close

मानो रोपेर मुरी उब्जाउने सपना बुन्दै किसान

मानो रोपेर मुरी उब्जाउने सपना बुन्दै किसान

Trulli
ADVERTISEMENT

अछाम- यतिबेला कोरोना महामारीले पूरै देशलाई लपेटेको छ । सहरबजार सुनसान भए पनि गाउँघरमा चहलपहल उस्तै छ । खेतीपातीको समय भएकाले पनि घरगाउँमा चहलपहल बढेको छ । हिउँदे खेती भित्रयाएका किसान अहिले रोपाइँ गर्न व्यस्त छन् ।

 

वैशाख अन्तिम साताबाटै अछाममा रोपाइँको चटारो सुरु भएको हो । अहिले अछामका किसानलाई मानो रोपेर मुरी उब्जाउन भ्याइ-नभ्याइ छ । सिँचाई सुविधा पुगेका खेतमा वैशाख अन्तिमबाट रोपाइँ सुरु भइरहेको छ । यो वर्ष वैशाखमा पर्याप्त पानी परेकाले पनि सिँचाइ पुगेका खेतमा रोपाइँ गर्न किसानलाई सहज भएको छ ।

 

अछामको साँफेबगर, बूढीगंगा, कैलाशखोलालगायत सिँचाइ सुविधा पुगेका ठाउँमा वैशाख अन्तिमबाटै रोपाइँ सुरु भएको हो । साँफेबगर र आसपासका क्षेत्रमा बूढीगंगा नदी तथा प्रभालीगाडको पानीबाट सिँचाइ सुविधा भएकाले हरेक वर्ष वैशाख अन्तिमबाट धान रोपाइँ सुरु हुने गर्दछ ।

 

साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौंमा सिँचाइ पुगेको बूढीगंगाको किनारमा रहेको खेतमा लगभग रोपाइँ अन्तिम चरणमा पुगेको स्थानीय उमेश कुँवरले बताए । ‘रोपाइँको समय यस पटक पानी परेपछि सहज भएको छ । विगत वर्षभन्दा यो वर्ष अलि चाँडै धान रोपेर सकिने स्थिति छ,’ उनले भने ।

 

चैतमै धानको बेर्ना राखेर वैशाख अन्तिमबाट धान रोप्न सुरु हुने यस क्षेत्रमा यो वर्ष खडेरी नपरेकाले बेर्ना जोगाउन र रोपाइँ गर्न मुस्किल नभएको किसान बताउँछन् ।

 

घरमा काम गर्ने मान्छे नभएकाले यतिबेला रोपाइँ गरेर कतिपय महिलालाई आम्दानी गर्ने स्रोत पनि बनेको छ । दिनभर रोपाइँ गरेबापत ३ देखि ४ सय रुपैयाँ लिने गरेको साँफेबगर नगरपालिका वडा नम्बर ३ की पवित्रा विकले बताइन् ।

 

कृषि ज्ञान केन्द्रका अनुसार अछाममा करिब साढे १६ हजार हेक्टरमा धान खेती गरिन्छ । जिल्लाको कुल खेतीयोग्य जमिन ५६ हजार ३४७ हेक्टर रहेकामा ४२ हजार ४१३ हेक्टरमा अन्नबाली लगाउने गरिन्छ ।