close

लक्षणसहितका बिरामीमा पनि परीक्षण घट्यो

लक्षणसहितका बिरामीमा पनि परीक्षण घट्यो

Trulli
ADVERTISEMENT

बागलुङ- ग्रामीण क्षेत्रमा लक्षणसहितका बिरामीसमेत कोरोना परीक्षणमा नआएको गुनासो बढेको छ । संक्रमण देखिएकालाई परीक्षणमा बोलाउँदा पनि नआएको बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले बताए । 

 

लक्षणसहितका बिरामी परीक्षणमा नआए गाउँमा फेरि पनि संक्रमण बढ्ने उनको अनुमान छ । ‘हामीले पटक-पटक आग्रह गरेका छौँ । परीक्षणमा लक्षण नभएकाहरू आएका छन्,’ कँडेलले भने, ‘लक्षण भएकाबाट संक्रमणको बढी जोखिम हुन्छ ।’ समयमा परीक्षण गरेपछि होम आइसोलेसनमा बस्ने र निको भए भने संक्रमणको चेन ब्रेक हुने उनले सुनाए । 


बडिगाड गाउँपालिकाले वडा–वडा र टोल–टोलमा समेत पुगेर एन्टिजेन्ट परीक्षण बढाएको छ । उक्त परीक्षणमा पोजेटिभ भेटिएकालाई आइसोलेसनमा राख्ने काम भएको हो ।  लक्षणसहितका भए नेगेटिभ देखिए पनि पिसिआर गर्नुपर्ने प्रावधान छ । गलकोटमा पनि एन्टिजेन्ट परीक्षणमा पोजेटिभ देखिने दर बढेको छ । 


‘बजार र गाउँ क्षेत्रमा लक्षणसहितका बिरामी देखिएपछि गरिएको परीक्षणमा २० प्रतिशतसम्म संक्रमित छन्,’ बडिगाड वडा नम्बर २ का वडाध्यक्ष हेमन्त खत्रीले भने, ‘महामारीमा रोग लुकाएर नभई खुलेर परीक्षणको दायरामा आउनुपर्छ ।’ समयमा सबै जनाको परीक्षण सकिँदा संक्रमण न्यूनीकरण गर्न सकिने उनले बताए ।


स्वास्थ्य कार्यालय बागलुङले जिल्लाभरि नै एन्टिजेन्ट परीक्षणसमेत बढाएको छ । पिसिआरको रिपोर्ट ढिला आउँदा होम आइसोलेसन बस्नेले मापदण्ड पालना नगरेकाले एन्टिजेन्टमार्फत छिटो पहिचान खोजिएको कार्यालयका प्रमुख गुरौले बताए । 

 

‘पिसिआर पनि सँगसँगै गरिएको छ, तर लक्षण भएकाले रोग लुकाउन भएन,’ गुरौले भने, ‘अन्तिम परेपछि मात्रै अस्पताल खोज्ने गरियो भने ज्यान जोगाउन समस्या पर्छ ।’

 

घरभित्रै बस्ने र पालिका तहमा भइरहेको परीक्षणमा समेत नआएकाले जटिल समस्या भोग्ने धेरै रहेको उनको भनाइ छ । परीक्षणमा आउन सबै पालिकाले वडा र टोलसम्म पुगेर आग्रह गरिरहेका छन् ।