close

उदयपुर जिल्ला अस्पतालमा चिकित्सक अभाव, उपचार प्रणाली भद्रगोल

उदयपुर जिल्ला अस्पतालमा चिकित्सक अभाव, उपचार प्रणाली भद्रगोल

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला अस्पताल गाईघाटमा दरबन्दीअनुसार चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । सह–सचिवस्तर प्रमुख कन्सल्टेन्ट ११औँ तहका १० कन्सल्टेन्ट विशेषज्ञसहित १४ जना मेडिकल अधिकृृतको स्वीकृत दरबन्दी रहेको अस्पताल अहिले चिकित्सकविहीन बनेको छ ।


स्वास्थ्य मन्त्रालयले चिकित्सक समायोजन गर्न यहाँ कार्यरत कर्मचारीलाई अन्यत्र सरुवा र काजमा खटाएपछि जिल्ला अस्पताल चिकित्सकविहीन भएको हो ।

 

चिकित्सक अभाव भएसँगै उदयपुर अस्पतालमा प्रसूतिलगायत आकस्मिक सेवा प्रभावित भएको छ । यहाँ भएकालाई अन्यत्रतिर सरुवा र पदस्थापना गरिदिने अनि रिक्त पदपूर्ति नगरिएपछि जिल्ला अस्पताल गाईघाट चिकित्सकविहीन हुन पुगेको हो । सोही कारण सर्वसाधारण महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य हुनुपरेको छ ।

 

जिल्ला अस्पताल गाईघाटमा सहसचिव ११औँ तहका मेडिकल सुपरिटेन्डेन्ट प्रमुख कन्सल्टेन्ट एक, कन्सल्टेन्ट विशेषज्ञ ९, मेडिकल अधिकृत ४ अनि अन्य प्राविधिक र कर्मचारी गरी ५९ जनाको दरबन्दी छ । 


तर, प्रमुख कन्सल्टेन्टसहित ८ जना कन्सल्टेन्ट विशेषज्ञ मेडिकल अधिकृत, नर्सिङ अधिकृत, फिजियोथेरापिस्टको दरबन्दी खाली रहेको जिल्ला अस्पताल गाईघाटका सूचना अधिकारी बुखबहादुर खत्रीले जानकारी दिए ।


यसैगरी ८ जना स्टाफ नर्समा ४ वटा रिक्त, रेडियोग्राफर प्रदेशमा समायोजन भएपछि यहाँ अर्को नआएको, फार्मेसी सुपरभाइजर र बायोमेडिकल सहायक दुवै खाली, कम्प्युटर अपरेटर, खरिदार, सवारी चालक र ११ वटा कार्यालय सहयोगीसमेत गरी ३३ दरबन्दी रिक्त रहेको सूचना अधिकारी खत्रीले बताए ।

 

५० शय्याको यो अस्पतालमा चिकित्सक अभावले आकस्मिक सेवा पनि बेलाबेला प्रभावित हुँदै आएको छ । आकस्मिक सेवामा कम्तीमा ५ जना स्वास्थ्यकर्मी हुनुपर्नेमा ३ जना मात्र भएकाले २४सै घन्टा सेवा प्रवाह गर्न कठिन भएको आकस्मिक सेवाका इन्चार्ज श्यामकुमार चौधरीको भनाइ छ ।


अस्पतालको दरबन्दीअनुसार चिकित्सक व्यवस्था गर्न माथिल्लो निकायलाई पटक– पटक जानकारी गराउँदासमेत हालसम्म सुनुवाइ नभएको र दैनिक १५० बढीको संख्यामा बिरामी आउने गरेकाले सेवाग्राहीले समस्या बेहोर्नुपरेको सूचना अधिकारी खत्रीले बताए ।

 

करिब ५ बिघा क्षेत्रफलमा रहेको उदयपुर जिल्ला अस्पताल गाईघाटको १५ शय्याबाट क्षमता विस्तार गरी २०७० मा ५० शय्याको बनाइएको थियो । आवश्यक जनशक्तिका लागि दरबन्दी सिर्जना गरे पनि मन्त्रालय र विभागले दक्ष प्राविधिक कर्मचारी पठाउन नसक्दा उदयपुर अस्पताल उपचारमा नभई भवनमा मात्र सीमित हुन पुगेको छ ।


भौतिक संरचनामा जिल्ला अस्पताल गाईघाट अब्बल मानिए पनि सेवा प्रभावकारी नभएपछि अहिले दैनिक आउने बिरामीलाई रेफर गर्ने गरिएको छ । २०३८ मा बनेको भवन जीर्ण बनेपछि २०६८ मा ६ करोड ५३ लाख रुपैयाँको लागतमा निर्माण भएको सुविधासम्पन्न २५ कोठाकोे दुई तले पक्की भवन अस्पताल बनाइएको छ ।


अस्पताल भवन मात्र नभएर चिकित्सकका आठ परिवारलाई बस्न मिल्ने चार वटा सुविधासम्पन्न आधुनिक डिजाइनका आवासगृह निर्माणाधीन छन् । अस्पताल लामो समयदेखि निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) जीवनारायण मण्डलको भरमा चलिरहेको छ । दरबन्दीका उनी एक्ला चिकित्सक हुन् ।


बाँकी करारका चिकित्सकका भरमा अस्पताल चलेको छ । दरबन्दीमा रहेका झन्डै ६० प्रतिशत कर्मचारी खाली हुँदासमेत स्वस्थ्य मन्त्रालयले चिकित्सक पठाउन नचाहेको स्थानीयको आरोप छ ।
 

सरकारले स्थायी दरबन्दीका चिकित्सक नपठाउँदा उदयपुरबासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् । अस्पताल करारको चिकित्सकको भरमा रहेकाले उपचार प्रणाली नै संकटमा परेको सूचना अधिकृत खत्रीको भनाइ छ ।


चिकित्सक अभावबारे बारम्बार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जानकारी दिइएको उनले सुनाए । मन्त्रालयले जिल्ला अस्पतालको सम्पूर्ण व्यवस्थापन प्रदेश सरकार मातहत गएकाले उतै सम्पर्क गर्न आग्रह गरेको बताइएको छ ।


प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भने आठौँ तहसम्मका कर्मचारीको व्यवस्थापन यो मन्त्रालयबाट गरिने र त्योभन्दा माथिल्लो तहका मुख्मन्त्री कार्यालयले गर्ने प्रावधान छ । सरकारले निःशुल्क भनेको औषधी चिकित्सक अभावमा यहाँ आएका बिरामीले पाउन सकेका छैनन् ।

 

२० हजार ५४ घरधुरीका १ लाख ४ हजार ५ सय १७ जनाको बसोबास रहेको त्रियुगा नगरपालिका र यससँग सीमा जोडिएका खोटाङ, भोजपुरलगायत पहाडी जिल्लाका नागरिकलाई समेत पायक पर्ने भएकाले यहाँ बिरामीको चाप अधिक हुने गर्दछ ।


तर, दरबन्दीअनुरूप अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक नभएको र अध्ययन सकेर प्राक्टिकल गर्न आउने चिकित्सकको भरमा जिल्ला अस्पताल चलेको छ । करारमा आउने चिकित्सक पनि २ जना मात्र छन् ।