएको छ । यससँगै कामदार र रोजगारदाता कम्पनीलाई एकआपसमा जोडेर रोजगार दिइने छ । यसै कार्यालयले श्रम स्वीकृतिको कामसमेत गरेको छ ।
     विसं २०७५ बाट यो कार्यक्रम सुरु भएको हो । गत वर्ष ८५ जनालाई रोजगारी दिइएको थियो । महानगर प्रमुख रेनु दाहालले महानगरभित्र बसोबास गर्ने बेरोजगारको पहिचान गरी उनीहरुलाई रोजगारसँग जोड्ने यो कार्यक्रम पहिलेभन्दा प्रभावकारी हुँदै गएको बताइन्। उनले महानगरको सौन्दर्यकरण र विकास निर्माणलाई यस कार्यक्रमसँग जोडेर लैजाने तयारी गरिएको बताइन्। जति गर्नपर्ने हो गर्न नसकिएको भन्दै आगामी दिनमा कार्यक्रम थप प्रभावकारी बनाइने बताइन्।

स्थानीय समाजसेवी धर्म कार्कीले बेरोजगार भएर हातमुख जोर्न नसकेकाहरुले काम पाएसँगै उनीहरुको जीविकोपार्जनमा सहयोग पुगेको बताए । देशमै विकासको नमुना काम भइरहेको भरतपुर महानगरका बासिन्दा बेरोजगार हुन नपर्नेगरी महानगरले काम अघि बढाएको जनाउँदै उनले सबैले सहयोग गरेर कार्यक्रम सफल बनाउनु पर्ने बताए।