close

जुम्लामा ४१ हजार बढीलाई कोरोनाविरुद्धको खोप लगाइँदै 

जुम्लामा ४१ हजार बढीलाई कोरोनाविरुद्धको खोप लगाइँदै 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा १८ वर्षमाथिका ४२ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । आगामी ९ असोजदेखि जुम्लामा १८ वर्षमाथिका ४१ हजार ६ सय ७६ जनालाई खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

 

उनका अनुसार जुम्लाको कुल जनसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारको निर्देशनअनुसार १८ वर्षमाथिका ४१ हजार बढीलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो ।

 

पहिलो खोप लगाएकालाई दोस्रो डोज र नलगाएकालाई पहिलो डोज दिइनेछ । आवश्यकताका आधारमा स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक, युवालाई परिचालन गरिनेछ ।

 

कार्यालय प्रमुख सापकोटाले भने, ‘खोप अभिायन जुम्लामा ९ असोजबाट सुरु हुनेछ । यहाँका ८ तहमा २ चरणमा खोप लगाइनेछ । तालिम प्राप्त स्वास्थ्यकर्मीसहित जुम्लामा ५ सय ४७ जना स्वयंसेविका परिचालन हुनेछन् । प्रत्येक पालिकामा खोप केन्द्र राखिनेछ ।’ १८ वर्षमाथिका सबैले खोप लगाउने भएकाले कोही नछुटून् भन्ने उद्देश्यले प्रचार–प्रसारमा जोड दिन जरुरी रहेको सापकोटाको भनाइ छ । जिल्लाभरका कर्णाली प्रतिष्ठान र ३० स्वास्थ्य चौकीसहित ३२ खोप केन्द्रबाट खोप दिइनेछ ।

 

प्रत्येक पालिकाको एक स्वास्थ्य चौकीलाई व्यवस्थापन केन्द्रका रूपमा तोकिनेछ ।  हाल जुम्लामा ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  जुम्लामा २४ हजार ६ सय ४८ जनाले खोप लगाएका छन् भने१९ हजार ८ सय ४७ जनालाई पूर्ण खोप अर्थात् दोस्रो मात्रा दिइसकिएको छ । प्रमुख जिल्ला अधिकारी विजयाप्रसाईंले सबै नागरिकलाई खोपको पहुँचमा पुर्‍याउने सरकारको लक्ष्य सफल पार्न सबैको सहयोग आवश्यक भएको बताइन् ।