close

सिदिङ्वाका शिक्षक तथा कर्मचारीलाई लगाइँदै खोप

सिदिङ्वाका शिक्षक तथा कर्मचारीलाई लगाइँदै खोप

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– २९ भदौबाट विद्यालयको पठनपाठन नियमित गर्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले मापदण्ड तय गरेको छ । प्रत्येक सिटमा २ जना बढी विद्यार्थी नहुने गरी विद्यालय प्रशासनले कक्षाकोठा व्यवस्थापन गर्नुपर्नेछ ।

 

२८ भदौभित्र विद्यालय प्रशासनले कक्षाकोठा व्यवस्थापन र सरसफाइका कार्य पूरा गरिसक्नुपर्ने मापदण्ड तय गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिए ।

 

यस्तै, २८ भदौभित्रै विद्यालयका शिक्षक तथा कर्मचारीले अनिवार्य कोरोनाविरुद्धको खोप लगाइसक्नुपर्नेछ । पालिकाले खोपको व्यवस्थापन आफैं गर्नेछ ।

 

विद्यालयले २८ भदौभित्रै गाउँपालिकाबाट कोभिड–१९ का कारण उत्पन्न परिस्थितिमा सिकाइ सहजीकरणका लागि शैक्षिक कार्यक्रममार्फत स्वास्थ्य सामग्री खरिद गर्न प्रतिविद्यार्थी २ सय रुपैयाँका दरले निकासा भएको रकमबाट मास्क, स्यानिटाइजर, साबुनसहितका सामग्री खरिद गरी व्यवस्थापन गरिसक्नुपर्ने मापदण्ड बनाइएको प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले बताए ।

 

भौतिक रूपमा उपस्थित भएर विद्यालय सञ्चालन गर्नुपर्ने भएकाले पालिकाले प्रत्येक विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड तथा भौतिक दूरी कायमसहितका सर्त अनिवार्य पालना गर्ने वातावरण बनाउन आग्रह गरेको छ ।

 

यो परिस्थिति निर्माणका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक, अभिभावक र अगुवा विद्यार्थीलाई परिचालन गर्नुपर्ने पालिकाको निष्कर्ष छ ।

 

यसअघि विद्यालय सञ्चालन तथा सिकाइ सहजीकरण प्रक्रियाबारे गाउँपालिकाले पालिकाभरिका सबै विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षक, अभिभावक संघका प्रतिनिधिसँग छलफल तथा राय–सुझाव मागिएको छ ।

 

सोही आधारमा बिद्यालय सञ्चालनका प्रक्रिया, सर्त र मापदण्ड तय भएको प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले जानकारी दिए ।