close

उदयपुरमा ७ महिनापछि दोस्रोे मात्राको खोप लगाइँदै

उदयपुरमा ७ महिनापछि दोस्रोे मात्राको खोप लगाइँदै

Trulli
ADVERTISEMENT

उदयपुर– जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले मंगलबारदेखि कोभिसिल्डको पहिलो डोज खोप लगाएको झन्डै ७ महिनापछि ज्येष्ठ नागरिकलाई दोस्रो डोजका लागि एस्ट्राजेन खोप लगाइँदै छ ।


कार्यालयले गत फागुन दोस्रो साता कोरोनाविरुद्धको कोभिसिल्डको पहिलो मात्रा लगाएका उदयपुरबासीलाई १५ देखि ३० भदौसम्म दोस्रो मात्रा लगाउन लागेको हो ।


गत २३ फागुनदेखि १० चैतसम्म ६५ वर्षमाथिका १० हजार ५ सय ६८ जना ज्येष्ठ नागरिकलाई भारतीय कोभिसिल्ड खोप लगाइएको थियो । पहिलो डोज लगाएको ४ देखि १६ सातासम्म लगाइसक्नु पर्ने खोप भारतले उपलब्ध नगराउँदा ७ महिनापछि धकेलिएको हो ।


पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलाई अहिले छिमेकी भुटान र जापानले उपलब्ध गराएको एस्ट्राजेन खोप लगाइँदै छ । कोभिसिल्ड खोप र एस्ट्राजेनको काम एकै भएकाले यो खोप लगाउन लागिएको हो । 


जिल्ला खोप समन्वय समिति उदयपुरको बैठकले जिल्लाका ८ स्थानीय तहमा २ सय १० वटा खोप केन्द्र निर्धारण गरी खोप लगाउने काम भइरहेको जिल्ला स्वास्थ्य कार्याल उदयपुरका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले जानकारी दिए ।


जिल्लाका सबै स्थानीय तहका २ सय १० वटा खोप केन्द्रमार्फत मंगलबारदेखि खोप लगाउने काम भइरहेको छ । निमित्त स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरका अनुसार फागुन अन्तिम र चैत पहिलो साता पहिलो डोज लगाएका सबै ज्येष्ठ नागरिकका लागि १३ हजार डोज खोप आएको छ । मंगलबारबाट २ सय १० खोप केन्द्रमार्फत खोप लगाइने उनले बताए । 


खोप समन्वय समितिको बैठकले सदरमुकाम त्रियुगा नगरपालिकामा १५ देखि १८ भदौसम्म खोप दिने निर्णय गरेको छ भने चौदण्डीगढी र बेलका नगरपालिकामा १५ देखि १९ भदौसम्म तथा लिमचुङबुङ र रौतामाई गाउँपालिकामा १७ देखि २० भदौसम्म खोप दिइनेछ ।


त्यस्तै, जिल्ला अस्पताल गाईघाटमा १६ र १८ भदौमा खोप अभियान चलाइनेछ भने उदयपुगढी र ताप्ली गाउँपालिका तथा कटारी नगरपालिकामा २६ देखि ३० भदौसम्म खोप दिइने कार्यक्रम छ । 


कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकामा बालबालिकाको नियमित खोप परेकाले मंगलबारबाट तीन पालिकामा खोप सञ्चालन हुन सकेको छैन । 
केही दिनपछि मात्र कोरोनाविरुद्धको खोप सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरौलाले कोभिसिल्ड लगाएका उदयपुरका १० हजार ५ सय ६८ जना ज्येष्ठ नागरिक दोस्रो डोजको खोप पाउनबाट वञ्चित थिए ।


पहिलो पटक आएको कोभिसिल्ड कोभिडविरुद्ध अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, पत्रकार, सुरक्षाकर्मी र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गरी दिइएको थियो । त्यसपछि आएको चिनियाँ कम्पनीको भेरोसिल खोप पहिलो चरणमा ६० वर्षमाथिकालाई र दोस्रो चरणमा ५५ वर्षमाथिकालाई लगाइएको थियो ।


उदयपुरमा दुवै डोजको खोप लगाउने संख्या ४९ हजार ५ सय ६४ जना पुगेको छ । अहिले ज्येष्ठ नागरिकका लागि सञ्चालन हँुदै आएको दोस्रो डोज एस्ट्राजेन १० हजार ६ सय ६८ जनालाई लगाउने लक्ष्य छ । यो पूरा भएपछि ६० हजार १ सय ३२ जनाले खोपको दुवै डोज पूरा गर्नेछन् ।