close

बाढीले जुम्लाका १० साना जलविद्युत् आयोजनामा क्षति 

बाढीले जुम्लाका १० साना जलविद्युत् आयोजनामा क्षति 

Trulli
ADVERTISEMENT

जुम्ला– कात्तिक पहिलो साताको बेमौसमी वर्षाका कारण आएको बाढीले जुम्लाका १० साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीले तातोपानी गाउँपालिका र तिला गाउँपालिकामा रहेका साना जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको हो । 


तातोपानी वडा नम्बर ४ स्थित साना दियार लघु जलविद्युत् आयोजनाको इन्टेक र ३ सय मिटर नहर बगाएपछि क्षति पुगेको छ । क्षति लागत अनुमान २५ लाख रुपैयाँ गरिएको आयोजनाले बताएको छ ।


यस्तै, ४ नम्बर वडाकै जाल्पादेवी लघु जलविद्युत् आयोजनाको विद्युत्गृह रहेको स्थानमा कटान गरेको छ । १५ लाख रुपैयाँ क्षति अनुमान गरिएको आयोजना उपभोक्ता समिति अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए । 


सोही गाउँपालिका वडा नम्बर ८ घट्टेखोला लघु जलविद्युत् आयोजनाको विद्युत्गृह र २ सय मिटर नगरमा बाढीले ६० लाख रुपैयाँ बराबरको क्षति गरेको छ ।इमिल्चा लघु जलविद्युत् आयोजनाको विद्युत्गृह र २ सय मिटर नहर बाढीले बगाउँदा ४० लाख रुपैयाँ बराबर क्षति भएको विद्युत् प्राधिकरण जुम्लाले जिल्ला विपद् व्यवस्थापन समितिमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।


सोही गाउँपालिका वडा नम्बर ७ स्थित दारिम टाकुला जलविद्युत् आयोजनामा ४० लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको प्रतिवेदनमा जनाइएको छ । यस्तै, तिला गाउँपालिका वडा नम्बर ४ स्थित सापुल्ली लघु जलविद्युत् आयोजानको बाढीले विद्युत्गृह र नहरमा बाढी पसेपछि ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

 

सोही वडाको नुवाकोट लघु जलविद्युत् र नाड्खखोला लघु जलविद्युत् आयोजनाको विद्युत्गृहमा बाढी पस्दा झन्डै ८० लाख रुपैयाँ बढीको क्षति अनुमान गरिएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ३ स्थित घुघुत्ती जलविद्युत् आयोजनाको बाढीले नहरमा क्षति पुर्‍याउँदा १० लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको विद्युत् प्राधिकरण जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।


हिमा गाउँपालिका वडा नम्बर ६ स्थित खागलखोला जलविद्युत् आयोजनाको बाँध, नहर र विद्युत्गृहमा बाढी पसेपछि ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्राधिकरण जुम्लाका प्रमुख रावलले भने, ‘बाढीले क्षतिग्रस्त विद्युत् आयोजना पुनर्निर्माण गर्नुभन्दा बजेट व्यवस्थापन गरी गाउँ–गाउँमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जडान गर्न आवश्यक छ । यसका लागि प्राधिकरणको कर्णाली प्रदेश कार्यालयमा पहल पनि गरेका छौँ ।’ 

 

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईँका अनुसार बाढीले क्षति पुर्‍याएका विद्युत् आयोजनाको सबै विवरण कर्णाली प्रदेश र संघीय सरकारको गृह मन्त्रालयमा पठाइएको छ । प्रजिअ प्रसाईंले भनिन्, ‘जिल्लामा गर्ने सकिने काम गरेका छौँ । केन्द्रमा पठाएको विवरणअनुसार राहत तथा क्षतिपूर्ति आएपछि वितरण गर्नेछौँ ।’ 

 

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले बाढी प्रभावित क्षेत्र पहिचान गरी विषयगत कार्यालयलाई काम अगाडि बढाउन निर्देशन दिएका छन् ।