close

इलामका ९ स्थानीय तहले देखाएनन् कोरोनाको खर्च

समन्वय समिति भन्छ: १० पालिकाले साढे पाँच करोड सके, पालिकाको भने रेकर्डमै छैन

इलामका ९ स्थानीय तहले देखाएनन् कोरोनाको खर्च

समन्वय समिति भन्छ: १० पालिकाले साढे पाँच करोड सके, पालिकाको भने रेकर्डमै छैन

Trulli
ADVERTISEMENT

 

 


 

याम माबोहाङ लिम्बू
इलाम, २८ कात्तिक

इलामका स्थानीय सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि हालसम्म पाँच करोड ५१ लाख ९७ हजार ६ सय ९१ रुपैयाँ खर्च गरेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लाको दस वटै स्थानीय तहले गरेको यो खर्च गत १२ चैतदेखि असार मसान्तसम्मको हो ।


जिल्लाको चार नगरपालिकामा दुई करोड ७४ लाख ५१ हजार पाँच सय १३ खर्च भएको छ । ६ गाउँपालिकाले दुई लाख ७६ लाख ५६ हजार एक सय ७८ रुपैयाँ खर्च गरेको तथ्यांक छ ।

 

जिल्लाको सूर्योदय नगरपालिकाबाहेक कुनै पनि स्थानीय तहले पालिका स्तरमा सार्वजनिक नगरेको कोरोना भाइरस खर्च जिल्ला समन्वय समितिको समीक्षा बैठकमा प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।

९ स्थानीय तहले कोरोना नियन्त्रणमा गरेका काम र भएको खर्च विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।


गत १२ र १३ भदौमा भएको जिल्ला समन्वय समितिको समीक्षा बैठकमा प्रस्तुत तथ्यांकअनुसार कोभिड–१९ नियन्त्रणमा सबैभन्दा धेरै खर्च इलाम नगरपालिकाले गरेको छ । नगरपालिकाले ९३ लाख ५८ हजार ७ सय ५२ खर्च गरेको हो ।


नगरपालिकाले १२ वटै वडामा लकडाउनको समय समस्यामा परेका २५ सय घरपरिवारलाई ५६ लाख ८७ हजार एक सय ८३ रुपैयाँ बराबरको राहत वितरण गरेको छ ।


विपन्न तथा असंगठित नगरबासीलाई दैनिक उपभोग्य दाल, चामल, नुन, तेल, साबुन र चिनी वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी रामकुमार शाहले जानकारी दिए ।


यस्तै, माई नगरपालिकाले ४८ लाख ५० हजार खर्च गरेको छ । माईको खर्च चार नगरपालिकामध्ये सबैभन्दा कम रहेकोे छ ।


नगरपालिकाले कोरोनाले समस्यामा परेका २३ सय घरपरिवारलाई २५ लाख बराबरको राहत वितरण गरेको छ । विपन्न नगरबासीलाई दाल, चामल, तेल, नुन, साबुन र चिनी बाँडिएको थियो ।


सूर्योदय नगरपालिकाले ७५ लाख ६६ हजार सात सय आठ रुपैयाँ खर्च सार्वजनिक गरेको छ । नगरपालिकाले कोरोना नियन्त्रण गर्न सीमावर्ती पशुपतिनगरमा निगरानी र सचेतनाका काम चलाइरहेको छ ।


पशुपतिनगर नाकाबाट बाक्लो आउजाउ भएका कारण बढी जोखिममा रहेको नगरपालिकाले पशुपतिनगर, कर्फोक, कन्यामलगायत पाँच स्थानमा सात सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।


क्वारेन्टाइन व्यवस्थापन, नेपालका विभिन्न स्थान, भारत र अन्य देशबाट आएकाहरूको  उद्धारमा भएको खर्च सार्वजनिक गर्ने सूर्योदय जिल्लामै पहिलो नगर भएको छ ।


देउमाई नगरपालिकाले ५६ लाख ७६ हजार ५३ रुपैयाँ खर्च गरेको छ । क्वारेन्टिन निर्माण र व्यवस्थापनमा २२ लाख २९ हजार दुई सय ९४ खर्च गरेको  तथ्यांक छ ।नगरपालिकाले सबै वडामा २५ बेड, इन्टरनेटसहितको क्वारेन्टिन निर्माण गरेर सञ्चालन गरिरहेको बताएको छ  ।


६ पालिकामा पौने तीन करोड खर्च


इलामका ६ पालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा दुई करोड ७६ लाख ५६ हजार एक सय ७८ रुपैयाँ खर्च गरेका छन् ।  


गाउँपालिकामध्ये सबैभन्दा धेरै सन्दकपुरले खर्च गरेको छ । सन्दकपुरले ६१ लाख ९० हजार एक सय १३ रुपैयाँ खर्च गरेको जनाएको छ ।


लकडाउनका बेला अतिविपन्न एक सय ६३ घरपरिवारलाई राहत सहयोग गरेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । ‘विपन्न परिवारलाई चामल, नुन, तेल, चिनीलगायतको दैनिक खाद्य सामग्री वितरण गरेका छौं’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले भने ।


माङ्सेबुङले कोभिड–१९ नियन्त्रण शीर्षकमा ५८ लाख ४६ हजार ६ सय १६ खर्च गरेको छ ।


चुलाचुलीले ५४ लाख ४२ हजार खर्च गरेको जनाएको छ । लकडाउनका बेला एक हजार पाँच सय ३९ घरपरिवारलाई राहत वितरण गरिएको पालिकाले बताएको छ । राहत वितरणमा १८ लाख ४९ हजार ६ सय ७२ खर्च भएको छ ।


राहतमा प्रतिव्यक्ति पाँच केजीका दरले चामल दिइएको थियो । रोङ गाउँपालिकाले ४५ लाख ९८ हजार दुई सय ४० रुपैयाँ खर्च गरको तथ्यांक सार्वजनिक गरेको छ । यसमा अन्य खर्च विवरण भने उल्लेख छैन ।


माईजोगमाईले २८ लाख ९२ हजार ६ सय १० खर्च गरेको छ । महामारीको समय तीन सय ९ घरपरिवारलाई राहत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।


जिल्लाका ६ गाउँपालिकामध्ये कोरोना नियन्त्रणमा सबैभन्दा कम फाकफोकथुमले खर्च गरेको छ । गाउँपालिकाले २६ लाख ८६ हजार पाँच सय ४९ खर्च गरेको तथ्यांक छ ।


इलामामा बिहीबारसम्म ६ हजार ७२ जनाको परीक्षण गर्दा एक सय ६० जनाको कोरोना पोजेटिभ फेला परेका छन् । तीमध्ये एक सय ५२ उपचारपछि घर फर्केको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । तर, कति मृत्यु भयो, त्यसबारे कार्यालयले तथ्यांक सार्वजनिक गरेको छैन ।