close

अक्सिजनको दिगो व्यवस्थापनमा जुट्दै धौलागिरि अस्पताल

अक्सिजनको दिगो व्यवस्थापनमा जुट्दै धौलागिरि अस्पताल

Trulli
ADVERTISEMENT

बागलुङ- गत बिहीबार दिउँसो ४ बजे धौलागिरि अस्पतालमा सकिएका अक्सिजन सिलिन्डर भर्न पोखरा पठाइयो । सधैँजसो १०/१२ घन्टामा आइपुग्ने गाडीलाई २४ घन्टा लाग्यो । 

 

समयमा गाडी नआएपछि खाली सिलिन्डरको थुप्रो लाग्यो । ती सिलिन्डर कसरी छिटो ल्याएर उपयोग गर्ने भन्नेमा डाक्टर र स्वास्थ्यकर्मी आत्तिए । २४ घन्टामा आइपुगेपछि हतार-हतार अक्सिजन भित्र्याएर खाली सिलिन्डर पुनः पोखरा पठाउनुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । 

 

‘सिलिन्डर ल्याएका गाडी चालकले खाजा खाने समय पनि नपाएर दौडनुपरेको छ,’ डा. पोखरेलले भने, ‘अक्सिजन सिलिन्डर धेरै देखेर पनि हुँदैन । समयमा भर्न पाइएन भने निकै गाह्रो हुन्छ ।’

 

पोखरामा पनि लामो लाइन बस्नुपर्ने, भरिदिने कम्पनीले नजिककालाई प्राथमिकता दिने र धौलागिरि अस्पतालबाट गएकालाई ढिला गरिदिने गुनासो बढेको छ । ‘पहिलो प्राथमिकता टाढाकालाई दिइएन भने अस्पतालमा थप दुर्घटना हुन सक्छ,’ उनले भने, ‘नयाँ प्लान्ट जडानपछि यो समस्या केही कम हुनेछ ।’ 

 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले अहिलेसम्म ढिला भए पनि अक्सिजन पाइएकाले अझै सहज बनाउन पहल भएको बताए ।

 

सामाजिक विकास मन्त्रालयसँग पनि पटक-पटक कुरा गरिरहेका थियौँ । त्यसैले ठूलो समस्या आएको छैन,’ राना मगरले भने, ‘उपप्रादेशिक अस्पतालको सूचीमा राखेकोले मन्त्रालयको पनि जिम्मेवारी हो । २०० बेड सञ्चालन गर्ने हो भने ढिलाइ गर्नै मिल्दैन ।’ 

 

त्यतिबेलासम्म २ वटा प्लान्ट सञ्चालन हुने र केही सहज हुने रानाले सुनाए । ‘सिलिन्डर मात्रै भएर केही हुँदैन । अक्सिजनकै क्षमता बढाउने हो,’ त्यसैले प्रतिमिनेट ५०० लिटर अक्सिजन उत्पादन हुने व्यवस्थापन भइरहेको छ,’ उनले भने, ‘चरम संकटका बेला समस्या भए पनि केही समयमै अभाव टर्दै जानेछ ।’

 

दाताले दिएका सिलिन्डर र तत्कालका लागि उद्योगबाट उठाएका नियमित भर्ने व्यवस्थापनबाट पनि सहज बनाइएको छ ।

 

अस्पताल आउने अधिकांश बिरामी हाइफलो अक्सिजन दिनुपर्ने अवस्थाका छन् । ग्रामीण क्षेत्रमा र होम आइसोलसनमा बसेकाहरूको अवस्था सामान्य छ । अस्पतालले भर्ने पद्धति पनि स्थापना गर्ने भएकाले आगामी दिनमा यहाँबाट ग्रामीण क्षेत्रमा पठाउने व्यवस्था गरिने भएको छ ।

 

प्लान्ट र बेड थप्नेलगायत कामसँगै दक्ष जनशक्ति पनि पूरा गर्ने अभियानमा अस्पताल व्यवस्थापनले काम गरेको हो । अस्पतालमा केही समयमै थप एम्बुलेन्ससमेत ल्याउने तयारी छ । विदेशमा बस्नेहरू र दाताको सहयोगमा भित्रने एम्बुलेन्स आएपछि बिरामी ल्याउन सहयोग पुग्ने अध्यक्ष रानाले बताए ।

 

आगामी आर्थिक वर्ष सामाजिक विकास मन्त्रालयबाटै शव वाहन आउने भएकाले अस्पतालमा पूर्वाधार पर्याप्त बन्दै जाने रानाले जानकारी दिए । संकटका बेला केही समस्या भए पनि लगातारको प्रयासबाट पूर्वाधार उपकरण र जनशक्तियुक्त बनाउने अभियान भने चलिरहेको रानाको भनाइ छ ।
 
अस्पतालको सी ब्लक हस्तान्तरण हुनासाथ उपप्रादेशिक स्तरको बन्नेछ । जनशक्ति टिकाउने विषयमा भने नीतिगत कमजोरी रहेको डा. पोखरेल बताउँछन् । नीतिगत रूपमा स्पष्ट व्यवस्थापन गर्न सके आएका जनशक्ति कम्तीमा २ वर्ष बस्ने र फेरिने बेला समयमै खबर गर्ने पद्धति बसाल्नुपर्ने उनले बताए ।