close

विद्युत्गृह बिग्रिएपछि गुठीचौरका चार घरगाउँ अन्धकार

विद्युत्गृह बिग्रिएपछि गुठीचौरका चार घरगाउँ अन्धकार

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ५ कुम्डीमा रहेको नौमूले लघु जलविद्युत् आयोजनाको विद्युत्गृहमा समस्या आउँदा चार वटा गाउँ अन्धकार भएका छन् । मंगलबार दिउँसो साढे १ बजेदेखि विद्युत्गृहमा समस्या आएको हो ।


नौमूले लघु जलविद्युत्गृहमा जडान गरिएको फित्ता चुँडिएपछि समस्या आएको व्यवस्थापक गणेशराज गिरीले जानकारी दिए । मंगलबारबाट उपभोक्ता अध्याँरोमा बस्न बाध्य छन् । गुठीचौर गाउँपालिका वडा नम्बर ५ भित्रका कुम्डी, फोई, देपाल र धिता गाउँका नागरिक अध्याँरोमा बस्न बाध्य भएका हुन् ।

 

विद्युत् नियमित हुन अझै १ साता लाग्ने उनले बताए । ‘फित्ता ल्याउन पहल भइरहेको छ’, उनले भने, ‘विद्युत्को फित्ता आउनेबित्तिकै सुरु भइहाल्छ ।’ गुठीचौरभित्रका करिब ५५० घरधुरीका उपभोक्ता विद्युत्बाट लाभान्वित हुँदै आएका थिए । तर, केही दिनयतादेखि उपभोक्ताले वैकल्पिक सोलार, टुकीमारा र वनजंगलमा पाइने झर्रो बालेर उज्यालोको व्यवस्थापन गरिरहेका छन् ।


फित्ता भारतबाट आउने भएकाले १ सातासम्म विद्युत् अवरोध हुने व्यवस्थापक गिरी बताउँछन् । विद्युत् अवरोध भएपछि स्थानीयलाई मोबाइल चार्ज गर्न, विद्यार्थीलाई पढ्न, सरकारी कार्यालय, गैरसरकारी निकायका कामकाज प्रभावित भएका छन् । सबैभन्दा बढी असर विद्यार्थी र रेडियो एफएमलाई परेको छ । नौमूले लघु जलविद्युत् आयोजना २०६९ मा सञ्चालनमा ल्याइएको हो ।


७६ किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएपछि गुठीचौर वडा नम्बर ५ कुम्डी, फोई, देपालगाउँ र धिताको गाउँबस्तीलाई सहज भएको थियो । त्रिभुवन माध्यमिक विद्यालयका लेखापाल राजेन्द्र भण्डारीले विद्युत् अवरोध हुँदा विद्यार्थीलाई समस्या भइरहेको बताए । सोही विद्यालयमा अध्ययनरत विद्यार्थी देवीलाल भण्डारीले बिहान, बेलुकी पढाइमा बाधा परिरहेको सुनाए ।