close

बर्दघाटको चुरे बस्तीमा निःशुल्क आँखा शिविर

बर्दघाटको चुरे बस्तीमा निःशुल्क आँखा शिविर

Trulli
ADVERTISEMENT

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले चुरे पहाड इलाकाबासीलाई लक्षित गरेर आँखा शिविर सञ्चालन गरेको छ । साविक धुर्काेट गाविसबाट बर्दघाट नगरमा गाभिएका बस्तीलाई लक्षित गरेर बर्दघाट वडा नम्बर २ को आयोजनामा शुक्रवार आमवास गाउँमा आँखा शिविर चलाइएको हो ।

 

बर्दघाट वडा नम्बर २ मा साविक धुर्काेटका ७ र ८ वडा पर्छन् । ती क्षेत्रमा सुखौरा, संसारकोट, आमबाँस, बाँसखोला, बिहारी, तिल्केनी, चावचा, हुक्सेदमारलगायत बस्ती छन् ।

 

वडाध्यक्ष दया दर्लामी मगरको पहलमा शिविर आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा १ सय ६ जनाले सेवा लिएको चिसापानी अस्पतालका जनस्वास्थ्य निरीक्षक रमेश न्यौपानेले बताए । तीमध्ये ८ जनामा मोतियाबिन्दु र १ जनामा जलबिन्दु देखिएको थियो ।

 

शिविर उद्घाटन अवसरमा वडाध्यक्ष दर्लामीले वडा नम्बर २ को पहाडी क्षेत्रका नागरिकको स्वास्थ्यमा पहुँच नपुगिरहेको अवस्थामा आँखा शिविर सञ्चालन गरिएको जानकारी दिइन् ।

 

शिविरमा विनोद नीता कँडेल आँखा अस्पताल परासीका डा. चन्द्र रानाले सेवा दिएका थिए । दिव्यज्योति मावि चिसापानीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबोध जागृत बुढाथोकीले विकट स्थानका बासिन्दालाई आँखा परीक्षणका लागि शिविर सञ्चालन गर्नु सकारात्मक रहेको बताए ।


शिविरमा आँखाका समस्या भएकालाई नगरपालिका र वडा कार्यालयको सहयोग र समन्वयमा अप्रेसनको व्यवस्था मिलाइनेछ । शिविरमा निःशुल्क औषधीसमेत वितरण गरिएको थियो ।