close

होम आइसोलेसनमा चिकित्सक : सोधीखोजीले उज्यालिँदै संक्रमितका मुहार 

होम आइसोलेसनमा चिकित्सक : सोधीखोजीले उज्यालिँदै संक्रमितका मुहार 

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङ नगरपालिका वडा नम्बर १२ का एकै घरमा ४ जना कोरोनाका संक्रमित छन् । संक्रमितमध्ये १ जना सुत्केरी हुन् । संक्रमणका कारण केही अनिष्ट होला कि भनेर उनीहरूको घर परिवारमा डरत्रास थियो । 

 

संक्रमणका कारण पर्न सक्ने अप्ठेरोबाट उनीहरू डराएका थिए । तर, उनीहरूको डर हटाउन चिकित्सक घर–घरमै पुगेर परामर्श गराएका छन् । गत शनिबार धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले संक्रमितको घरमा पुगेर परामर्श दिने अभियान सुरु गरे ।

 

अनुगमनको रूपमा बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक डिल्ली आचार्य र स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरे संक्रमितको भेटमा गए । 

 

भेटमा पुग्दा उनीहरूले प्रत्येक संक्रमितको अवस्थाबारे चासो राखे । ज्वरो, रुघाखोकीलगायत लक्षणबारे बुझेर आवश्यक औषधी पनि सिफारिस गरे । घरमै बसिरहेका संक्रमितको आँगनमै आएर चिकित्सकले सञ्चो–बिसञ्चो सोधेपछि उनीहरूको मुहारमा खुसी छाएको छ । 

 

‘केही अप्ठेरो परेको थियो, सल्लाह र औषधी पनि सिफारिस गरिदिनुभएको छ,’ संक्रमित महिलाले भनिन्, ‘के होला भनेर डराएकी थिएँ । अहिले ढुक्क भएको छ ।’ नियमित खानपानमा ध्यान दिने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र नियमित सरसफाइमा ध्यान दिने सल्लाह पाएको उनले बताइन् । 

 

पछिल्लो समय होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई भेटेर परामर्श गराउने क्रम बढेको हो । बागलुङका अधिकांस गाउँ–गाउँमा बसेका संक्रमितलाई अस्पतालका डाक्टर, स्वास्थ्य कार्यालयका प्रतिनिधिलगायतले भेटेर समस्याबारे चासो देखाउन थालेका हुन् । 

 

१ हजार बढी संक्रमित घरघरमा आइसोलेसनमा बसेकाले उनीहरूमा परामर्श गर्दा मापदण्ड पालना हुने र निको हुने दरसमेत बढ्ने डा. पोखरेलले बताए । 

 

‘हामी पुगेपछि बिरामीको हौसला पनि बढेको छ । उनीहरूको समस्याबारे पनि बुझ्न पायौँ,’ पोखरेलले भने, ‘अस्पतालमा रहेका ४०–५० जना बिरामीको उपचार मात्रै सबै कुरा होइन । सबै संक्रमित निको हुनुपर्छ भन्ने मान्यता राखेका छौँ ।’

 

घरमा बसेका संक्रमितको बानी–व्यवहार सुधार र मापदण्ड पालना गर्दा छिट्टै संक्रमणबाट मुक्त हुन सकिने उनले बताए । जटिल समस्या भएकालाई मात्रै अस्पतालमा आउन र सामान्य असर भएकाहरूले परामर्शमार्फत घरमा बसेर उपचार गर्दा छिटो निको हुनेसमेत उनको भनाइ छ ।
 

घरमा बस्दा आत्तिएकाहरू स्वास्थ्यकर्मी पाएर हौसला थपिएको सुनाउँछन् । स्वास्थ्यकर्मी, प्रशासक वा अन्य सुरक्षा निकायका मानिस नियमित गाउँमा पुग्दा घर–घरमा बस्ने बानीसमेत बसेको उनीहरूको भनाइ छ ।
 

 

खेतीपातीको समय भएकाले उनीहरूले मास्क लगाएर जाने गरेका छन् । ‘हामीले मास्क लगाएरै खेतीपाती गरेका छौँ । पहिला अप्ठेरो लागेको थियो । अहिले बानी परेको छ,’ स्थानीय पार्वती आचार्यले भनिन्, ‘बालबालिकादेखि बूढाबूढीसम्मले अनिवार्य मास्क लगाएका
छन् ।’ 


 

घरमा बस्नेलाई शौचालय अभाव


होम आइसोलेसनमा बसेकाहरूलाई शौचालय भने अभाव छ । ग्रामीण घरमा एउटा मात्रै शौचालय हुने गर्छ ।
ती शौचालय प्रयोग गर्दा फेरि संक्रमण फैलिन सक्ने डर बढेको छ । केहीले भने छिमेकी मिलेर संक्रमितलाई दिएको शौचालय अन्यले प्रयोग नगर्ने गरेको बताए । 

 

स्वास्थ्यकर्मी भने अप्ठेरो परे बारीमा अस्थायी शौचालय बनाउन पनि सल्लाह दिइएको सुनाउँछन् । ग्रामीण क्षेत्रमा बस्दा कुनै न कुनै रूपमा मापदण्ड पालना उल्लंघन भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विकले बताए । 
 

 

