close

पहुँचवालाको भागशान्तिमा आसेपासेलाई मात्र लगाइयो खोप

पहुँचवालाको भागशान्तिमा आसेपासेलाई मात्र लगाइयो खोप

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरमा ज्येष्ठ नागरिकका लागि आएको कोरोना खोप दुरुपयोग भएको फेला परेको छ । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लक्षित गरेर ल्याएको खोप कोभिडविरुद्धको खोप पहुँचवालाको हातमा परेको हो । 


सरकारले ज्येष्ठ नागरिकलाई कोभिडबाट बचाउन खोप लगाउन सञ्चालन गरेको अभियानमा राजनीतिक दलका नेता÷कार्यकर्ता, कर्मचारी, स्वास्थ्यकर्मीका नातागोता, सुरक्षाकर्मी, पत्रकारका आफन्त, मानव अधिकारकर्मी, उद्योग वाणिज्य संघले भागबन्डा गरी खोप लगाएका हुन् । 


लक्षित वर्गलाई उपलब्ध गराएको कोभिडविरुद्धको खोप यसरी पहुँचवालाले भागबन्डा गरी लगाएपछि गाईघाटमा आलोचनाका स्वर झाँगिँदै गएका छन् । २३ जेठमा कोभिड खोप समन्वय तथा अनुगमन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईं संयोजकत्वको बैठकले २७ जेठबाट ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई पहिलो मात्रा लगाउने निर्णय गरेको थियो ।


बैठकले लक्षित वर्गलाई मात्र खोप लगाउन व्यवस्था गर्ने र त्यसको निगरानी कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिबाट गर्ने निर्णय गरेको छ । कोभिड संक्रमणको जोखिमलाई लक्षित गरी ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप लगाउने अभियान जिल्लाका ८ वटै पालिकामा चलाइयो ।


तर, खोप अहिले लक्षित समूहभन्दा बाहिरकालाई लगाएपछि विरोध र आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा समेत लक्षित समूहभन्दा अन्यले खोप लगाएको भन्दै विरोध र आलोचना हुन थालेको छ । कोभिडविरुद्धको खोप प्राथमिकतामै नपरेकाहरूलाई पहुँचका आधारमा लगाइएको स्थानीयको आरोप छ । अग्रपंक्तिमा खटिएको वहाना बनाएर पहुँचको आधारमा आफन्तलाई खोप दिएपछि लक्षित वर्ग भने लगाउनबाट वञ्चित भए । चिने-जानेका र पहुँचका भरमा लक्षित समूहभन्दा बाहिरकालाई खोप लगाइएको नगरबासीको गुनासो छ ।

 

लक्षित समूहका आफन्तका अनुसार गाडी, घोडा चल्न नदिने, कोरोनाविरुद्धको खोप लगाउनेबारे सीमित व्यक्तिलाई मात्रै जानकारी दिएर खोपको दुरुपयोग भएको हो । तर, निर्देशिकामा लक्षित वर्गभन्दा बाहिरलाई खोप लगाउन मिल्दैन ।  पछिल्लो पटक काठमाडौंबाहेक देशका सबै जिल्लामा ६२ देखि ६४ उमेर समूहकालाई कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिए पनि उदयपुरमा दुरुपयोग भएको हो ।

 

बेलका नगरपालिकाले राष्ट्रिय मान्यता प्राप्त दलका १०/१० जना र स्थानीय दललाई ३ जनाका दरले प्रत्येक वडालाई पत्राचार गरेर खोप लगाउन सुरु गरेपछि त्यो समस्या जिल्लाभरि नै फैलियो । भागबन्डामा पाएको खोप बिक्री गरेको चर्चा पनि चलेको छ । खोप दुरुपयोग हुँदासमेत सम्बन्धित निकाय मौन छन् ।


खोप कार्यावन्यन गर्ने जिम्मा पाएको जिल्ला स्वस्थ्य कार्यालय उदयपुरका एक कर्मचारीले भने, ‘जिल्लामा खोप सञ्चालन समिति छ । समितिले निर्णय गरेर लगाई दिनू भनेकाले आदेशअनुरूप माथि उल्लिखित समूहलाई लगाइदिएका हौँ ।’

 

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले कोरोनाविरुद्धको भेरोसेल खोप ८ वटा खोप केन्द्र निर्धारण गरेर सञ्चालन गरेको थियो । कोरोनाविरुद्धको पहिलो मात्राको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहलाई दिइने भनिएको थियो । 


उदयपुरमा आएको ५ हजार ७७ डोज भेरोसेल खोपमध्ये ताप्ली गाउँपालिकामा आएको २ सय डोज लगाउन नआएपछि ४६ डोज मात्रै खर्च भयो । उदयपुरगढी गाउँपालिकामा गएको ३ सय २० डोजमध्ये २ सय ४९ डोज खर्च भयो । लिम्चुङबुङ गाउँपालिकामा गएको १ सय ७० डोजमध्ये १ सय ७० डोज खर्च भएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । 

 

रौतामाई गाउँपालिकामा गएको ४ सय १० डोजमध्ये ३ सय ५७ खर्च भयो । कटारी नगरपालिकामा गएको ५ सय ५० डोजमध्ये ५ सय ५० खर्च भएको छ । चौदण्डीगढी नगरपालिकामा गएको ६ सय ५० डोजमध्ये ६ सय ४९ खर्च भयो । बेलका नगरपालिकामा गएको ६ सय ५० डोजमध्ये ६ सय ५० खर्च भएको तथ्यांक छ ।


त्रियुगा नगरपालिकाका लागि जिल्ला स्वास्थ्य कार्यालय गाईघाट खोप केन्द्रमा २ हजार ५ सय ५६ डोज खर्च भएको छ । अन्य पालिकाबाट खर्च नभई आएका खोप र यहाँ रहेको खोप पहुँचवालाले लगाउन सफल भएका हुन् । खोप भागबन्डामा परेको विषयबारे कुनै जानकारी नभएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । उदयपुरमा पहिलो डोज कोभिड सिल खोप लगाएका १४ हजार ५ सय ज्येष्ठ नागरिक दोस्रो खोेपबाट भने वञ्चित भएका छन् ।