close

सियारीले ल्यायाे राेजगार रणनीति

सियारीले ल्यायाे राेजगार रणनीति

Trulli
ADVERTISEMENT

 रुपन्देही । सियारी गाउँपालिकाले रोजगार रणनीति तयार गरेको छ । आर्थिक बर्ष २०८१/०८१ देखि २०८४/०८५ सम्ममा श्रम तथा रोजगारीका क्षेत्रमा गरिने कामलाई आधार बनाएर रोजगार रणनीति बनाएको हो । 

नेपाल सरकारको निर्देशन बमोजिम सियारीले रोजगार रणनीति बनाएको हो । सियारी, रोजगार रणनीति बनाउने लुम्बिनी प्रदेश सरकारको पहिलो पालिका हो । 

पालिकाले अन्तिम मस्यौदा प्रतिवेदन सम्बन्धी छलफल गर्दै रोजगार रणनीतिलाई पुर्णता दिएर कार्यान्वयनका लागि अगाडि बढाईएको रोजगार संयोजक श्रृजना भुषालले जानकारी दिईन् । उनले आन्तरिक रुपमा रोजगारी प्रबद्धन गर्न,  क्षेत्र पहिचान गर्न तथा एकीकृत सेवा केन्द्र निर्माण गर्न रोजगार रणनीतिले महत्वपुर्ण सहयोग गर्ने उल्लेख गरिन् ।

सियारीले सिपमुलक दक्ष श्रमशक्तिको विकास दिगो र समाबेशी रोजगारीको आधार भन्ने सोचका साथ तयार गरिएको रणनीतिमा सबैखाले श्रम विभेदको अन्त्य गर्दै सिपयुक्त व्यवसायिक जनशक्तिको विकासमार्फत रोजगारी र स्वरोजगारी प्रबद्धन गर्ने लक्ष्य लिएको छ ।

 गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले रोजगारीको हकलाई कार्यान्वयन गर्ने तथा आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्धेश्य अनुरुप रोजगार रणनीति बनाईएको बताए । अध्यक्ष घिमिरेले अनौपचारिक रोजगारीका क्षेत्रलाई औपचारिकतामा रुपान्तरण गर्ने, गाउँपालिका भित्रका रोजगारदाताहरुसंग समन्वय गरी रोजगारदाताबाट माग भए बमोजिम सुचिकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्नका लागि राणनीति फलदायि बन्ने उल्लेख गरे । 

गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले सियारीमा रहेका अनौपचारिक रोजगारकर्मीलाई औपचारिक रोजगारकर्मीको रुपमा स्थापित गर्नका लागि रणनीतिले महत्वपुर्ण भुमिका खेल्ने बताईन् । उनले आगामि दिनमा सियारीमा रहेका बेरोजगार युवालाई रोजगारीमा समाबेश गराई सियारीलाई बेरोजगारमुक्त पालिका बनाउन लागि परेको बताईन् ।


 गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सियारी भित्र अहिले करिब ३ हजारको औपचारिक रुपमा रोजगारीमा रहेका र ६ हजारको हाराहारीमा अनौपचारिक रोजगारीमा रहेको बताए । उनले अनौपचारिक रोजगारीमा रहेका युवाहरुको तथ्याङक संकलन गरी उनीहरुलाई पनि औपचारिक रोजगारीमा समाबेश गरी राज्यले तोकेको सेवा सुबिधा भित्र राख्न पहल गरिएको बताए ।

सियारीले रोजगारीको हकलाई कार्यान्वयन गर्दै आन्तरिक रोजगारीको प्रबद्धन पनि गर्दै जाने गरी रणनीतिलाई कार्यान्वयन गर्न लागिएको जनाएको छ । सियारीमा रहेको रोजगार सेवा केन्द्रले सुचिकृत बेरोजगार युवालाई रोजगारीमा लगाउने, रोजगारीका क्षेत्रको पहिचान गर्ने, अनौपचारिक रोजगारकर्मीलाई औपचारिक रोजगारीमा रुपान्तरण गर्ने लगायतका काम गरेको छ ।