close

भारतबाट कैलाली प्रवेश गरेका ११ जनामा कोरोना पुष्टि

भारतबाट कैलाली प्रवेश गरेका ११ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

धनगढी– गौरीफन्टा नाका हुँदै भारतबाट कैलाली प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो १ सातायता गौरीफन्टा नाका भएर कैलाली प्रवेश गरेका ११ जनामा संक्रमण पुष्टि भएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । संक्रमण बढ्न थालेपछि अहिले सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणको दायरा बढाइएको छ । मंगलबार मात्र ३१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

 

‘केही दिन अघिसम्म दैनिक १५ देखि २० जनासम्म परीक्षण भइरहेको थियो । नेपालबाट रोजगारीका लागि भारत गएकाहरू कोरोनाका संक्रमण र लकडाउनका कारण पुनः नेपाल फर्किन थालेका छन् । यसले पुनः सन्त्रास बढाएको छ । त्यसका लागि हामीले पहल गरिरहेका छौँ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने । गौरीफन्टा नाकामा स्थापना गरिएको कोभिड–१९ परामर्श तथा परीक्षणमा खटिएका गणेश साउदले पछिल्लो केही दिनयता नेपाल फर्किनेको संख्या ह्वात्तै बढेको बताए ।

 

धनगढी उपमहानगरले भारतबाट आउनेलाई १० दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने विषयमा छलफल थालेको छ । ‘हामीले १० दिनसम्म क्वारेन्टाइनमा राखेर पठाउने विषयमा छलफल थालेका छौँ,’ स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले भने, ‘तर, अहिलेसम्म कार्यान्वयनमा ल्याइएको छैन । अवस्था हेरेर निर्णय गर्छौं ।’

 

भीडभाड र मेला–महोत्सवमा रोक

 

भारतबाट फर्किरहेका नेपालीमा संक्रमण देखिन थालेपछि सतर्कता बढाइएको छ । कोरोना महामारी फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी स्थानीय प्रशासनले कैलालीमा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला सञ्चालनमा रोक लगाएको छ ।

 

जिल्ला प्रशासन कार्यालय कैलालीले विज्ञप्ति जारी गर्दै जिल्लाभर होलीमा हुने भीडभाडमा रोक लगाएको हो । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारी रिजालले आदेश जारी गरेका हुन् ।

 

बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिइएको छ । भारतसँग सीमा जोडिएकाले त्यहाँबाट आउने नागरिकको एन्टिजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ । कोरोना महामारीको सम्भावनालाई दृष्टिगत गरी पहिले सञ्चालन आएका क्वारेन्टाइन, आइसोलेसनलाई तयारी अवस्थामा राखी स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन आवश्यक तयारीसमेत थालिएको छ । आदेशको अवज्ञा गरे कारबाही हुने कैलाली प्रशासनले जनाएको छ ।