close

दोभान निर्माण भो आँखा उपचार केन्द्र

दोभान निर्माण भो आँखा उपचार केन्द्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।


नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रको शाखाको रूपमा दोभान बजारमा दोभान आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो । 


मेरिङ्देन र आठराई त्रिवेणीको आर्थिक साझेदारी तथा सेवा फाउन्डेसन र नेपाल ज्योति संघको प्राविधिक सहयोगमा उपचार केन्द्र सञ्चालनमा आएको हो । 


गत ३० माघमा मेरिङदेन र आठराई त्रिवेणीका प्रमुखसहितको सरोकारवालाको बैठकको निर्णयअनुसार दुवै पालिकाले चालू आर्थिक वर्षबाट सालिन्दा जनही ३-३ लाख रुपैयाँ आर्थिक साझेदारी गर्नेछन् ।


आँखा उपचार केन्द्र भवनको सजावट, भाडा, फर्निचरसहितका सामग्री व्यवस्थापनका लागि दुवै पालिकाले आर्थिक वर्ष २०७७/७८ मा २–२ लाख रुपैयाँको आर्थिक साझेदारी गरेका थिए ।


दुवै पालिकाले गर्ने सालिन्दाको आर्थिक साझेदारी रकमबाट उपचार केन्द्रमा खटिएका प्राविधिकसहितका जनशक्तिलाई तलवभत्ताका शीर्षकमा साझेदारी हुने नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाका सभापति मुक्तिराज पौडेलले जानकारी दिए । 


उपचार केन्द्रका लागि चाहिने उपकरण, नपुग तलबभत्तासहितको अन्य आर्थिक व्ययभार भने नेत्र ज्योति संघ ताप्लेजुङले बेहोर्नेछ । डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका इञ्चार्ज काजीमान गुरुङका अनुसार दोभान बजारमा स्थापना भएको आँखा उपचार केन्द्र ताप्लेजुङमा सदरमुकाम फुङ्लिङपछिको दोस्रो हो ।


यसले यहाँका मेरिङदेन, आठराई त्रिवेणी, मैवाखोला र मिक्वाखोला पालिकाबासीलाई आँखा उपचार तथा परीक्षणका लागि सघाउ पुग्नेछ । दोेभान बजारमा आँखा उपचार केन्द्र स्थापना भएसँगै अब यी क्षेत्रबाट आँखाको उपचार तथा परीक्षणका लागि सदरमुकाम फुङ्लिङसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए ।


आठराई त्रिवेणीका अध्यक्ष विश्वनाथ सिटौलाले सदरमुकाममै पुगेर लिनुपर्ने आँखा उपचार सेवा दोभान बजारबाटै पाउन तमोरपारिका जनताका लागि लाभको विषय भएको सुनाए । मेरिङ्देन गाउँपालिका वडा नम्बर १ थिङ्लाबुका वडाध्यक्ष लाक्पातेम्बा शेर्पाले आफ्नै गाउँ–ठाउँबाट आँखा उपचार सेवा लिन पाउने नागरिकको चाहना पूरा भएकामा प्रसन्नता व्यक्त गरे । 


दोभान बजारमा अहिले नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका फिल्ड वर्कर काजीमान थेबे सहितको प्राविधिक टोलीले उपचार तथा परीक्षणको सहजीकरण गर्नेछ ।


त्यसपछि आवासीय तालिममा रहेका अन्य जनशक्ति पठाउने तयारी रहेको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले जनाएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले पाँचथरको कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारीमा चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिभित्रै कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको नेत्र ज्योति संघका जिल्ला सभापति पौडेलले जानकारी दिए । 


उनका अनुसार आँखा उपचार केन्द्र सञ्चालनका लागि कुम्मायक गाउँपालिकासँग सम्झौता भइसकेकाले नेत्र ज्योति संघले त्यसका लागि प्रक्रिया अघि बढाएको छ ।