close

राष्ट्रिय प्रसारण लाइनमा जोडियो मार्तडी 

राष्ट्रिय प्रसारण लाइनमा जोडियो मार्तडी 

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुरा सदरमुकाम मार्तडी राष्ट्रिय प्रसारण लाइनको बिजुलीमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडेको हो । नागरिक समाजले गरेको लगातार ३ दिनको आन्दोलन र कार्यालयमा तालबन्दीपछि सदरमुकाममा विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरेको हो । दैनिक ६ देखि १० घन्टाको लोडसेडिङको मार खेप्दै आएका सदरमुकामबासीले प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएपछि सुबिस्ता पाउनेछन् ।

 

सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा सञ्चालन हुने गरी विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडिएको विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका प्रमुख ललितकुमार मण्डलले बताए । ७ माघदेखि जडान सुरु गरिएको लाइन १० माघ साझँबाट नियमित दिन सकिएको कार्यालय प्रमुख मण्डलको भनाइ छ ।

 


०४६ मा स्थापना भएको बाजुरा साना जलविद्युत केन्द्र ०६६ बाट त्रिवेणी सहकारीले २० वर्षका लागि लिज सम्झौता गरेर सञ्चालन गर्दै आएको थियो । २ सय किलोवाट उत्पादन क्षमताको विद्युत्ले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिकजसो लोडसेडिङ गर्दै आएको थियो । राष्ट्रिय प्रसारण लाइन सोमबारबाट सदरमुकाम मार्तडीमा जडान गरिएको हो ।

 

मण्डलका अनुसार सदरमुकाम मार्तडीलाई लक्षित गरेर सोमबारबाट पहिलो पटक मार्तडीमा ११ हजार भोल्टेजको लाइन जडान गरिएको छ । बाजुरा सबस्टेसन नभएसम्म ११ हजार भोल्टेजको लाइनबाट सेवा दिइने र सबस्टेसन निर्माणपछि ३३ केभीको लाइन दिन सकिने वितरण केन्द्र प्रमुख मण्डलले जानकारी दिए ।


बाजुरामा सबस्टेसन बन्दै गरेको र ११ हजार भोल्टेजले नै सेवा दिन थालिएको प्रमुख मण्डलले बताए । सदरमुकाम मार्तडीमा विद्युत् आपूर्ति माग गर्दै नागरिक समाज बाजुराले ३ दिनसम्म आन्दोलन गरेको थियो ।