‘अत्यावश्यक पर्ने कुराभन्दा लापरवाही गर्ने कामलाई निरुत्साहित गर्नुपर्छ,’ विकले भने, ‘चौतारोमा बस्ने, भीड बनाएर गफ गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।’

 

वडा स्तरीय विपद् व्यवस्थापन कोष स्थापना

 

कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेको बागलुङ नगरपालिका वडा नम्बर १४ नारायणस्थानले वडा स्तरीय विपद् व्यवस्थापन कोष स्थापना छ । स्थानीय समाजसेवी तथा दाता संघ–संस्थाको सहयोगमा कोष स्थापना गरिएको हो । 

 

नारायणस्थान स्वास्थ्य चौकी र सामाजिक संस्था स्वान नेपालको सहकार्यमा वडामा विपद् व्यवस्थापन कोष स्थापना गरिएको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए । नारायणस्थानबाट कामको सिलसिलामा अस्ट्रेलियामा पुगेका युवायुवतीले कोषमा सहयोग गरेका छन् । 

 

तत्कालका लागि कोषमा १ लाख १८ हजार ४ सय रुपैयाँ जम्मा भएको छ । अस्टे«लियामा रहेका १४ जना युवाले एकमुष्ठ पठाएको रकम सोमबार वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । कोषको रकम कोभिड नियन्त्रण र रोकथामका लागि प्रयोग गरिने वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए । 
 

स्वास्थ्य सामग्री, प्रि–आइसोलेसन कक्ष, औषधीलगायत कोभिड नियन्त्रणका लागि आवश्यक सामग्रीको नारायणस्थानमा अभाव थियो । 
कोषको परिचालनले फैलिँदो कोरोनालाई नियन्त्रण गर्न सहज हुने वडाको अपेक्षा छ । कोभिड नियन्त्रणपछि जुनसुकै बिपतका बेलामा समेत कोषले सहयोग गर्ने खत्री बताउँछन् ।

 

अक्सिजनसहितका सामग्री सहयोग

 

गलकोट घर भएर विभिन्न स्थानमा छरिएर रहेकाले स्थापना गरेको स्वर्गभूमि फाउन्डेसनले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा चाहिने अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

 

फाउन्डेसनका प्रतिनिधि इल्सन थापासहितका प्रतिनिधिले गलकोट नगरप्रमुख भरत शर्मा गैरे र ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको संक्रमणले अप्ठेरोमा परेका, बिरामी भएका नागरिकको उपचारमा ती सामग्री प्रयोगमा ल्याइनेछ ।

 

फाउन्डेसनमार्फत संकलित ८ लाख रुपैयाँका सामग्री हस्तान्तरण भएको अध्यक्ष भूपेन्द्र खत्रीले बताए । गलकोटबाट रोजगारी, अध्ययन र व्यवसायका लागि छरिएर बसेका युवाले यो सहयोग जुटाएका हुन् ।

 

फाउन्डेसनले संयोजन गरेपछि गलकोट समाज जापान, गलकोट घुम्टे विकास मञ्च काठमाडांै, गलकोट महिला समूह, गलकोट समाज अस्ट्रेलिया, बागलुङ सेवा समाज क्यानडा गलकोट समाज युके, निलुवा समाज चमुवा जापानलगायत सामाजिक संघ–संस्था र मनकारी व्यक्तिबाट समेत सहयोग जुटाइएको खत्रीले जानकारी दिए । 

 

फाउन्डेसनले गलकोट कोरोना अस्पतालका लागि ७ वटा अक्सिजन सिलिन्डरसहितका सामग्री र ताराखोला गाउँपालिकाका लागि ३ वटा सिलिन्डर दिएको हो ।
 

त्यसबाहेक १६ वटा अक्सिजन फलो मिटर, १६ वटा रेगुलेटर, सर्जिकल मास्क २४ प्याकेट, एन ९५ मास्क ६८ वटा, अक्सिजन की ५ वटा, फेस सिल्ट ३० वटा, पल्स अक्सिमिटर २० वटा, अक्सिजन मास्क २० वटा, हाइफलो मास्क ७ वटा र पिपिई १५ वटा सहयोग गरेको हो । त्यस्तै, २१ प्रकारका औषधी गलकोटका लागि सहयोग भएको हो । 

 

ताराखोलाका लागि अक्सिजन फलो मिटर ४ वटा, रेगुलेटर ४ वटा, सर्जिकल मास्क १४ प्याकेट, एन ९५ मास्क ३० वटा, अक्सिजन की ३ वटा, फेस सिल्ड २० वटा, पल्स अक्सिमिटर ४ वटा, अक्सिजन मास्क ४ वटा दिइएको छ । ताराखोलाका लागि १० थान पिपिई र २० प्रकारका औषधी दिइएको फाउन्डेसनका स्वास्थ्य विभाग प्रमुख डा. बोधराज गौतमले बताए ।

 

सामग्री पाएपछि गलकोट नगरप्रमुख भरत शर्मा गैरेले विदेशमा रहेका र छरिएर बसेका गलकोटेबाट आएको सहयोगलाई पूर्ण रूपमा सदुपयोग गरिने प्रतिबद्धता जनाए । ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले स्वास्थ्य सामाग्री अभावमा कोही पनि समस्यामा नपर्ने गरी काम गर्ने बताए । उच्च सर्तकताका साथ काम गरेकोले समयमै संक्रमण नियन्त्रणमा आउने उनको दाबी छ ।