close

तुलसीपुरमा पीसीआर मेसिन सञ्चालनदेखि विपन्न नागरिकको उपचारसम्म

तुलसीपुरमा पीसीआर मेसिन सञ्चालनदेखि विपन्न नागरिकको उपचारसम्म

Trulli
ADVERTISEMENT

दाङ - कोरोना संक्रमणको दर बढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिकाले कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिद गर्ने भएको छ । परीक्षणका लागि घोराहीसम्म जानुपर्ने बाध्यता रहेकामा अब तुलसीपुरमै परीक्षणको व्यवस्थापन गर्न लागिएको हो । 


‘कोरोना जाँच गर्नका लागि घोराहीसम्म जाँदा संक्रमण हुने र फैलिने त्रास रहने हुँदा आफ्नै पालिकामा नै पीसीआर मेसिन राखेर कोरोना जाँच गर्ने निर्णय गरिएको छ’, नगरप्रमुख घनश्याम पाण्डेले भने, ‘मेसिन सहयोगको प्रतिबद्धता आइसकेको छ । मेसिनलाई व्यवस्थापन र सञ्चालनका लागि हामी सबैको सहयोग लिनेछाै‌ ।’ 


यसैगरी कार्यपालिकाको बैठकले आईसीयू स्थापना गर्नेसमेत निर्णय गरेको छ । लक्षण देखिएका बिरामीको संख्या बढेसँगै आईसीयूको अभाव हुन सक्ने अवस्थालाई समयमै मध्यनजर गरेर स्थापना गर्न लागिएको नगरप्रमुख पाण्डेले बताए । उनले तुलसीपुरको प्रादेशिक अस्पतालका साथै उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पतालमा गरेर छ बेडसम्मको आईसीयू स्थापना गर्न लागिएको बताए ।


आईसीयू स्थापनाका लागि उपमहानगरपालिकाले मेयर विपद् व्यवस्थापन कोषलाई परिचालन गर्ने निर्णय गरेको छ । ‘उपमहानगरपालिकाले केही रकम राखेर अन्य विभिन्न पक्षबाट सहयोग संकलन गर्दै तत्काल आईसीयू सञ्चालन गरिनेछ’, नगरप्रमुख पाण्डेले भने । उनले आईसीयू बेड सञ्चालनका लागि विभिन्न सरोकारवाला निकायसँग छलफल अगाडि बढाइएको समेत जानकारी दिए । 


‘विपद्को बेलामा नागरिकको जीउ-ज्यान जोगाउनु नै मुख्य दायित्व हो, त्यसैले हामीले आपूmलाई कोरोना प्रतिरक्षाका लागि विभिन्न कामहरूमा केन्द्रित गरेका छौँ’, पाण्डेले भने ।  


कोरोना संक्रमणमा परेर उपचार गराउन नसक्ने नागरिकको उपचारसमेत उपमहानगरपालिकाले गर्ने भएको छ । ‘लक्षण देखिएका विपन्न वर्गका बिरामीको कोरोना जाँचसमेत उपमहानगरपालिकाले गर्ने बैठकमा निर्णय भएको छ’, उनले भने ।


कोभिडको लक्षण देखिएका तर होम क्वारेन्टाइनमा बसेका संक्रमितहरूका लागि वडा अध्यक्षको संयोजकत्वमा अनुगमन समिति बनाइएको छ । स्वास्थ्यकर्मीसमेत समितिमा हुने भएकाले संक्रमितहरूको स्वास्थ्य अवस्था पनि बुझिनेछ उनको भनाइ छ । कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको लास व्यवस्थापनका लागि सम्बन्धित वडालाई जिम्मेवारी दिने निर्णयसमेत गरिएको छ ।