close

कोल्टीमा पहिलो पटक कालाजार बिरामीको सफल उपचार

कोल्टीमा पहिलो पटक कालाजार बिरामीको सफल उपचार

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर २ मा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक कालाजार बिरामीको उपचार भएको छ । 

यसअघि कालाजारका बिरामीलाई धनगढी, सुुर्खेत, नेपालगञ्ज रिफर गर्नुपर्ने बाध्यता रहेकामा पहिलो पटक कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको उपचार सफल भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुुराज जैशीले जानकारी दिए । स्वास्थ्य केन्द्रमै पहिलो पटक कालाजारका बिरामीको उपचार सफल भएपछि स्थानीयलाई अन्यत्र गएर उपचार गराउनुपर्ने बाध्यता हटेको उनले बताए ।


कालाजारबाट ग्रसित स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर २ सुुपानाकी १४ वर्षीया अम्बिसना बुुढाको कोल्टीमै उपचार भएको हो । ‘कालाजार चेकजाँच हुुने गरेको थियो तर उपचारका लागि रिफर गर्दै आएका थियौँ । एम्बिसम नामक औषधी कोल्टिमै उपलब्ध भएपछि यही उपचार सम्भव भएको हो’, डा. जैशीले भने । 

 

१ महिनादेखि ज्वरोले थलिएकी बुढाको कोल्टीमा जाँच गर्दा कालाजार पुष्टि भएको थियो । कोल्टीमै उपचार हुुने भएपछि स्थानीयलाई सहज भएको छ । ‘जिल्ला बाहिर जाँदा कम्तीमा २० हजार रुपैयाँ बढी खर्च हुुने गरेको थियो । स्वास्थ्य केन्द्रमै सेवा पाउँदा सहज भयो’, जनस्वास्थ्य निरीक्षक आमेजंग शाहीले भने । 


 
तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखापर्न थालेको छ । केही महिनाअघि मात्र जगन्नाथ गाउँपालिकाको वडा नम्बर ५ का १७ महिने देवेन्द्र बुढामा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा कालाजार देखापरेको थियो ।

 

उनलाई नेपालगञ्ज रिफर गरिएको थियो । कालाजार पछिल्लो समय पहाड सर्न थालेको स्वास्थ्यकर्मी बताउँछन् । यो भुसुनाको टोकाइबाट सर्ने रोग हो । ज्वरो आउने, तौल घट्ने, कलेजो, फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्युसम्म हुन सक्ने जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रूपचन्द्र विश्वकर्माले बताए ।

 
कोल्टी क्षेत्रमा १ वर्ष पहिला कालाजारबाट १ बालिकाको मृत्युसमेत भएको थियो । स्वामीकार्तिक गाउँपालिकाको वडा नम्बर ५ जेराकी १३ वर्षीया भाग्य शाहीको उपचारका क्रममा काठमाडौंको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो ।

 

गत वर्ष थप २ जना कालाजारका बिरामी भेटिएका थिए । गाउँपालिकाको वडा नम्बर ५ जेराका ११ वर्षीय कञ्चना शाही र वडा नम्बर साप्पाटाकी ३ वर्षीया करिश्मा भण्डारीलाई यो रोग देखापरेको थियो ।

 
स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले त्यो क्षेत्रमा कालाजार रोग देखापरेको बताए । यही क्षेत्रमा २ वर्ष पहिला मलेरियासमेत देखा परेको थियो । बाजुराका बूढीनन्दा, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाउँपालिका निकै जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।