close

बाजुुराका स्थानीय तहलाई खोपयुक्त पालिका घोषणा गरिँदै 

बाजुुराका स्थानीय तहलाई खोपयुक्त पालिका घोषणा गरिँदै 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराका स्थानीय तह पूर्ण खोपयुक्त पालिका घोषणा अभियानमा लागेका छन् । चैतभित्र बाजुराका ९ वटै स्थानीय तहलाई खोपयुक्त घोषणा गर्ने तयारीमा रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए ।

 

यसका लागि बाजुराका स्थानीय तह पनि तयारी अभियानमा जुटेको उनले जानकारी दिए ।


 
जन्मदेखि १५ महिनामुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाएर कोही छुटेको भए अनुगमनका आधारमा वडा, पालिका हुँदै जिल्ला घोषणा गरिनेछ । बाजुरामा १५ महिनामुनिका करिब ६ हजार बालबालिका रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।


 
१५ वर्षमुनिका बालबालिकालाई १२ वटा सरुवा रोगविरुद्ध ८ वटा खोप लगाउनुपर्नेछ । पूर्ण खोपयुक्त घोषणा गर्न सबै बालबालिकाले एउटा पनि खोप नछुट्याएको हुनुपर्ने स्वास्थ्य कार्यालय बाजुराका कर्मचारी महेश चन्दले बताए ।

 

१६ देखि २३ महिनासम्मका बालबालिकालाई गाउँ-गाउँमा खोजेर छुटेको भए खोप दिइने तयारी भएको स्थानीय तहले बताएका छन् । कोही पनि नछुटेको पाइए र खोपको पहुँचमा रहे मात्र खोपयुक्त घोषणा गरिने जिल्ला समन्वय समिति प्रमुख तथा खोप समन्वय समितिका अध्यक्ष नरेन्द्रकुमार रोकायाले जानकारी दिए ।

 

गौमूल १ सातापहिले जिल्लाकै पहिलो पूर्ण खोपयुक्त गाउँपालिका घोषणा भए पनि अन्य ८ वटा स्थानीय तह बाँकी छन् ।
 
‘खोप लगाऔँ, दिगोपना सुनिश्चित गरौँ’ नारासहित बाजुरामा मात्र नभई सुदूरपश्चिम प्रदेशमा पहिलो स्थानीय तहका रूपमा गाउँपालिका घोषणा गरिएको पालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

 

पालिकाभरमा कुनै पनि बालबालिका नछुटेको भेटिएकाले गाउँपालिकालाई खोपयुक्त घोषणा गरेको अध्यक्ष रोकायाको भनाइ छ । अन्य ८ वटा स्थानीय तह पनि घोषणाको अन्तिम तयारीमा छन् ।


 
जिल्ला स्वास्थ्य कार्यलय बाजुराले खोपयुक्त घोषणाका लागि ९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुुख, प्रमख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक, प्रमुुख जिल्ला अधिकारीलगायत सरोकारवाला निकायसँग छलफल तथा सहकार्य गरिरहेको छ ।

 

बाजुराका दुुर्गम गाउँ तथा पछाडि परेका वर्गमा खोपको पहुँच बढाउन स्थानीय तहले विभिन्न गतिविधि गर्दै आएका छन् । सपरिवारसहित मौसमी बसाइँ सर्ने भोटे जनजाति समुदायका बालबालिकालाई अस्थायी बसोबास गरेकै ठाउँमा पुगेर खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।