close

स्तरोन्नति हुँदै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र 

स्तरोन्नति हुँदै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बूढीनन्दा नगरपालिकास्थित कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीको स्तरोन्नति हुने भएको छ । प्राथमिक स्थास्थ्य केन्द्र कोल्टीको स्तरोन्नतिका लागि बूढीनन्दा नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


प्राथमिक स्वास्थ्य केन्द्रलाई १० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने, नगरपालिकाभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाको गुणस्तर सुधार गर्दै सर्वसुलभ सेवा उपलब्ध गराउने, स्वास्थ्य संस्थाहरूमा थप सेवा-सुविधा विस्तार गर्दै जाने, स्वास्थ्य शिविर सञ्चालन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठामा अध्यापनरत विभिन्न संकायका विद्यार्थीलाई सामुदायिक स्तर तथा प्राविधिक अभ्यास क्षेत्र निर्धारण योजनामा बूढीनन्दालाई समावेश गर्नेलगायत ९ बुँदे सहमति भएको सूचना अधिकारी रामदत्त न्यौपानेले जानकारी दिए ।

 

बूढीनन्दाले गत १३ कात्तिकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीको व्यवस्थापनमा समस्या भएको औँल्याउँदै आवश्यक सहयोग गरिदिन नगरपालिकाले पत्र लेखेपछि तत्कालै २ जना चिकित्सकलाई प्राथमिक स्वास्थ्य केन्द्रमा कामकाजका लागि खटाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज काफ्लेले बताए ।
 

उपकुलपति डा. काफ्लेसहितको ६ सदस्यीय टोली कोल्टी पुगेको हो । टोलीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित निर्देशक डा. धर्मराज गोसाई, डा. राजन महासेठ, डा. सूर्यमान लिम्बू, प्राध्यापक दिनेश बाँस्तोला र कार्यकारी प्रमुख अमृतबहादुर भण्डारी थिए ।
 
बूढीनन्दाका नगरप्रमुख पदमकुमार गिरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्य र आवश्यक सहयोगका तयार रहेको बताए ।

 

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले बाजुराका ४ स्थानीय तहका साथै कर्णाली प्रदेशका हुम्ला, मुगु र कालीकोटका बिरामीको समेत उपचार गर्दै आएको छ ।

 

यस क्षेत्रसँग जोडिएका कर्णाली प्रदेशका स्थानीय तहको प्रमुख सेवा क्षेत्र भए पनि यहाँ स्वास्थ्यकर्मी अभाव र सामान्य स्वास्थ्य उपकरणको समेत प्रयोग हुन नसक्दा बिरामी थप मर्कामा पर्ने गरेका छन् ।
 

स्वास्थ्य चौकीमा लामो समयदेखि एक्सरे मेसिन अलपत्र अवस्थामा छ भने उपकरण सञ्चालनका लागि जनशक्ति अभाव भोग्दै आएको छ ।

 

सुदूरपश्चिम प्रदेशको बाजुरामा कर्णाली प्रदेशअन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सहयोग गर्ने भएपछि अब उपचार सेवा सहज हुने आशमा स्थानीय छन् ।

 
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा शुक्रबारदेखि गाउँघर चिकित्सा कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । 


गाउँपालिकाको सहजीकरण र जिल्ला अस्पताल बाजुराको आयोजनामा स्वामीकार्तिकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

 

गाउँपालिकाको केन्द्र वाई सुइजिउलाको देउरामा निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिएको हो ।
 

स्वामीकार्तिक खापरभरिका सीमान्तकृत समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको सूचना अधिकारी कुमेरबहादुर शाहीले जानकारी दिए । 


शिविरको पहिलो दिन १ सय १४ जनाले स्वास्थ्य परीक्षण गराएका थिए, जसमा ५८ जना गर्भवती महिला, २६ जना अपांग र ३० जना अन्य गरी १ सय १४ जनाको स्वास्थ्य परीक्षण भएको हो ।
 
 
शिविरमा डा. दीपेन्द्र बुढा र डा. गौरव आचार्यले स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेका थिए । गाउँपालिकाका ज्येष्ठ नागरिक, बालबालिकालगायत लक्षित वर्गका स्थानीयलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

 

यस्तै, गत २८ पुसदेखि हिमाली गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र धुलाचौरमा सञ्चालित शिविरमा १ सय १५ जनाले भिडियो एक्सरे, ३९ जनाले ल्याब सेवा र २ सय ३० जना अपांग गरी ६ सय २२ जनाले स्वास्थ्य परीक्षण गराएको स्वास्थ्य अधिकृत राजबहादुर भण्डारीले बताए ।


हिमाली गाउँपालिकामा अस्पताल र चिकित्सक सेवा बाहिर रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको पालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।