close

वैदेशिक रोजगारीका लागि गौशालामा सहकारी संस्था

वैदेशिक रोजगारीका लागि गौशालामा सहकारी संस्था

Trulli
ADVERTISEMENT

महोत्तरी- गौशाला नगरपालिकाले सहकारी संस्था सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाले वैदेशिक रोजगारीमा गएका स्थानीयलाई लक्षित गरी सहकारी संस्था सञ्चालनमा ल्याउन लागेको हो । 

नगरपालिका प्रमुख डा. दिपेन्द्र महतोका अनुसार वैदेशिक रोजगारीमा जाने व्यक्तिले पछिल्लो समय धेरै दुःख पाएकोले पालिकाले सहकारी संस्था सञ्चालनमा ल्याउन लागेको हो । ‘वैदेशिक रोजगारीमा जाने व्यक्तिले पछिल्लो समय धेरै दुःख पाएका छन् । साेही दुःख कम गर्न पालिकाबाटै सेवा सुरु गर्न लागेका हौँ,’ उनले भने, ‘अब विदेशमा केही गयो भने काठमाडौंको मन्त्रालयमा धाउनु पर्दैन । यहीबाट समस्याकाे समाधान गर्न सक्नेछन् ।’

उनले वैदेशिक राेजगारीमा गएकै व्यक्तिहरुकै लगानीमा एउटा सहकारी संस्था खोलिने सुनाए । उनका अनुसार  नगरपालिकाले सहकारीको लागि कार्यालय तथा आवश्यक सामग्रीको व्यवस्थापन गरिदिने छ । सहकारी संस्थाको लागि आवश्यक कानुन पालिकाले बनाएर निमयन गरिने तर लगानी तथा नाफा समितिले लिने  उनले बताए । 

‘पालिकाले आवश्यक कानुन बनाएर नियमन गर्ने छ । लगानी र नाफाको लागि सञ्चालक समिति गठन गरिने छ,’ उनले भने, ‘सो व्यवस्थापन पालिकाले समितिलाई हस्तान्तरण गरिने छ । उनीहरुले सहकारीको नाफा लिनेछन् ।’

उनले घर जग्गा नभएको मान्छेले सोही संस्थामा निवेदन दिएर २४ घण्टाभित्र साढे ५ लाखसम्म ऋण लिन सक्ने पालिकाखबरलाई बताए । सहकारी स्थापना भएसँगै मिटरव्याजीको समस्या हट्ने विश्वास उनको छ ।

निर्वाचित भएकाे समयमै वैदेशिक रोजगारीमा गएका परिवारलाई सुरक्षित रुपमा राख्ने प्रतिबद्धता जनाएको उनले बताए । सो प्रतिबद्धता पुरा गर्न सहकारी संस्था ल्याउन लागेको बताए । सहकारीबाटै वैदेशिक रोजगारीको रकम सुरक्षित र व्यवस्थित हुने उनकाे भनाइ छ । 

सहकारी संस्था सञ्चालनका लागि नगरपालिकाले नगरसभाबाट ‘आप्रवासी बहुद्देश्यीय सहकारी गौशाला कार्यविधि’ ल्याएको उनले बताए । नगरपालिकाले श्रम शाखा र सहकारी संस्थाको कार्यालय स्थापना गर्नको लागि चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेकाे उनले बताए । सहकारीकाे कार्यालय नगरपालिकाको परिसरभित्र नै रहने उनले सुनाए ।