close

चकडस्टरको सपना त्यागेर तालाचाबी मास्टर

चकडस्टरको सपना त्यागेर तालाचाबी मास्टर

Trulli
ADVERTISEMENT

सुनसरी - ‘की मास्टर’ अर्थात् तालाचाबीका गुरु । इटहरीमा ‘की मास्टर’को नामले प्रख्यात भीम थापाले साइकलदेखि बडेमाका बस/ट्रकका डुप्लिकेट साचो बनाउँछन् । हजारौं तालाचाबी बनाएका थापा ‘की मास्टर’ को नामले परिचित छन्, यो क्षेत्रमा । 


इटहरीको केन्द्रमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरको गल्लीमा सानो सटरबाट बस/ट्रक, मोटरसाइकलसम्मका तालाचाबी बनाइरहेका हुन्छन्, की मास्टरले । साँघुरो गल्लीमा रहेको ‘की हाउस’ बाट अपूरो यात्रालाई पूरा गरिदिएका छन्, थापाले । गन्तव्यमा पुग्न नसक्नेलाई तालाचाबीले बाटो देखाइदिएका छन् ।


चाबी हराएर अभर परेका धेरै सवारी चालकलाई सहज बनाइदिएका छन् उनले । लकडाउनको समय पनि धेरै सवारीको तालाचाबी बनाउन भ्याएको उनले सुनाए । 


धनकुटाको फलाटे जन्मिएका उनी एसएलसीपछि उच्च शिक्षाका लागि काठमाडौं हानिए । ‘बाआमाले शिक्षक बन्ने गरी पढ्नू भनेर काठमाडौं पठाए ।  ‘यहाँ बस्न-खान नसकेपछि केही त गर्नैैपर्ने भयो । त्यसै क्रममा साथीभाइसँग मिलेर काम खोज्न थालें । पुतलीसडकमा रहेको चाबी बनाउने ठाउँमा काम पाएँ’, थापा विगत स्मरण गर्छन् ।

 

सुरु महिना तलब नपाउने गरी सुरु गरेको कामलाई पछि मासिक २५ सय रुपैयाँ दिने सर्तमा निरन्तरता दिएको उनी सुनाउँछन् । सोही पसलमा ५ वर्षसम्म काम गरेपछि अन्तिम समय तलब ८ हजार पुगेको उनले बताए । 


‘५ वर्षपछि घर फर्किएँ । शिक्षक बन्ने यात्रा अधुरो रहे पनि तालाचाबीलाई आर्थिक स्रोत बनाइरहेको छु । पढाइ पूरा नभएपछि तालाचाबीलाई जागिर मानेर काम गरिरहेको छु’, थापाले भने ।


इटहरीमा सवारी चाप बढ्दै थियो । २०६८ मा उनी इटहरी आए । अहिले पसल भएकै ठाउँमा सटर बन्दोबस्त गरे । त्यो बेला त्यति भीडभाड पनि थिएन । १ हजारमा सटर पाएपछि पसलको नाम राखे ‘कि हाउस’ । 


सुरु-सुरुमा धेरै सेवाग्राही नआएको सम्झदै उनी भन्छन्, ‘नचल्ने भयोजस्तो लागेको थियो । तर, १ वर्षसम्म धैर्य गरेपछि विस्तारै पसलमा थामिनसक्नुको भीड बढ्न थाल्यो । अहिले दैनिक ५ देखि १५ वटा सम्म बाइकको चाबी बनाउनुपर्छ ।’


पसलमा सुरुमा २ लाख रुपैयाँ लगानी गरेको उनी सुनाउँछन् । माग बढ्दै गएपछि लगानी पनि बढाउँदै गएको उनले बताए । ‘पसलमा अहिलेसम्म ८ लाख लगानी गरिसकें । सुरुमा १० हजार कमाउन गाह्रो पथ्र्यो तर अहिले मासिक ७० हजार बढी कमाइ हुने गरेको छ’, थापा खुसी हुँदै भन्छन् । 


बाइक, कारदेखि घरको सोकेससम्मको कपी चाबी बनाउँछन्, उनी । प्रदेश १ भरमा सबै खाले चाबी बनाउने आफू मात्र रहेको उनको दाबी छ । इलामदेखि संखुवासभासम्म पुगेर काम गरिसकेको उनी बताउँछन् । ‘कुनै दिन त खाना खाने फुर्सद मिल्दैन,’ उनी भन्छन्, ‘टाढा-टाढाबाट फोन गरेर बोलाउँछन्, जानैपर्‍यो ।’ 


अहिले ३ लाख पर्ने २ चाबी काट्ने मेसिन खरिद गरेर व्यवसाय फैलाएको उनले बताए । पहिला हातले गर्ने काम अहिले मेसिनबाटै गर्न थालेको बताउने थापा भन्छन्, ‘पसलमै बाइक ल्याउँदा १ सय ५० र बाहिर जाँदा दूरीअनुसार ५ सय देखि १५ हजारसम्म शुल्क लिने गरेको छु ।’


तालाचाबीको व्यवसाय विस्तारका ल ागि अब कर्मचारी थप्ने योजना रहेको उनले जानकारी दिए । केही युवालाई सीप सिकाएर रोजगारी दिने योजनामा छन्, उनी । ‘इटहरीबाहेक अन्य सहरमा पनि शाखा खोल्ने र सेवा विस्तार गर्ने सोच छ’, थापाले भने ।