close

कैलालीको टीकापुर पूर्ण खोप पालिका 

कैलालीको टीकापुर पूर्ण खोप पालिका 

Trulli
ADVERTISEMENT

कैलाली- कैलालीको टीकापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । २०७७ माघमा नगरभित्रको घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए ।

 

‘जन्मेदेखि १५ महिनाका २८ बालबालिकालाई खोप नलगाएको पायौँ । १६ देखि २३ महिनासम्मका १० बालबालिका खोप लगाउन छुटेका रहेछन् । ती सबै बालबालिकालाई खोपको दायरामा ल्याएका छौँ,’ स्वास्थ्य शाखा प्रमुख रावलले भने, ‘वडा नम्बर २, ६ र ८ मा दोहोरो परीक्षण गर्दा कुनै बालबालिका खोप लगाउनबाट नछुटेको पाइएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेका हौँ ।’ 

 

कैलालीका खोप समन्वय समिति अध्यक्ष सूर्यबहादुर थापाले बालबालिकाको स्वास्थ्य अवस्था सुदृढ बनाउन यसले सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । वडा नम्बर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बालबालिकाको भविष्य सुनिश्चित गर्न सके मात्र समृद्ध समाज निर्माण हुन हुँदा स्वास्थ्य क्षेत्रको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए ।

 

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले औषधोपचारले सञ्चो नहुने रोग खोपले निर्मूल हुने हुँदा अभिभावकले बालबालिकालाई खोप लगाउनबाट वञ्चित गर्न नहुने सुझाए । ‘२०३४ मा २ वटा एन्टिजेन खोपबाट अभियान सुरु गरेका हौँ’, धामीले भने, ‘अहिले १२ वटा रोगविरुद्धको खोप लगाइँदै छ ।’ छिट्टै कैलाली जिल्लाका सबै पालिका पूर्ण खोप सुनिश्चित हुने धामीले जानकारी दिए ।