close

माई नगरको क्वारेन्टाइन निर्माण खर्च  १५ लाख

माई नगरको क्वारेन्टाइन निर्माण खर्च  १५ लाख

Trulli
ADVERTISEMENT

इलाम - माई नगरपालिकाले निर्माण सुरु गरेको क्वारेन्टाइन व्यवस्थापनका १५ लाख खर्च लाग्ने भएको छ । क्वारेन्टाइनमा भौतिक संरचना निर्माण, पिउनेपानी र शौचालय व्यवस्थापनमा उक्त खर्च लाग्ने भएको हो ।  


नगरपालिकाले स्थानीय शुक्रबारे बजार नजिकैको तत्कालीन माओवादी लडाकु राखिएको शिविर क्षेत्रमा क्वारेन्टाइन निर्माण गर्न लागेको हो । 


लामो समयदेखि प्रयोगविहीन अवस्थाको भवनको पुनर्निर्माण र मर्मत खर्चका लागि उक्त रकम लाग्ने अनुमान गरिएको नगरपालिकाको स्वाथ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी गराए ।


यसअघि गरुवा माध्यमिक विद्यालयको हाताभित्र क्वारेन्टाइन राखिएको थियो । विद्यालयमा नगरपालिकाले अस्पताल निर्माण गर्ने भएपछि क्वारेन्टाइन सार्न लागिएको हो । 


‘क्वारेन्टाइनमा अहिले सरसफाइ, पुराना भवनको मर्मत, सौचालय, खानेपानीलगायतको व्यवस्थापन भइरहेको छ’, नगरपालिकाका सूचना अधिकारी गोविन्दराज बास्तोलाले भने । 


क्वारेन्टाइनमा नगरपालिका बाहिरबाट आउनेका लागि ६५ शैया तयारी अवस्थामा राखिनेछ । आवश्यकताअनुसार शैया थपेर १ सय पु¥याउन सकिने नगरपालिकाले जनाएको छ । 


नगरपालिकाको क्वारेन्टाइनमा अहिलेसम्म २ सय ७९ जना बसेका छन् । ३ सय  सय ९३ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा ३ सय ८८ को नेगेटिभ र ५ जनको पोजेटिभ पुष्टि भएको छ । परीक्षणका क्रममा पोजेटिभ देखिएका सबै  उपचारपछि घर फर्किएका छन् । 

 

शिक्षकले दिए नगरपालिकालाई ९ लाख 


माई नगरपालिकालाई स्थानीय शिक्षकहरूले ९ लाख ३४ हजार सहयोग गर्ने भएका छन् । उनीहरूले नगरपालिकालाई कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग गरेका हुन् । 


नगरपालिकाभित्रका विद्यालयमा अध्यापन गराउने २ सय ३१ शिक्षक-शिक्षिकाले १ महिनाको तलबको १० प्रतिशत र विद्यालय कर्मचारीले १ दिनको खर्च सहयोग गरेको शिक्षक खेम आङ्बोले जानकारी दिए । 


शिक्षक तथा कर्मचारीको रकम नगरपालिकाको शिक्षा शाखामार्फत विपद् व्यवस्थापन कोषमा जम्मा गरेर क्वारेन्टाइन निर्माणमा खर्चिने योजना छ ।