close

बेलकामा नागरिक/नगर हातेमालोमा बन्दै अक्सिजन प्लान्ट 

बेलकामा नागरिक/नगर हातेमालोमा बन्दै अक्सिजन प्लान्ट 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुर विकास बोडको निर्णयअनुरूप बेलका नगरपालिकामा नगर/नागरिक साझेदारी मोडलबाट निर्माण हुन लागेको अक्सिजन प्लान्टसँगै उत्पादन हुने नाइट्रोजनलाई प्रयोगमा ल्याउने भएको छ । उदयपुरका ८ वटै स्थानीय तह सम्मिलित उदयपुर विकास बोर्डको गत ४ जेठमा बसेको बैठकले बेलका नगरपालिकामा अक्सिजन प्लान्ट निर्माण गर्ने नीतिगत निर्णय गरेको थियो ।

 

त्यसपछि नगरपालिकाकाले ५० दिनभित्र अक्सिजन प्लान्ट निर्माण गर्ने लक्ष्यका साथ नगरप्रमुख दुर्गाकुमार थापा संयोजक रहेको अक्सिजन प्लान्ट निर्माण समिति गठन गरेर स्रोत जुटाउने अभियान चलाएको छ । अभियानअन्तर्गत अहिलेसम्म १७४ जना व्यक्ति तथा संस्थाबाट १ करोड रुपैयाँ बढी रकम संकलन भइसकेको नगरप्रमुख थापाले जानकारी दिए ।

 

नगरपालिकाले नगर–नागरिक साझेदारी मोडलबाट सुरु गरेको अक्सिजन प्लान्ट निर्माण तथा सिलिन्डर खरिदका लागि करिब २ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्लान्ट स्थापनाका लागि ‘सेड’ निर्माणको काम भइरहेको नगर प्रमुख थापाले बताए । 

 

गत २७ जेठमा बेलका नगरप्रमुख थापा र पिडी इन्जिनियरिङ प्रालि नयाँ बानेश्वर काठमाडौंका म्यानेजिङ डाइरेक्ट धर्मराज पौडेलबीच ३५ दिनभित्र अक्सिजन उत्पादन सम्झौता भएको हो । अक्सिजन प्लान्ट १ करोड ३३ लाख ८५ हजार ६ लागत रुपैयाँमा पिडी इन्जिनियरिङ प्रालिले निर्माण गर्ने सम्झौता भएको छ । त्यसमध्ये १६ लाख ८५ हजार ६ सय रुपैयाँ पिडी इन्जिनियरिङको लागत सहभागिता रहने उल्लेख छ ।

 

कम्पनीले अक्सिजन प्यान्ट निर्माण सम्पन्न भइसकेपछि उसको सहभागिताबाहेक १ करोड १७ लाख रुपैयाँ पाउनेछ । दुवै पक्षको सम्झौता गरेकै दिन पिडी इन्जिनियरिङलाई ५० प्रतिशत रकम अर्थात् ५८ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

 

दोस्रो किस्ता रकम जडान गरी नियमित अक्सिजन उत्पादन भएको ७ दिनभित्र उपलब्ध गराउने र बाँकी ५ प्रतिशत रकम जडान गरिएको २ वर्षपछि उपलब्ध गराउने सम्झौतामा भनिएको छ । अक्सिजन प्लान्ट दैनिक प्रतिघन्टा ११ सय ५० मिटर क्युबिक ३८ सिलिन्डर अक्सिजन उत्पादन क्षमता छ । 

 

अक्सिजन प्लान्ट जडान भएर उत्पादन सुरु भएसँगै बेलका अक्सिजनमा आत्मनिर्भर हुनेछ । ‘अनमोल प्राण वायु, अभावमा नजाओस् कसैको आयु’ नारासहित बेलकाले सञ्चालन गर्न लागेको योजनामा युरोपेली मापदण्डको अक्सिजन प्लान्ट खरिद गर्न ठेक्का भएको नगरप्रमुख थापाले बताए ।

 

