close

संक्रमितका घरदैलो पुगेर आयुर्वेद ओखती बाँड्दै ताप्लेजुङ आयुर्वेद केन्द्र 

संक्रमितका घरदैलो पुगेर आयुर्वेद ओखती बाँड्दै ताप्लेजुङ आयुर्वेद केन्द्र 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले यहाँका कोरोना संक्रमितलाई घर–घरमै पुगेर आयुर्वेद औषधी वितरण गर्न थालेको छ ।

 

पछिल्लो समय फुङ्लिङ नगरपालिका वडा नम्बर २ मा रहेका १५ जना संक्रमितलाई घर–घरमै पुगेर आयुर्वेद औषधी वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङका कविराज निरीक्षक टेकनाथ अर्यालले जानकारी दिए ।

 

सो क्रममा आयुर्वेद स्वास्थ्य केन्द्रको टोलीले योगको फाइदा तथा आहारविहार र पोषणयुक्त खानाबारे जानकारी गराएको अर्यालले बताए । केन्द्रको टोलीले यष्ठीमधु चूर्ण, अश्वागन्धा चूर्ण, गुडुची चूर्ण र शितोपलादी चूर्णसहितका आयुर्वेद औषधी वितरण गरेको छ ।

 

कोरोना संक्रमितका लागि पछिल्लो समय आयुर्वेद औषधी लाभप्रद हुने बताइँदै आएको छ । स्वास्थ्य केन्द्रको टोलीले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित तथा जिल्ला अस्पतालको कोभिड अस्पतालमा रहेका संक्रमितलाई समेत आयुर्वेद औषधी वितरण गरेको छ ।

 

संक्रमितलाई घरमै पुगेर आयुर्वेद औषधी वितरण र आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानीका उपायबारे जानकारी प्रेषण गर्ने गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले जनाएको छ ।