close

गौमूलमा प्रभावकारी बन्दै स्वास्थ्य सेवा 

गौमूलमा प्रभावकारी बन्दै स्वास्थ्य सेवा 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको गौमूल गाउँपालिकाले चिकित्सक सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले मेडिकल अधिकृतसहित अन्य स्वास्थ्यकर्मी भर्ना गरेर गाउँपालिकामा अस्पताल सञ्चालन ल्याइएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

 

गाउँपालिका कार्यालय घटमुनामा कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनसँगै बिरामी चेकजाँचदेखि उपचार सेवा सुरु गरेको स्वास्थ्य संयोजक हरिचन्द्र विकले जानकारी दिए । ३ महिनादेखि सेवा सञ्चालन ल्याएको गाउँपालिकाले अस्पतालबाट दिने सेवा प्रभावकारी हुँदै गएको दाबी गरेको छ ।


 
दुुर्गम गाउँपालिकामा पर्ने गौमूलले पहिलो पटक चिकित्सक सेवा सुरु गरेको हो । गाउँपालिकाले ओपिडी, ल्याब र एक्सरेलगायत सेवा सञ्चालन गरिरहेको छ । अस्पतालमा दैनिक ३५ जना बढी बिरामी आउने गरेको डा. रुपेश बाटीले बताए । हाडजोर्नी, दम, खोकी, घाँटीको समस्या भएका बिरामी धेरै आउने गरेको उनले जानकारी दिए ।

 

चेकजाँचसँगै बिरामीलाई १० मिनेट सम्म परामर्श सेवा समेत दिने गरेको स्टाफ नर्स सपना जोशी सुनाउँछिन् ।


 
‘महिलाले पनि खुलेर स्वास्थ्य समस्याबारे बताउन थालेका छन् । धेरै महिला तल्लो पेट दुख्नेजस्ता समस्या लिएर आउँछन्,’ स्टाफ नर्स जोशीले भनिन् । चिकित्सक गाउँपालिकामा आएपछि रोग लुुकाउँदै आएका बिरामी तथा महिलाले पहिलो पटक उपचार पाएका छन् ।

 

पैसा नभएर सामान्य उपचारका लागि जिल्लाबाहिर जान नसक्नेले सेवा पाएको स्थानीय बलबहादुर रोकायाले बताए । स्थानीय दल नेपालीले भने, ‘पैसा नहुुँदा जिल्ला बाहिर गएर उपचार गर्न सकेको थिइनँ । गाउँमै चिकित्सक आएपछि उपचार गर्न सकियो ।’ 


 
गाउँपालिका उपाध्यक्ष सीता थापाका अनुसार पालिकामा मेडिकल अधिकृत ल्याएर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ । सामान्य चेकजाँच तथा चिकित्सक सेवा लिन जिल्ला अस्पताल बाजुरा जानुपर्ने बाध्यता टरेको उनको दाबी छ ।


गाउँपालिकाले ओपिडी टिकट निःशुल्क गरेको छ । त्योसँगै अस्पतालमा १ सय १० प्रकारका औषधी बिरामीलाई निःशुल्क दिने गरेको छ । 

 

‘सरकारले निःशुल्क औषधी दिने निर्णय गरेको छ । तर, गाउँपालिकाको आर्थिक अवस्था कमजोर छ । धेरै उपचारमा आउने भएकाले १ सय १० प्रकारका औषधी निःशुल्क दिने व्यवस्था मिलाएका छौँ’, गौमूल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद भट्टले भने ।