टर्कीबाट आउने प्लान्टका लागि पिडी इन्जिनियरिङ कम्पनीले ठेक्का पाएर मेसिन ल्याउने अन्तिम प्रक्रियामा रहेको जनाइएको छ । ‘सेड बनाउने र सिलिन्डर खरिदसमेत गर्दा २ करोड रुपैयाँ हाराहारी खर्च हुने अनुमान छ,’ नगरप्रमुख थापाले भने, ‘प्लान्ट स्थापनाका लागि नागरिक तहबाट ठूलो सहयोग प्राप्त भइरहेको छ । दातृ संस्था तथा सेवामूलक गैरसरकारी संस्थाहरूले पनि सहयोग गरिरहेका छन् ।’

 

बेलकामा अक्सिजन प्लान्ट निर्माणका लागि उदयपुरका सबै स्थानीय तह सम्मिलित उदयपुर विकास बोर्डको बैठकमा नीतिगत निर्णय गरेर काम सुरु गरिएको
हो । उदयपुर विकास बोर्डका अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा बसेको बैठकले ४ वटा नगरपालिकाबाट प्रतिनगरपालिका १० लाख र गाउँपालिकाले ५ लाख रुपैयाँका दरले लगानी गर्ने निर्णय गरेको थियो ।

 

निर्णयपछि अहिलेसम्म उदयपुरको रौतामाई, ताप्ली तथा सप्तरीको सप्तकोसी नगरपालिकाले ५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराइसकेको जनाइएको छ ।
मदन भण्डारी लोकमार्गबाट सहज पहुँचमा रहेका कारण उत्पादित अक्सिजनलाई जिल्लाका सबै पालिकामा पु¥याउन सहज हुने नगरप्रमुख थापाले बताए ।

 

अक्सिजन प्लान्टबाट प्रतिघन्टा ११ घनमिटर अर्थात् दैनिक ३२० किलो अक्सिजन उत्पादन हुनेछ । नगरपालिकाले प्लान्टबाट अक्सिजनसँगै उत्पादन हुने नाइट्रोजनलाई समेत उपयोगमा ल्याउने तयारी गरेको छ । नाइट्रोजन अत्यधिक चिसो हुने भएकाले किसानलाई पशु चौपायाको कृत्रिम गर्भाधानका गराउन आवश्यक पर्ने हुँदा यसमा समेत आत्मनिर्भर हुने नगरप्रमुख थापाको दाबी छ ।

 

कसले, कति गरे सहयोग


अक्सिजन प्लान्ट निर्माणका लागि १ हजार देखि ३० लाख रुपैयाँसम्मको सहयोग प्राप्त भएको को छ । नगर प्रमुख थापाका अनुसार अन्धोपन निवारण क्षेत्रमा काम गरिरहेको सेवा फाउन्डेसन एक्लैले नेत्र ज्योति संघसँगको सहकार्यमा ३० लाख रुपैयाँ प्रदान गरेको छ ।

 

त्यसैगरी केयर नेपाल नामक गैरसरकारी संस्थाले राष्ट्रिय कृषक समूहसँगको समन्वयमा १० लाख रुपैयाँ उपलब्ध गराएको छ । प्लान्ट निर्माणका लागि संस्थागत रूपमा नेदरल्यान्ड ल्याप्रोसी रिलिफ, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, अनौपचारिक क्षेत्र सेवा केन्द्रले १ लाख रुपैयाँ बढीका दरले सहयोग उपलब्ध गराएका छन् ।

 

बेलका नगरपालिकाकै हरि घिमिरे, धनेन्द्र बस्नेत र सन्तोष सुवेदीले समेत जनही १ लाख रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

 

१४ असारसम्म नगरपालिकालाई अक्सिजन प्लान्ट निर्माणका लागि १ करोड १ लाख ३९ हजार ३ सय १४ रुपैयाँ प्राप्त भइसकेको जनाइएको छ । प्लान्ट निर्माण हुने भएपछि नगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि र शिक्षकले समेत सहयोग गरेका छन् ।