close

कोरोना जाँच्न स्वास्थ्यकर्मी लिएर गाउँ पस्यो बूढीगंगा

कोरोना जाँच्न स्वास्थ्यकर्मी लिएर गाउँ पस्यो बूढीगंगा

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बूढीगंगा नगरपालिकाले कोरोना जाँच गर्न घर–घरमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । समुदायमा संक्रमण फैलिएको आशंका गरिए पनि स्थानीयले परीक्षण गराउन नमानिरहेका बेला नगरपालिकाले एन्टिजेन किटसहित स्वास्थ्यकर्मीलाई टोल–टोल
पठाएको हो ।

 

नगरप्रमुख दीपकविक्रम शाह आफंै कोरोना संक्रमितलाई सान्त्वना दिन टोल–टोल घुमिरहेका छन् । कोरोना समुदाय स्तरमै फैलिएपछि नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोलटोलमा एन्टिजेनमार्फत कोरोना चेकजाँच सुरु गरेको नगरप्रमुख शाहले बताए ।

 

नगरपालिकामा २३४ जनालाई जाँच गर्दा ११६ जनामा संक्रमण देखिएको स्वास्थ्य परीक्षणमा खटिएका स्वास्थ्यकर्मीले बताए । अहिले १० वटै वडामा ल्याब टेक्निसियन र स्वास्थ्यकर्मी चेकजाँच गर्न पुगेका छन् । 

 

टोलटोलमै बिरामी छन् भन्ने जानकारी भएलगत्तै घरमै पुुगेर जाँच सुुरु गरेको स्वास्थ्य संयोजक दीपक शाहले जानकारी दिए । स्वास्थ्य चौकीमा चेकजाँच गर्नेको संख्या कम भएपछि घरमै पुुगेर कोरोना जाँच सुुरु गरेको संयोजक शाहको भनाइ छ ।

 

स्वास्थ्यकर्मीसँग नगरप्रमुख शाहसहित जनप्रतिनिधिको टोली गाउँ पुुगेको छ । गाउँमा होम आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्य अवस्था बुुझ्ने र सान्त्वना दिने काम भइरहेको स्वास्थ्य सह–संयोजक हस्त खडायतले बताए । ‘कोरोनाको शंका लागेका बिरामीलाई एन्टिजेन विधिबाट जाँच गर्ने गरेका छौँ । कोरोना संक्रमितको स्वास्थ्य अवस्थासमेत बुुझ्ने गरेका छौँ । बिरामीको अवस्था बुुझेर औषधी र परामर्श दिन थालेका छौँ’, खडायतले भने । 

 

नगरपालिकामा रहेका संक्रमित सबै होम आइसोलेसनमा छन् । स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य अवस्था अपडेट गरिरहेका छन् । गाउँमा चेक गर्न गए पनि धेरैजसो डरले जाँच गर्न आनकानी गरिरहेको नगरप्रमुख शाह सुनाउँछन् । ‘धेरैलाई काउन्सिल गरेपछि मात्र जाँच गर्न मान्ने गरेका छन् । सम्झाएर कोरोना परीक्षण भइरहेको छ’, नगरप्रमुख शाहले भने, ‘समुदायमा धेरै फैलिएको छ तर जाँच गर्न नमान्दा त्रास उत्तिकै छ ।’

 

स्वास्थ्यकर्मीको टोलीले बाटोमा भेटिएका, काम गरिरहेका तथा शंकास्पद बिरामीलाई समेत चेक जाँच गरिरहेको छ । बूढीगंगाको वडा नम्बर ७ मा बाख्रा चराउँदै बाटोमा सुतिरहेका वृद्धलाई सोधीखोजी गर्दा ज्वरो आएको भनेपछि जाँच गर्दा कोरोना पोजटिभ देखिएको स्वास्थ्यकर्मीले बताए ।

 

बाजुरामा चेकजाँच दर कम भए पनि शुक्रबारसम्म ५७३ जना संक्रमित पुुगेका छन् भने निको हुनेका संख्या ३६८ छ । ११ जनाको कोभिड अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाो मृत्यु भइसकेको छ । ‘चेकजाँच बढाएका छौँ । केही स्थानीय तहले नमानेले परीक्षण बढ्न नसकेको हो’, स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने ।