close

गुल्मीमा स्थानीय तह र अस्पताललाई ८ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

गुल्मीमा स्थानीय तह र अस्पताललाई ८ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीमा क्रिटिकल केयर र डाँफे फाउन्डेसनले ५ स्थानीय तह र गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको छ । अमेरिकामा रहेका डा. दीपेन कडारियाले डाँफे फाउन्डेसनमार्फत नेपालको क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनलाई विभिन्न स्वास्थ्य उपकरण र सामग्री सहयोग गरिरहेका छन् ।

 

फाउन्डेसनमार्फत डा. लक्ष्मण भुसालले नेपाल पत्रकार महासंघ गुल्मीसँग समन्वय गरेर जिल्लामा अक्सिजन कन्सन्ट्रेटर वितरण गरिरहेको पत्रकार महासंघ ‘अक्सिजन अभियानका’ अभियान्ता ताराप्रसाद भुसालले जानकारी दिए ।

 

सोमबार जिल्लाको मुसीकोट नगरपालिका, मालिका गाउँपालिका, गुल्मी दरबार गाउँपालिका, इस्मा र छत्रकोट गाउँपालिकालाई १÷१ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरिएको छ । पत्रकार महासंघ गुल्मीको भवनमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक तथा प्रतिनिधिलाई रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसालले अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेका थिए ।

 

‘पत्रकारले पेसासँगै अक्सिजन प्लान्टको उदाहरणीय अभियान चलाए । डाँफे र केयरजस्ता कैयन संस्थाले महामारीमा सहयोग तथा समन्वय गरे मानवता त्यही हो,’ उनले भने, ‘महामारीमा प्राप्त सहयोगको सही सदुपयोग गरियोस् ।’ 


केही दिनअघि दुवै संस्थाको सहयोगमा नेपाल पत्रकार महासंघमार्फत गुल्मी अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको थियो । त्यस्तै, राष्ट्रिय आविष्कार केन्द्रमार्फत धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकालाई २÷२ थान अक्सिजन कन्सन्ट्रेटर र १५ थान पिपिई वितरण हुँदै छ ।

 

गुल्मी दरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले विपद्को सहयोग राज्य र नागरिक दुवैका लागि धेरै महत्त्वपूर्ण हुने भएकाले दातालाई धन्यवाद दिए ।


पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले अभियानसँग जोडिएर स्थानीय तह र अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने प्रदान गर्ने डा. कडरिया, डा. सम्राट आचार्य र डा. लक्ष्मण भुसालप्रति आभार प्रकट गरे । 


पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन अभियान’ अन्तरगत अक्सिजन प्लान्ट निर्माण गर्न गुल्मी अस्पताललाई ६० लाख रुपैयाँ प्रदान गरेको छ ।