close

कोराना खोप लगाएपछि दंग छन् ११५ वर्षीय गोइटे

कोराना खोप लगाएपछि दंग छन् ११५ वर्षीय गोइटे

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको गौमूल गाउँपालिका वडा नम्बर ४ मनाकोटका ११५ वर्षका गोइटे रोकायाले कोरोना खोप लगाएका छन् । मनाकोट स्वास्थ्य चौकीमा खोप लगाएपछि रोकाया खुसी देखिए ।

 

‘कोरोना रोग आए भन्थे । खोप लगाउन पाउँदा निकै खुसी छु’, रोकायाले भने, ‘खोप लगाइसकेपछि कुनै असर भएन । सुरुमा अरूलाई मात्र खोप लगाउने भनेका थिए । खोप नपाएर मर्ने चिन्ता थियो । अहिले सरकारले दिएको खोप लगाउँदा खुसी लागेको छु ।’

 

पहिला–पहिला गाउँघरमा कोरोनाले बुढापाकालाई बढी असर पर्छ भने पनि खोप पाएपछि ढुक्क भएको उनी सुनाउँछन् । मनोकाट स्वास्थ्य चौकीमा कार्यरत अनमी लक्ष्मी बोहराले भनिन्, ‘गोइटेले खुसी हुँदै खोप लगाए । हौसिँदै घर गए ।’

 

गोइटेको उमेर ११५ वर्ष भए पनि नागरिकतामा १०५ वर्ष रहेको आफन्तले बताए । ‘नागरिकता बनाउँदा बिग्रेको हो । मेरो उमेर ११५ वर्ष नै हो’, गोइटेले भने ।

 

गौमूलको वडा नम्बर ४ सटेडाका ८६ वर्षीय धनसिंह रोकायाले पनि घटमुना सामुदायिक स्वास्थ्य केन्द्रमा पुुगेर खोप लगाए । बयोवृद्धलाई कोरोना खोप लगाउने जानकारी पाएपछि १ घन्टा हिँडेरै उनी धनसिंह खोप केन्द्र पुुगेका थिए । उनले खुसी भएर खोप लगाएको अनमी मनीषा थापाले बताइन् ।
 
बाजुरामा १५ माघबाट कोरोना खोप लगाउन सुरु भएको थियो । शुक्रबार साँझसम्म १३ हजार ७ सय ४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए । पहिलो चरणमा १५ देखि २४ माघसम्म खोप लगाइएको थियो । दोस्रो चरणमा २ देखि ९ फागुनसम्म खोप अभियान चलेको थियो ।

 

तेस्रो चरणमा २३ देखि २९ फागुनसम्म बाजुराका हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकामा खोप अभियान सञ्चालन भएको हो ।


बाजुराको तल्लो क्षेत्रका ५ वटा स्थानीय तहमा ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई १० देखि १४ चैतसम्म अभियान सञ्चालन भइरहेको छ ।